मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव फेला परेसँगै मृतक संख्या बढेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहान चार र दिउँसो चार शव फेला परेका हुन्। यसअघि सात जनाको शव भेटिएको थियो भने अझै एक जना बेपत्ता छन्।
फेला परेका शवमध्ये दुई वटा चामे र छ वटा फुगु पुर्याइएको छ। अँध्यारोका कारण हेलिकप्टर उडान सम्भव नभएकाले बाँकी उद्धार कार्य शुक्रबार पनि जारी रहने बताइएको छ।
गत असोज ११ गते बिहान (सेप्टेम्बर २७) हिम्लुङ हिमाल आधार शिविरमा हिमपहिरो गएको थियो। खोज तथा उद्धारका लागि नेपाल राष्ट्रिय पर्वत पथप्रदर्शक संघको ११ सदस्यीय टोली परिचालन गरिएको छ।
यसैबीच नेपाल सेना, स्थानीयवासी र सुरक्षा निकायको टोलीले चामे गाउँपालिका–४ स्थित थाडो खोलामा गएको पहिरोले अवरुद्ध बनाएको मर्स्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन पुनः सञ्चालन गर्ने काम पनि गरिरहेको छ।
![]()