दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही गरेको जनाएको छ। इजरायली सेनाका अनुसार एउटा ड्रोन सैनिकहरूले खसालेका थिए भने आक्रमणबाट कुनै इजरायली सैनिक घाइते भएनन्।
इजरायलले उक्त ड्रोन आक्रमणलाई युद्धविरामको उल्लंघन भन्दै दक्षिणी लेबनानको नबातियह क्षेत्रमा हिजबुल्लाहका लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ। हिजबुल्लाहले भने पछिल्लो घटनाको जिम्मेवारी औपचारिक रूपमा स्वीकार नगरेको विवरण पनि सार्वजनिक भएको छ।
पछिल्लो समय अली ताहेर क्षेत्र इजरायल र हिजबुल्लाहबीचको प्रमुख तनावको केन्द्र बनेको छ। उक्त क्षेत्रमा हिजबुल्लाहको भूमिगत संरचना रहेको इजरायलको दाबी छ।
तनाव बढ्दै गएपछि इजरायलले सेप्टेम्बर ४ मा अली ताहेर पहाडी क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेको छ। हिजबुल्लाहले भने उक्त क्षेत्रको रणनीतिक महत्वलाई इजरायलले प्रस्तुत गरेजति ठूलो नभएको बताएको छ।
यस घटनाले युद्धविरामपछि पनि दक्षिणी लेबनानमा इजरायल र हिजबुल्लाहबीचको संघर्ष पूर्ण रूपमा अन्त्य नभएको देखाएको छ। दुवै पक्षबीचका सीमित सैन्य गतिविधिले पुनः व्यापक द्वन्द्व भड्किन सक्ने चिन्ता बढाएको छ।