Tuesday 29th September 2026

कविता: नबोलेको प्रेम


तिमी बोल्दैनौ,

तर साँझको बतासले

तिम्रो खबर ल्याइरहन्छ।


झ्यालको पर्दा हल्लिँदा

लाग्छ,
कसैले मेरो नाम

बिस्तारै उच्चारण गर्‍यो।

आकाशभरि तारा छन्,

तर मेरा आँखाले

एउटै उज्यालो खोजिरहन्छन्।

सायद त्यो तारा होइन,

तिम्रो सम्झनाले

रातको निधारमा राखेको

सानो उज्यालो हो।

हामीबीच

कुनै वाचा लेखिएको छैन,

कुनै सम्बन्धको नाम पनि छैन।

तर किन हो कुन्नि,

मनले हरेक साँझ

तिम्रै बाटो हेर्छ,

जसरी नदीले
समुद्रको बाटो बिर्सँदैन।

तिमी टाढा हुँदा पनि

मेरो एकान्त खाली हुँदैन।

तिम्रो सम्झना आएर

चुपचाप छेउमा बस्छ।

केही भन्दैन,

केही माग्दैन,

बस्,
मेरो मौनतालाई
आफ्नो बनाइदिन्छ।

धड्कनभित्र
कसैले
तिम्रो चित्र कोरेको छ।

मेट्न खोज्दा

झन् गाढा भएर आउँछ।

आँखा चिम्लिँदा

तिमी नजिक हुन्छौ,

आँखा खोल्दा

फेरि दूरीको आकाश फैलिन्छ।

सायद प्रेम यही हो,

नछोई पनि महसुस हुनु,

नभेटी पनि आफ्नै लाग्नु,

नबोली पनि
मनभरि संवाद भइरहनु।

र तिमी,

मेरो जीवनको त्यो कविता हौ

जसको अन्त्य
म लेख्न सक्दिनँ,

किनकि प्रत्येक अन्तिम हरफपछि

मनले फेरि
तिम्रै नामबाट

नयाँ पङ्क्ति सुरु गर्छ।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

प्रतिकृयाहरू
...