Friday 26th June 2026

कुवेतमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


निरेम प्रोडक्सन कुवेतको आयोजना तथा मेट्रो मेडिकल सेन्टरको सहकार्यमा महाबुल्लास्थित सुपर क्लिनिकमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। ५ जुन २०२६ शुक्रबार आयोजित उक्त शिविरबाट कुवेतमा कार्यरत ३०० भन्दा बढी नेपाली श्रमिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन्।

शिविरमा सहभागीहरूले मधुमेह (सुगर), कोलेस्ट्रोल तथा रक्तचापको निःशुल्क परीक्षण गराउनुका साथै आँखा, दाँत र जनरल फिजिसियनबाट विशेषज्ञ स्वास्थ्य परामर्श सेवा प्राप्त गरेका थिए। घरेलु महिला श्रमिक, विभिन्न कम्पनीमा कार्यरत श्रमिक तथा डेलिभरी क्षेत्रमा कार्यरत राइडरहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा मेट्रो मेडिकल सेन्टरले अन्य आवश्यक स्वास्थ्य परीक्षणमा समेत विशेष सहुलियत प्रदान गरेको थियो।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालको विशेष उपस्थिति रहेको थियो। राजदूत लम्सालले प्रवासमा रहेका नेपालीहरूको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आयोजकको प्रशंसा गर्नुभयो।

त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का प्रतिनिधि अमिश कार्की, एनआरएनए आईसीसी सचिव सुजन केसी, एनआरएनए कुवेतका अध्यक्षद्वय विकासबहादुर सिंह र दिलकुमार पाख्रिनसहित विभिन्न सामाजिक तथा राजनीतिक संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

आयोजक निरेम प्रोडक्सनले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने अल मुल्ला एक्सचेन्ज, डाम्पा चौतारी ग्रुप, नमस्ते नेपाली रेस्टुरेन्ट, डीबी कलेक्सन, निरेम ट्राभल्स, यात्री समाज लगायत सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति आभार व्यक्त गरेको छ। साथै स्वास्थ्य शिविरलाई सफल बनाउन अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीहरूलाई पनि विशेष धन्यवाद ज्ञापन गरिएको छ।

नेपाली समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि र हितलाई केन्द्रमा राख्दै आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ। शिविरको सफलताले कुवेतमा रहेका नेपालीहरूबीच आपसी सहयोग, सद्भाव र एकताको भावना अझ सुदृढ भएको विश्वास गरिएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...