Tuesday 10th November 2026

पूर्व प्रधानन्यायाधीश पक्राउ प्रकरणमा सर्वोच्च अदालत बारको गम्भीर चासो


पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बारले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यका रूपमा स्थापित गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएको छ।

विज्ञप्तिमा कुनै पनि नागरिकको वैयक्तिक स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको संरक्षणका लागि कानुनले तोकेको उचित प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ। कानुनी प्रक्रिया पूरा नगरी गरिएको कुनै पनि कारबाही लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत हुने बारको भनाइ छ।

साथै, पूर्व पदाधिकारीसँग सम्बन्धित मुद्दा वा अनुसन्धानका क्रममा हुने कामकारबाहीलाई प्रभाव पार्ने वा अनावश्यक रूपमा व्याख्या–विश्लेषण नगर्न सरोकारवालालाई आग्रह गरिएको छ। न्यायपालिकाबाट हुने न्याय सम्पादनमा बाह्य वा आन्तरिक दबाब स्वीकार्य नहुने र यसप्रति आम नागरिकलाई विश्वास दिलाउने प्रयास जारी रहने बारले जनाएको छ।

बारका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा न्यायिक स्वतन्त्रता, विधिको शासन तथा नागरिक अधिकारको संरक्षणप्रति प्रतिबद्धता दोहोर्याइएको छ।


सम्बन्धित शीर्षकहरु

१० नोभेम्बर २०२६ | अन्तर्राष्ट्रिय राजनीति / इजरायलमा बेन्जामिन नेतान्याहुको सरकार विस्थापित गर्ने उद्देश्यसहित नयाँ सरकार गठनको प्रयास गरिरहेका पूर्वसैनिक…

कतारका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग इरानसम्बन्धी विषयमा गरेको छलफलमा सकारात्मक तथा महत्त्वपूर्ण प्रगति भएको बताएका…

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष…

प्रतिकृयाहरू
...