Thursday 13th August 2026

कुवेतमा ‘एउटाले बिराउनी, दुनियाँलाई पिराउनी’ अन्त्य हुनुपर्छ


– राज मल्ल
कुवेतमा नेपालीको संख्या पछिल्लो समय करिब दुई लाखको हाराहारीमा पुगिसकेको छ। यो केवल एउटा संख्या होइन, लाखौँ सपना, आशा, संघर्ष र परिवारको भविष्यसँग जोडिएको संख्या हो। हजारौँ नेपालीले कुवेतको चर्को गर्मी, कठिन श्रम र अनेकौँ चुनौतीबीच इमानदारीपूर्वक पसिना बगाइरहेका छन्। कसैले घर बनाएका छन्, कसैले छोराछोरीको भविष्य सुनिश्चित गरिरहेका छन्, कसैले ऋण तिरिरहेका छन्, कसैले नेपालमा व्यवसाय सञ्चालन गरिरहेका छन् भने कसैले रोजगारी सिर्जना गर्दै देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेका छन्। इमानदार नेपालीको यही मेहनत र संघर्षले कुवेतमा नेपालीको पहिचान बनाएको छ। तर प्रश्न यति हो केही व्यक्तिको गलत कामका कारण सिंगो नेपाली समुदायले बदनामीको भारी बोकिरहनुपर्ने हो?

कुवेतमा पछिल्लो समय सुरक्षा व्यवस्था थप कडा हुँदै गएको देखिन्छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी, पक्राउ, अनुसन्धान तथा कानुनी कारबाहीलाई सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाइरहेका छन्। मदिराको उत्पादन तथा बिक्री, लागुऔषधको कारोबार तथा सेवन, जुवा तथा सट्टेबाजी, अनधिकृत व्यापार, भिसा तथा आवासीय नियमको उल्लंघन, अनुमति बिना घरबाट व्यवसाय सञ्चालन, गैरकानुनी रूपमा सँगै बस्नेलगायतका गतिविधिमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा पर्न सक्छन्। यस्ता गतिविधिमा नेपाली पनि संलग्न भएको खबरहरू सार्वजनिक भइरहेका छन्। कसैलाई पक्राउ गरिएको खबर आउँदा त्यसलाई सनसनीका रूपमा मात्र हेर्नुभन्दा त्यसबाट सम्पूर्ण नेपाली समुदायले पाठ सिक्नुपर्ने आवश्यकता छ किनकि एउटा व्यक्तिको गल्ती व्यक्तिगत हुन सक्छ, तर त्यसको असर कहिलेकाहीँ सिंगो समुदायसम्म पुग्छ। उसले बोकेको परिचय केवल उसको व्यक्तिगत नाम हुँदैन, उसको परिचयसँग ‘नेपाली’ शब्द पनि जोडिएको हुन्छ। साथै एउटा नेपालीको गलत गतिविधिका कारण रोजगारदाताको नेपालीप्रतिको धारणा बदलिन सक्छ, नेपाली श्रमिकप्रतिको विश्वासमा असर पर्न सक्छ र भोलि नेपालबाट आउने नयाँ श्रमिकका लागि रोजगारीका अवसरसमेत प्रभावित हुन सक्छन्। त्यसैले गलत काम गर्ने व्यक्तिले आफ्नो मात्र भविष्य जोखिममा पारिरहेको हुँदैन, उसले अनजानमै सिंगो समुदायको प्रतिष्ठामाथि समेत प्रश्न उठाउने अवस्था सिर्जना गरिरहेको हुन्छ।

हाम्रो समुदायमा अझै एउटा खतरनाक मानसिकता देखिन्छ ‘सबैले गर्छन्’, ‘केही हुँदैन’, ‘प्रहरीलाई थाहा हुँदैन’, ‘अरूले पनि त गरिरहेका छन्।’ यही सोचले मानिसलाई विस्तारै जोखिमपूर्ण गतिविधितर्फ धकेल्छ। अरूले गरेको गलत काम सही हुँदैन। आजसम्म पक्राउ नपरेको कारण भोलि पनि पक्राउ पर्दैन भन्ने कुनै ग्यारेन्टी हुँदैन। केही समय लुकेर गैरकानुनी काम गर्न सफल हुनु उपलब्धि होइन, त्यो जोखिम हो। त्यसको परिणाम पक्राउ, अनुसन्धान, जरिवाना, जेल, देश निकाला, रोजगारी गुम्नु वा भविष्यमा विदेश जाने अवसरसमेत गुम्नु हुन सक्छ। विदेशमा बसेर कानुन छल्न सक्नु चतुर्‍याइँ होइन, आफ्नै भविष्यसँग खेल्नु हो।तर विडम्बना के छ भने कसैले ‘यो काम नगर्नुस्, कुवेतको कानुनविपरीत पर्न सक्छ’ भनेर सम्झाउँदा समेत कतिपय मानिस रिसाउँछन्। ‘मेरो काममा किन हस्तक्षेप?’, ‘अरूले पनि त गरिरहेका छन्’, ‘मलाई कानुन थाहा छ’ जस्ता जवाफ आउँछन्। प्रश्न यो हो गलत काम नगर्नुस् भन्नु दुश्मनी हो? कानुनको सम्मान गर्नुस् भन्नु ईर्ष्या हो? लागुऔषध, जुवा, सट्टेबाजी वा अनधिकृत व्यापारबाट टाढा रहनुस् भन्नु व्यक्तिगत हस्तक्षेप हो? होइन। कहिलेकाहीँ तपाईंलाई रोक्ने मानिस नै तपाईंलाई ठूलो दुर्घटनाबाट बचाउन खोजिरहेको हुन्छ। कानुन पालना गर्नुस् भन्नु कसैको व्यक्तिगत विरोध होइन, गलत काम नगर्नुस् भन्नु समुदायप्रतिको जिम्मेवारी हो।

अझै पनि हाम्रो सामाजिक संस्कारमा ‘हाम्रो मान्छे’ भनेर गलतलाई संरक्षण गर्ने प्रवृत्ति देखिन्छ। साथी होस्, आफन्त होस्, आफ्नै संस्थाको सदस्य होस् वा आफ्नै समूहको व्यक्ति गलत काम गलत नै हुन्छ। आफ्नो मान्छेले गल्ती गर्दा पनि गलत भन्न सक्नु नै वास्तविक सामाजिक नेतृत्व हो। गलतलाई ढाकछोप गर्नु नेतृत्व होइन, त्यसलाई अझ बलियो बनाउनु हो। समयमै सम्झाउनु सामाजिक जिम्मेवारी हो र आवश्यक परे कानुनी बाटो देखाउनु मानवता हो।कुवेतमा नेपालीका थुप्रै सामाजिक, जातीय, क्षेत्रीय, पेशागत तथा अन्य संस्थाहरू सक्रिय छन्। कार्यक्रम हुन्छन्, अधिवेशन हुन्छन्, भेटघाट हुन्छन्, सांस्कृतिक गतिविधि हुन्छन्। यी सबै समुदायका लागि आवश्यक छन्। तर अब एउटा प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ, समुदायलाई गलत बाटोबाट जोगाउने कामचाहिँ कसको? सामाजिक संस्थाको भूमिका केवल कार्यक्रम आयोजना गर्ने, शुभकामना आदानप्रदान गर्ने र मञ्चमा भाषण गर्नेमा मात्र सीमित हुनु हुँदैन। समुदायको नेतृत्व भनेको आवश्यक पर्दा आफ्नै मानिसलाई ‘यो काम नगर्नुस्, कानुनविपरीत पर्न सक्छ’ भन्न सक्नु पनि हो। समस्या आएपछि उद्धार गर्न दौडिनुभन्दा समस्या आउनै नदिन चेतना फैलाउनु ठूलो सामाजिक जिम्मेवारी हो। त्यसैले कुवेतको श्रम तथा आवासीय कानुन, साइबर अपराध, लागुऔषध, जुवा, अनधिकृत व्यापारलगायत संवेदनशील विषयमा नेपाली समुदायलाई नियमित रूपमा सचेत गराउने अभियान आवश्यक छ।यससँगै नेपाली पत्रकारिताको भूमिकामाथि पनि गम्भीर बहस आवश्यक छ। कुनै नेपाली पक्राउ परेको खबर आयो भन्दैमा तुरुन्तै नाम, फोटो र व्यक्तिगत विवरण सार्वजनिक गर्ने, आरोप लाग्दैमा अपराधी घोषणा गर्ने वा सामाजिक सञ्जालमा सनसनी फैलाउने प्रवृत्ति पत्रकारिताको मर्यादा हुन सक्दैन। पक्राउ पर्नु र अपराध प्रमाणित हुनु एउटै कुरा होइन। अनुसन्धान चलिरहेको व्यक्ति अपराधी भइसकेको हुँदैन। अन्तिम निर्णय कानुनी प्रक्रियाबाट हुन्छ।

पत्रकारिताको काम सनसनी फैलाउनु होइन, तथ्य खोज्नु हो। आरोप र प्रमाणबीचको फरक स्पष्ट गर्नु हो। सन्तुलित र जिम्मेवार सूचना दिनु हो। समाचारको नाममा कसैको जीवन, परिवार र प्रतिष्ठामा अपूरणीय क्षति पुर्‍याउने अधिकार कसैलाई छैन।अर्कोतर्फ सामाजिक सञ्जालको दुरुपयोग पनि नेपाली समुदायको अर्को गम्भीर चुनौती बन्दै गएको छ। व्यक्तिगत विवाद भयो फेसबुकमा पोस्ट। आर्थिक कारोबार बिग्रियो फेसबुकमा आरोप। संस्थागत निर्वाचनमा हारियो फेसबुकमा गाली। कार्यक्रमको विषयमा मतभेद भयो फेसबुकमा चरित्र हत्या। व्यक्तिगत सम्बन्ध बिग्रियो निजी कुरा सार्वजनिक। त्यसपछि समूह बनाएर एक व्यक्तिमाथि आक्रमण। के यही हाम्रो सामाजिक संस्कार हो? सामाजिक सञ्जाल अदालत होइन। कसैसँग आर्थिक विवाद छ भने कानुनी बाटो छ, संस्थागत समस्या छ भने छलफलको बाटो छ, अपराधको प्रमाण छ भने सम्बन्धित निकायमा उजुरी गर्ने बाटो छ। तर प्रमाणबिना कसैलाई अपराधी घोषणा गर्ने, कसैको निजी जीवन सार्वजनिक गर्ने र चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन। आलोचना गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ, तर चरित्र हत्या गर्न पाइँदैन।हामीले आलोचना र गालीबीचको फरक बुझ्नुपर्छ। प्रश्न र आरोपबीचको फरक बुझ्नुपर्छ। पत्रकारिता र चरित्र हत्याबीचको फरक बुझ्नुपर्छ। आफूलाई मन नपरेको व्यक्ति वा समूहलाई सामाजिक सञ्जालमा बदनाम गरेर आफू ठूलो बन्न सकिँदैन। बरु यस्तो संस्कारले सम्पूर्ण नेपाली समुदायको सामाजिक वातावरणलाई विषाक्त बनाउँछ। विदेशमा बसेर एकअर्काको खुट्टा तान्ने होइन, एकअर्कालाई सही बाटोमा हिँड्न सहयोग गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता छ।समुदायका बुद्धिजीवी, समाजसेवी, अनुभवी व्यक्ति, पत्रकार तथा विभिन्न संस्थाका अगुवाहरूले पनि यस विषयमा आफ्नो भूमिका खोज्नुपर्ने बेला आएको छ।

गलत देख्दा मौन बस्नु तटस्थता होइन। आफ्नै समूह, संस्था वा साथीको गलत काममा समेत मौन बस्ने संस्कारले गलतलाई बल पुर्‍याउँछ। ‘बोल्यो भने रिसाउला’, ‘सम्बन्ध बिग्रेला’, ‘भोलि काम पर्ला’ भन्ने डरले सत्य बोल्न छोड्ने हो भने समाज कसरी सुधारिन्छ? अब ‘आफ्नो मान्छे’ र ‘पराइ मान्छे’ का आधारमा सही र गलत छुट्याउने होइन, आफ्नै नजिकको व्यक्तिले गल्ती गर्दा पनि गलत भन्न सक्ने सामाजिक संस्कार निर्माण गर्नुपर्छ।करिब दुई लाख नेपाली कुवेतमा हुनु हाम्रो उपलब्धि हो। तर ठूलो समुदायसँग ठूलो जिम्मेवारी पनि आउँछ। हामीले यहाँ केवल आफ्नो परिवारको भविष्य बनाइरहेका छैनौँ, आफ्नो देशको परिचय पनि बोकेर हिँडिरहेका छौँ। एउटा नेपालीको गैरकानुनी गतिविधिले नेपाली श्रमिकप्रतिको विश्वासमा असर पार्न सक्छ। एउटा गलत घटनाले भविष्यमा नेपालबाट आउने नयाँ श्रमिकका अवसर प्रभावित गर्न सक्छ। त्यसैले आज राम्रो काम गरिरहेका प्रत्येक नेपालीले पनि गलत गतिविधिको विषयलाई आफ्नो विषय ठान्नुपर्छ। यो केवल प्रहरीको जिम्मेवारी होइन, दूतावासको जिम्मेवारी मात्र होइन, सामाजिक संस्थाको जिम्मेवारी मात्र होइन यो हामी सबैको साझा जिम्मेवारी हो।कुवेतमा बस्नु भनेको पैसा कमाउनु मात्र होइन। यो विदेशी भूमिमा जिम्मेवार नागरिकका रूपमा बस्नु पनि हो। यहाँको कानुन थाहा नपाउनु कानुन उल्लंघनको बहाना बन्न सक्दैन। कानुन मन परेन भने कानुनी प्रक्रियाबाट प्रश्न गर्न सकिन्छ, अन्याय भयो भने सम्बन्धित निकायमा उजुरी गर्न सकिन्छ, तर कानुन तोडेर आफूलाई सही साबित गर्न खोज्नु समाधान होइन। विदेशमा बसेर कानुन छल्न खोज्नु आफ्नै भविष्यसँग खेल्नु हो।अब चेतावनीलाई मजाकमा लिने होइन, आत्मसमीक्षा गर्ने समय आएको छ। लागुऔषधबाट टाढा रहने, जुवा र सट्टेबाजीबाट टाढा रहने, अनधिकृत व्यापार नगर्ने, भिसा तथा आवासीय नियमको पालना गर्ने, अनुमति बिना घरबाट व्यवसाय सञ्चालन नगर्ने, कानुनविपरीत गतिविधिमा साथीभाइलाई समेत प्रोत्साहन नगर्ने र सामाजिक सञ्जालमा प्रमाणबिना कसैको चरित्र हत्या नगर्ने संस्कार विकास गर्नुपर्छ। अझ महत्वपूर्ण कुरा, गलत बाटोमा हिँड्न खोजिरहेको साथी वा आफन्तलाई समयमै सम्झाउने संस्कार पनि विकास गर्नुपर्छ।

करिब दुई लाख नेपाली रहेको दुतावासले जनाएको छ ।अब हाम्रो अर्को चुनौती भनेको दुई लाख नेपालीलाई जिम्मेवार, अनुशासित र कानुनको सम्मान गर्ने समुदायका रूपमा स्थापित गर्नु हो। हामी नेपाली भएको प्रमाण हाम्रो पासपोर्टले दिन्छ, तर नेपालीको प्रतिष्ठा हाम्रो व्यवहारले निर्धारण गर्छ। एक जनाको गल्ती व्यक्तिगत हुन सक्छ, तर त्यसको दाग कहिलेकाहीँ सिंगो समुदायको अनुहारमा देखिन्छ।त्यसैले प्रश्न फेरि पनि त्यही हो अब पनि नसुध्रिए कहिले सुध्रिने?विदेशमा बसेर आफ्नो भविष्य बनाउँदै गर्दा आफ्नो देशको प्रतिष्ठा नबिगारौँ। गलतलाई संरक्षण होइन, सुधारको बाटो देखाऔँ। कानुनको सम्मान गरौँ। एकअर्कालाई सचेत गराऔँ। समुदायको प्रतिष्ठा जोगाऔँ। किनकि कुवेतमा नेपालीको भविष्य केवल हाम्रो श्रमले होइन, हाम्रो आचरणले पनि निर्धारण गर्नेछ।गल्ती केहीको होला, तर बदनाम सिंगो नेपाली नहोस्।


सम्बन्धित शीर्षकहरु

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी…

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि सिंगापुरबाट हङकङ हुँदै बिहीबार नेपाल फर्किएका छन्। उनी फागुनमा स्वास्थ्य…

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन्।…

प्रतिकृयाहरू
...