Sunday 28th April 2024

कस्तो छ त ‘सुश्री सम्पति’ को ‘हुकुम बक्सियोस’ ?


तितोपाटी – दरबारीया संस्कृतिको झल्को दिने गरी खिचिएको ‘हुकुम बक्सियोस्’ बोलको गीत सार्वजनिक भएको छ । फिल्म ‘सुश्री सम्पत्ति’मा रहेको यो गीतमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिरपालीको अभिनय छ।

गीतमा दरबारमा हुने भारदारको नृत्यलाई प्रस्तुत गरिएको छ । आफूलाई राजा चरित्रका रुपमा प्रस्तुत गरेका सलोनले गीतमा नायिका सारालाई गीतमार्फत प्रेममा पार्न खोजिएको देखाइएको छ । विशाल राई र मेलिना राईको स्वरमा रहेको गीतमा ८० भन्दा बढी कोरसको प्रयोग गरिएको छ । गीतमा सुरेश अधिकारीको शब्द र संगीत तथा गम्भीर विष्टको कोरियोग्राफी छ । गीतमा शिवराम श्रेष्ठको कोरियोग्राफी छ।

फिल्मका प्रस्तुतकर्ता तथा निर्माता रमेश त्वायनाले ‘हुकुम’ गीतले आफूलाई फिल्म बनाउन प्रेरित गरेको खुलाए । ‘मलाई कथासँगै ‘हुकुम’गीतले पनि फिल्म बनाउन प्रेरित गर्यो,’ त्यावनाले भने, ‘संगीतकार सुरेश अधिकारीले बिहानको दुई बजे मलाई फोन गरेर गीतको ट्युनिङ सुनाउने भनेका थिए । उनले गीतको ट्युनिङ सुनाउँदै म निकै लोभिएँ । फिल्ममा कथासँगै संगीत पक्ष पनि बलियो बनेको छ।’

फिल्मका निर्देशक सुब्रत आचार्यले फिल्मको गीत कथा सुहाउँदो भएकाले ‘हुकुम’ तयार पारिएको बताए । ‘हामीले गीतमात्र होइन, गीतका लागि पोशाक पनि तयार पारेर राखेका थियौं । फिल्ममा झैं गीतमा पनि एउटी सुश्रीको पछाडि दुई केटाहरु छन्,’ उनले भने, ‘फिल्मले एक युवतीको कथा पेश गर्छ । जो आफैंमा सम्पन्न हुन्छिन् ।’
निर्देशक आचार्यले फिल्म हास्य र सामाजिक कथामा बनेको खुलाए ।

आगामी भदौ २२ गते फिल्म रिलिज हुने भनिए पनि निर्देशक सुब्रतले फिल्मको नयाँ मितिको विषयमा वितरकसँग छलफल भइरहेको बताए । यो मितिमा सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ पनि प्रदर्शन हुँदैछ । ‘सकेसम्म हामी राम्रो फिल्म एक आपसमा सँगै नआउने कोसिस गरिरहेका छौं । केहि दिनमा हामी रिलिज डेटलाई पनि फाइनल गर्छौ,’ उनले भने । निर्देशक आचार्यले यसअघि फिल्म ‘अधकट्टी’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए।

नायक सलोनले दरबारीया लुक्समा गीतमा काम गर्दा निकै रमाइलो लागेको बताए । ‘यो गीत सुटिङ गर्दा हामी कोही पनि हाँस्न पाएनौं । तर गीतको सट सकिएपछि बेस्कन हाँस्थ्यौं,’ सलोनले गीत सुटिङको क्षण सम्झिए, ‘अहिलेसम्म मैले जति पनि फिल्ममा नृत्य गरें । ती फिल्म भन्दा यो गीतमा नौलो अनुभव लिन पाएँ ।’अर्का नायक विनोदले फिल्ममा दरबारीया गेटअपमा देखिँदा निकै रमाइलो लागेको बताए । ‘गीतको सुटिङमा भन्दा पनि गीत हेर्दा रोमाञ्चित भएँ,’ उनले भने । नायिका सारा अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन सकिनन्।

फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीको पनि अभिनय छ भने नायिका प्रियंका कार्की विशेष भूमिकामा छिन् । निर्देशक सुब्रतकै कथा रहेको फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको पनि लगानी छ ।अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद रहेको फिल्ममा अभिमन्यूको पटकथा, अर्जुन तिवारीको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

भिडियो हेर्नुहोसः


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...