Wednesday 8th April 2026

अमेरिका इरान युद्ध २ सातालाई स्थगित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे प्रस्ताव व्यवहारिक भएको बताउँदै उनले दुई हप्ताको द्विपक्षीय युद्धविरामको घोषणा गरेका हुन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले उक्त १० बुँदे प्रस्तावले स्थायी सम्झौताका लागि वार्ताको आधार तय गर्ने बताएका छन् । साथै, अमेरिकाले आफ्ना अधिकांश सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी समेत उनले गरेका छन् ।

ट्रम्पले लेखेका छन,‘पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरसँगको कुराकानीको आधारमा, र उनीहरूले आज राति इरानमा पठाउन लागिएको विनाशकारी सैन्य शक्तिलाई रोक्न गरेको अनुरोध बमोजिम, म इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु । यो दुईपक्षीय युद्धविराम हुनेछ ।’

उनले अगाडि थपेका छन,‘यो निर्णय गर्नुको कारण के हो भने हामीले हाम्रा सबै सैन्य लक्ष्यहरू प्राप्त गरिसकेका छौँ र हामी इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिका लागि एक निश्चित सम्झौताको निकै नजिक पुगेका छौँ । हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ र यो वार्ताका लागि उपयुक्त आधार हो भन्ने हाम्रो विश्वास छ ।’ राष्ट्रपति ट्रम्पका अनुसार इरान विगतका विवादित लगभग सबै बुँदाहरूमा सहमत भएको छ र यो दुई हप्ताको समयले स्थायी सम्झौतालाई अन्तिम रूप दिन मद्दत गर्नेछ ।

‘अमेरिका र इरानबीच विगतका लगभग सबै असहमतिहरू सुल्झिएका छन् । यो दुई हप्ताको अवधिले सम्झौतालाई पूर्णता दिन र लागू गर्न समय दिनेछ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको हैसियतमा र मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै, यो दीर्घकालीन समस्या समाधानको नजिक पुग्नु मेरो लागि सम्मानको कुरा हो,’ उनले भने ।

यसअघि ट्रम्पले ट्रुथ सोसलमै निकै आक्रामक अभिव्यक्ति दिँदै इरानमा अभूतपूर्व विनाश हुने चेतावनी दिएका थिए । उनले लेखेका थिए,‘आज राति एउटा पूरै सभ्यता मर्नेछ, जुन कहिल्यै फिर्ता आउने छैन । म त्यस्तो होस् भन्ने चाहन्न, तर सायद यो हुनेछ ।’
अमेरिकी राष्ट्रपतिले घोषणा गरेको यो नयाँ युद्धविरामले मार्च २८ देखि सुरु भएको द्वन्द्व अब अन्त्य हुने र दुवै पक्ष शान्तिको दिशामा अघि बढ्ने आशा जगाएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...