Wednesday 8th July 2026

अवैध बाटो युरोप गमनः कोही पीडामा कोही वेपत्ता


तितोपाटी – राम्रो अाम्दानीको गन्तब्य सम्झेर युरोपियन मुलुकहरूमा जान खोज्ने नेपाली युवाहरूको संख्या दिनानुदिन बढ्दो छ । कोही विद्यार्थी भिसामा त कोही पर्यटक भिसामा वैध/अवैध मार्ग प्रयोग गरेर युरोप पस्ने क्रम चलिरहेको छ । त्यस्तै अवैध तरिका अपनाएर टर्की जाने नेपालीहरू पनि धेरै छन् ।

दसौं लाख रुपैयाँ खर्चेर पर्यटक भिसामा टर्की पुग्ने र भनिएजस्तो जागिर नपाएपछि अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । उनीहरूले खेप्नुपरेका सास्ती र दुर्व्यबहारको कथा सुनिसाध्य छैन । अझ त्यहाँबाट जिन्दगी नै दाउमा लगाएर ग्रिसलगायत देश छिर्ने क्रममा ठगिनेको पीडा छुट्टै छ । यसरी अवैध रूपमा यूरोपियन मुलुकमा जानेहरू कोही विभिन्न दर्दनाक पीडा भोग्दै गन्तब्य सम्म पुगेका छन् त कोही बिचमै हराइरहेका छन् ।

टर्कीबाट ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रूपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौं रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।

टर्कीबाट ग्रिस पस्नु त्यति सजिलो छैन । मानव तस्करले हप्तौंसम्म घना जंगलको बाटो हिँडाएर ग्रिस छिराउने गर्छन् । त्यसक्रममा कति बाटैमा थलिन्छन्, कति गन्तव्यसम्म पुग्न सफल हुन्छन् । टर्कीबाट अवैध रूपमा ग्रिस पुगेका इलामका मोती गुरुङले कान्तिपुरसँग अनुभव सुनाए, ‘घना जंगलमा सात दिनसम्म भोक–प्यास नभनी हिँडियो, मरेर बाँचियो ।’ टर्कीबाट उनीसँगै हिँडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहीन छन् । सँगै गएका तिवारी कहाँ छन्, गुरुङलाई पनि थाहा छैन । नवीन बाटैमा बिरामी परेको र रेल ट्रयाकसम्म सँगै रहेको मोतीलाई सम्झना छ । त्यसपछि नवीन छुटेको उनी बताउँछन् ।

मोतीका अनुसार कैयन् दिनसम्म भोकैप्यासै माइनस डिग्री चिसोमा हिँड्दा नवीनको घाँटीमा समस्या आएको थियो । ‘साथी बिरामी पर्दा पनि कसैलाई फोन गर्न पाएनौं, न एजेन्टसँग कुरा गर्न दिइयो,’ मोतीले भने, ‘पाकिस्तानीले एकचोटि कल गर भनेर फोन दिएको थियो । त्यही बेला आशिष घिमिरे (टर्कीबाट ग्रिस छिराउने जिम्मा लिएका दलाल) लाई फोन गरेर नवीनको हालत बतायौं । अस्पताल लैजान वा औषधिको व्यवस्था मिलाउन भन्यौं तर उसले केही गरेन ।’

लखतरान अवस्थामा हिँड्दै गर्दा रेलको ट्रयाकमा पुगेको र पाकिस्तानी एजेन्टले आफूहरूलाई रेल चढाएको उनले बताए । ‘नवीन त्यहीं छुटे, त्यसपछि के भयो थाहा छैन ।’ नवीनका बारेमा खोजखबर गरे वा कसैलाई भने जे पनि हुन सक्ने भन्दै पाकिस्तानीले थर्काएको उनी बताउँछन् । मोतीका बारेमा जानकार एक नेपालीका अनुसार मोतीसहितको टोली पनि अवैध रूपमा ग्रिस छिरेको आरोपमा २५ दिन जेल सजाय भोगेर निस्किएको हो ।

तिवारी, मोती र अर्का एकजना पहिला टर्कीमै काम पाइने आसमा गएका थिए । तर, भनेजस्तो कमाइ नभएपछि दलालले ग्रिसको लोभ देखाए । उनीहरूले जाने इच्छा देखाएपछि काठमाडौं घर बताउने आशिष घिमिरेले ग्रिस छिराउने जिम्मा लिएका थिए । आशिषले जनही चारदेखि पाँच लाख रुपैयाँ लिएर मोहम्मद नामका पाकिस्तानीको जिम्मा लगाएर उनीहरूलाई ग्रिस छिराउने व्यवस्था मिलाएका थिए । त्यही क्रममा नवीन सम्पर्कविहीन भएका हुन् । टर्कीबाट हिँड्दासम्म सम्पर्कमा रहेका नवीनका बारेमा त्यसयता परिवारले कुनै जानकारी पाएको छैन । नवीनका भिनाजु तुलसी न्यौपानेका अनुसार बुझबुझारथ गर्ने काम भइरहेको छ तर केही खबर पाइएको छैन । उनले भने, ‘परिवारका मान्छे खुबै आत्तिएका छन् ।’

प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै १४ जनाले टर्की जाने सपनाका कारण ठगिएको भन्दै उजुरी गरेका छन् । तीमध्ये दुई जना टर्की पुग्ने सपनामा पैसा डुबाएका, ५ जना टर्की पुगेर भनेजस्तो काम नपाएपछि आफ्नै खर्चमा स्वदेश फर्केका, दुई जना अवैध रूपमा ग्रिस छिरेपछि अलपत्र परेका, चार जना टर्कीमै अलपत्र परेका र दुई जना भारतमा अलपत्र परेका छन् ।

यही अवधिमा टर्की पुगेर ठगिएका थप ३७ जनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा मानव बेचबिखन तथा ठगीमा उजुरी दर्ता गराएका छन् । पीडितको मागदाबीअनुसार टर्की सपनाका नाममा २ करोड ५० लाख रुपैयाँ डुबेको देखिन्छ । नवीनसँगै टर्की पुगेका तर ग्रिस छिर्न नसकेपछि स्वदेश फर्केका कावासोतीका टीकाराम भट्टराईले ९ लाख रुपैयाँ खर्च भएको बताए । ‘त्यत्रो रकम सकियो, कमाइ केही भएन, यता न उता भइयो’, उनले भने ।

भयावह गन्तव्य
मानव तस्करीमाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूका अनुसार टर्की भयावह गन्तव्यका रूपमा विकास हुँदै छ । दसौं लाख रुपैयाँ खर्चेर पर्यटक भिसामा टर्की पुग्ने, भनेजस्तो काम नपाएपछि अलपत्र पर्ने र तेस्रो देश जाने क्रममा फेरि ठगको फन्दामा पर्नेको संख्या बढ्दो छ । महानगरिय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंह टर्की नेपालीका निम्ति जोखिमपूर्ण गन्तव्य बनेको बताउँछन् ।

आर्थिक रूपमा गतिलो कमाइ नहुने, श्रम शोषण धेरै हुने र अवैध कामदारका निम्ति अनुदार टर्कीमा नेपालीलाई अनेकन प्रलोभन देखाएर पुर्‍याउने मानव तस्करको गिरोह नै सक्रिय छ । वैदेशिक रोजगारीमा हुने ठगीसम्बन्धी अनुसन्धान गरिरहेका महाशाखाका डीएसपी मनोहर भट्टका अनुसार यस्ता मानव तस्करको अन्तरदेशीय जञ्जालमा नेपाली फस्ने क्रम जारी छ ।

प्रहरीका अनुसार भारतको बाटो हुँदै पर्यटक भिसामा टर्की पुर्‍याउन दर्जनौं एजेन्ट सक्रिय छन् । तीमध्ये केही म्यानपावर व्यवसायमा आबद्ध छन् भने केही कन्सल्टेन्सी र अन्य काममा । महानगरीय अपराध महाशाखामा २०७४/७५ मा दर्ता भएका टर्कीसम्बद्ध उजुरीअनुसार ६ एजेन्ट, एक कन्सल्टेन्सी र दुई मेनपावर ठगी प्रक्रियामा संग्लन छन् । ब्युरोमा दर्ता भएका ३७ पीडितको मुद्दामा १४ जना एजेन्ट ठगीमा संग्लन थिए । तीमध्ये नौ जना मात्रै पक्राउ परेका छन् । अपराध महाशाखामा दर्ता भएको १४ जना पीडितको आठवटा उजुरीको आधारमा दुई जना पक्राउ परेका छन् ।

ब्युरोका अनुसार टर्की पठाइदिने धन्दामा संग्लन भएको अभियोगमा पक्राउ परेका चितवनका निरञ्जन भट्टराई अहिलेसम्मकै सबैभन्दा ठूला एजेन्ट हुन् । पाल्पाका नारायण सुनुवार र सिन्धुपाल्चोकका रामकुमार भट्टराईलाई पनि निरञ्जनले नै टर्की पठाउने तारतम्य मिलाइदिएका थिए । यी दुवै टर्कीबाट ग्रिस छिर्न नसकेपछि झन्डै सात लाख गुमाएर स्वदेश फर्किसके भने उनीहरूकै उजुरीपछि काठमाडौं जिल्ला अदालतको आदेशले निरन्जन पुर्पक्षका लागि थुनामा छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले देशभरका सम्पत्ति मालिकहरूलाई सुरक्षा क्यामेरा (CCTV) जडान गर्न र त्यसको रेकर्डिङ कुनै परिवर्तन नगरी कम्तीमा १२० दिनसम्म…

अमेरिका र इरानबीच केही समयअघि कायम भएको अस्थायी युद्धविराम फेरि लगभग समाप्त भएको संकेत देखिएको छ। पछिल्ला घटनाक्रमले मध्यपूर्वलाई पुनः…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा अब डीमा (deema) को Buy Now, Pay Later (BNPL) सेवा उपलब्ध भएको छ। यस सेवामार्फत…

प्रतिकृयाहरू
...