Wednesday 12th December 2018

१२ वर्ष विदेश बसेर पनि रोग लाग्दा उपचार गर्ने पैसा भएन – वैदेशिक रोजगारी पीडित


तितोपाटी – भनिन्छ, दसा बाजा बजाएर आउँदैन । विराटनगरका थिरराज अधिकारीलाई यस्तै भएको छ । दुवै मिर्गौला फेल, बोनम्यारो क्यान्सर र ब्लड क्यान्सरले थिलथिलो भएको शरीर लिएर उनी अहिले आफ्नो भाग्यलाई धिक्कारिरहेका छन् । थप उपचारको लागि आर्थिक अभाव भएपछि अल्का अस्पतालबाट घर फर्किन उनी बाध्य भएका छन् ।

‘१२ वर्ष विदेश बसेर मजदुरी गरियो, तर रोग लाग्दा उपचार गर्नेसम्म पैसा भएन,’ लामो सास फेर्दै उनले भने ।

यतिबेला उनलाई आफ्नोभन्दा परिवारको चिन्ताले बढी सताइरहेको छ ।

‘एक बारको जुनी हो, मेरो त जे होला । तर, दुई छोरीको लालनपालन, शिक्षादीक्षालाई लिएर चिन्तित छु,’ उनले आँशु टिलपिल पार्दै सुनाए, ‘विदेशमा पसिना बगाएर पनि अहिलेसम्म उनीहरुलाई राम्रै वातावरणमा हुर्काइरहेको थिएँ, अब के हुने हो ।’

थिरराजकी १५ वर्षकी छोरी नौ कक्षामा पढ्छिन् । कान्छी छोरी चार वर्षकी मात्रै भइन् । परिवारकै चिन्ताले उनी जेठी छोरी तीन वर्षकी हुँदा २०६३ सालमा पहिलोपटक मलेसिया गएका थिए । त्यहाँ तीन वर्ष दुख झेलेर उनी २०६६ मा नेपाल फर्किए । नेपाल फर्किएर पनि विकल्प देखेनन् र ०६६ सालमै कतार हानिए ।

उदयपुरको कटारी नगरपालिका–२ सिमनपुरका स्थायी बासिन्दा उनी विदेशमा कमाएको पैसाले १५ धुर जग्गा किनेर विराटनगर कञ्चनबारी बसाइँ सरेका थिए ।

थिरराजलाई चलमलाउनै सकस भइरहेका बेला विदेश किन जानुभयो भनेर सोध्ने मन भएन । तर उनैले भने, ‘काठमाडौंमा मजदुरी नै गरेर पनि जसोतसो पढिरहेको थिएँ ।

सरस्वती क्याम्पसमा आईए पढ्न भर्ना भएँ तर, परिवार भएपछि एक्लो सोचले नहुने रहेछ, जिम्मेवारी आइलाग्यो । अरु उपाय नभएपछि ऋण काढेर विदेश जानुपर्‍यो ।’

रोग बनेर आएको आपत्

४१ वर्षको उमेरसम्म स्वस्थ थिए थिरराज । नौ वर्षको कतार बसाइमा आउने–जाने गरिरहेका थिए । कहिल्यै केही भएको थिएन । पछिल्लोपटक गत माघमा नेपाल आएर कतार फर्किएको दुई महिनापछि भने थीरराजलाई अप्ठेरो लाग्न थाल्यो । घुँडा दुःखेर सकस भयो । उनले ठाने ‘गेटमा उभिएर गर्नुपर्ने काम त्यही भएर घुँडा दुःखेको होला ।’
कतारकै अस्पतालमा देखाए । डाक्टरले भनिदिए, ‘मिर्गौलामा समस्या छ, रगतको पनि कमी छ ।’

घुँडा दुखाई सामान्य होइन भन्ने बुझेपछि थिरराजले उपचारका लागि नेपाल फर्किने सोच बनाए । काम गरिरहेको कम्पनीमा १५ दिनको इमर्जेन्सी बिदा मिलाए र फर्किए ।
‘विदेशको ठाउँमा हामीजस्तो कामदारका लागि राम्रो रेखदेख र उपचार सम्भव नै थिएन । त्यसैले नेपाल फर्किएको थिएँ’ उनले भने ।

उनलाई परिवार कहिले भेटौं जस्तो भएको थियो । त्यसैले नेपाल आएपछि सिधै एयरपोर्टबाट विराटनगर गए । घरतिरै कसैले सुनाइदियो, भारत सिलिगुढीमा राम्रो उपचार हुन्छ । त्यसैले उनी उतै लागे ।

त्यहाँ पनि सबै जाँच गरेपछि मिर्गौला र रगतको समस्या देखायो । औषधी लिएर २० दिनपछि फेरि जँचाउन आउने गरी उनी नेपाल फर्किए ।

तर, औषधी खाँदै गर्दा नयाँ समस्या देखिन थाले । खोकी बढ्न थाल्यो । घुँडा दुखि नै रह्यो । अनि, विराटनगर कोशी अञ्चल अस्पतालमा भर्ना भए । त्यहाँ एक हप्ता बस्दा २० को १९ पनि भएन । सबै जाँच गरिसकेपछि डाक्टरले भने, ‘तपाईंको रोग जटिल रहेछ, काठमाडौं जानुस् ।’

अप्ठेरोमा नहुने रहेछन् साथी पनि

श्रीमती शोभा अधिकारीसँगै काठमाडौं आएका थिरराज पहिले त शिक्षण अस्पताल महाराजगञ्ज गए । त्यहाँबाट सिभिल अस्पताल, सुमेरु हुँदै अल्का अस्पताल ।

सरकारी अस्पतालमा सस्तो हुन्छ र केही सहयोग पनि पाइन्छ भन्ने सोचेका थिरराजले बेड नै पाएनन् । ‘काठमाडौंमा आएपछि पनि अस्पताल धेरै चहार्नु पर्‍यो, बेडका लागि कति दिन कुर्नुपर्ने हो ठेगान नभएपछि निजी अस्पतालमा गयौं,’ थिरराजका भाइ पर्शुरामले सुनाए, ‘सुमेरुमा एक हप्ता बसेर अल्कामा आयौं र यहीँ उपचार गराइरहेका छौं ।’
पहिले मिर्गौलाको समस्या ठीक भएमा अरु समस्याको उपचारमा सजिलो हुन्छ भनेर डाक्टरले डायलासिस गरिरहेका छन् । बोनम्यारो र ब्लडको औषधी पनि चलाइएको छ ।
‘औषधीमा नै महिनाको लाख गइरहेको छ,’ थिरराजले भने ।

रोगको उपचारका लागि उनले कतारको कम्पनीमा पनि सहयोगका लागि भनेका हुन् । तर कुनै जवाफ आएको छैन । फोन गर्दा पनि राम्ररी कुरा नहुने र इमेल र फ्याक्सको पनि जवाफ नदिएको उनले बताए ।

जी फरेस्ट डब्लू एलएल कम्पनी कतारमा सेक्युरेटी गार्डमा काम गर्ने थिरराजले कम्पनीले वेवास्ता गरेपछि त्यहाँका साथी पनि गुहारे । तर, कसैले सुनेका छैनन् ।
विदेश दिनको १२ घण्टा काम गरेर महिनामा आएको १५ सय रियालले पनि अरुलाई गरेको सहयोग थिरराजले सम्झिए । कसैलाई आपत पर्दा कहिल्यै नाई भनेको उनलाई याद छैन । तर आफैलाई पर्दा उनले साथ पाएनन् ।

‘पहिले त म छुट्टीमा आउँदा साथीहरु फोन गर्थे, कुराकानी हुन्थ्यो । अहिले बिरामी भएर आएपछि त कसैले फोन गर्दा पनि उठाउँदैनन् । बोनस पठाइदिन कम्पनीमा कुरा गर्देलान् कि भन्ने लागेको थियो, तर कसैले सहयोग गरेन,’ उनले भने ।

साथीहरुले कम्पनीमा केही भनिदिए ९ वर्ष काम गर्दाको केही बोनस या उपचार खर्च पाउँथे कि भन्ने उनलाई आश छ ।

सित्तैको उपचारमा पनि खर्च

थिरराजलाई डायलासिस सित्तैमा गर्न सकिन्छ भन्ने पनि ज्ञान पनि सुरुमा भएन । अहिले ज्ञान भएर पनि सजिलो भने छैन ।

धेरै बिरामीको बीचमा सित्तैमा डायलासिसको लागि पालो कुर्ने अवस्था पनि उनको छैन । त्यसैले निजी अस्पतालमा पैसा तिरेरै भए पनि मिर्गौला ठीक पार्न पाए अरु रोगले च्याप्दैनथ्यो भन्ने उनलाई लागेको छ ।

सरकारले मिर्गौलापीडितलाई स्थानीय तहको सिफारिसमा जनस्वास्थ्यमार्फत सरकारी खर्चमा डायलासिस गर्न पाउने सुविधा दिएको छ । तर, सुविधा भएका अस्पतालमा पनि बिरामी धेरै भएर पालो पाउनै समस्या छ । बिरामी आफैंले कुन अस्पतालमा कहाँ पालो पाइन्छ भनेर खोजेपछि मात्रै जनस्वास्थ्यको सिफारिस काम लाग्छ ।

‘पहिले त त्यसरी सिफारिस ल्याउनु पर्छ भन्ने नै ज्ञान भएन । कसैले सिकाएन पनि । त्यसैले आफ्नै खर्चमा गरायौं । रोगले च्यापेको बेला धेरैतिरको ख्याल नहुने रहेछ’ थिरराजले भने ।

सरकारीमा पालो नपाएका उनले निजी अस्पतालमा हुने सित्तैको डायलिसको प्रक्रियाबारे अझै जानकारी छैन ।

‘हाम्रोमा ४३ जनाको बिरामीको लागि सित्तैमा डायलासिस हुन्छ । हाम्रै ओपीडीमार्फत आएको बिरामीलाई भने हामीले सित्तैमा गरी नै रहेका छौं’ अल्का अस्पतालका डायलासिस सुपरभाइजर निरजकुमार कर्णले भने, ‘अरु अस्पतालबाट आउने बिरामीले जनस्वास्थ्यबाट सिफारिस ल्याउनुभएको छ भने हाम्रोमा पालो आउँदा सित्तैमा नै हुन्छ ।’

‘डायलासिस गराइरहेका कुनै बिरामीको मृत्यु भएमा वा डायलासिस गराइरहेका बिरामीले मिर्गौला प्रत्यारोपण गरेपछि नयाँ बिरामीको लागि ठाउँ खालि हुन्छ’ डायलासिस सुपरभाइजर कर्णले भने ।

पैसा सकिएर फर्किए घर

थिरराजले पीडा सुनाइरहँदा उनका भाइ पर्शुराम दाइलाई लैजाने ट्याक्सी खोजिरहेका थिए । चार दिनअघि अल्का अस्पतालबाट निस्किएर भिनाजुको घर कपनमा बसेका उनीहरुलाई अस्पताल आउन–जानै सकस छ ।

ट्याक्सीले हत्तपत्त जान मान्दैन । मानिहाले पनि पैसा धेरै माग्छन् । अल्का अस्पतालअघि पाँच वटा ट्याक्सीलाई बिन्ति गरेपछि छैठौँले बल्ल पर्शुरामको दुःख बुझेजस्तो गर्‍यो ।

‘डाक्टरले औषधी खाएर हप्तामा दुईपटक डायलासिस गराउन आउनु भनेको छ । यहाँ त बस्न सकिँदैन अब विराटनगर नै फर्किनु पर्छ जस्तो लागेको छ,’ पर्शुरामले भने, ‘बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ लाखसम्म लाग्छ रे । अहिलेसम्म १४ लाख खर्च भइसक्यो । सबै गर्दा ६० लाख लाग्छ होला ।’

थिरराजले विदेशकै पसिनाले किनेको १० धुर जग्गा आफ्नै उपचारका लागि बेचे । उनी भन्छन्, ‘दुःख गरेर बनाएको त्यो एकतले घर पनि बेचेँ भने बालबच्चा कहाँ जालान्, के गर्लान् भन्ने पीर छ ।’

थिरराजलाई दुःख, पीडा पर्दा श्रीमतीको मायालु स्याहारले तङ्ग्रिएको भान थियो । तर ससुराको देहान्त भएर श्रीमती पनि माइत गएपछि उनलाई एक्लोपनले छोएको छ । ‘अस्ति श्रीमतीको बुबा खस्नु भो । त्यसैले उनी बाध्यताले जानु परिहाल्यो ।’ उनले भने ।

जनस्वास्थ्यबाट कागजपत्र बनाउन सकियो भने विराटनगरमा नै डायलासिस गर्ने सोचमा छन् थिरराज । डायलासिस त होला तर बोनम्यारो र रगतको उपचार कसरी गर्ने उनलाई भेउ छैन । विदेश जान सजिलै ऋण पाएका उनलाई उपचार गराउन कसले पो ऋण देला र ।

यसैले त रोग लिएर उपचार गराउन काठमाडौं आएका थिरराज सोमबार रोग लिएरै विराटनगर फर्किए ।

-अनलाइनखबरबाट


Loading...
सम्बन्धित शीर्षकहरु

तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक  राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला…

तितोपाटी - काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका…

तितोपाटी - मंगलबार राति फ्रान्समा एक क्रिसमस बजारमा बन्दुकधारीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका…

प्रतिकृयाहरू