Thursday 7th May 2026

कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस: एआई र पत्रकारिता’ विषयक अभिमुखीकरण


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखीकरण तालिम कार्यक्रम समेत सम्पन्न गरिएको थियो। नेपालमा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि क्रियाशील महासंघको गौरवमय ७१ वर्ष पुगेको अवसरमा कुवेतमा कार्यरत नेपाली पत्रकारहरूले प्रवासमा रहेर पनि नेपाली समुदायको आवाजलाई मूलधारको सञ्चार माध्यमसम्म पुर्‍याउन शाखाले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गरेका थिए।

शाखाका अध्यक्ष एकराज मल्लको अध्यक्षतामा अप्रिल ३ तारिख शुक्रबार कुवेतको साल्मियास्थित डाम्पा लाउन्च रेष्टुरेण्टको सभाहलमा आयोजित कार्यक्रममा मिडियाकर्मी, शाखाका प्रतिनिधि तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थापना दिवसको मुख्य आकर्षणका रूपमा “समाचारमा एआई: अवसर कि खतरा?” विषयक अभिमुखीकरण तालिम आयोजना गरिएको थियो। प्रशिक्षक दिपेन्द्र निरौलाले सहभागीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, समाचार लेखन, सम्पादन तथा तथ्य-जाँचमा एआईलाई सहायक उपकरणका रूपमा कसरी प्रयोग गर्ने भन्नेबारे विस्तृत जानकारी दिएका थिए । साथै एआईले सिर्जना गर्न सक्ने ‘फेक न्युज’ को जोखिम, पत्रकारिताको विश्वसनीयता जोगाउने उपाय तथा प्रविधिको प्रयोगमार्फत कम समयमा गुणस्तरीय सामग्री उत्पादन गर्ने प्राविधिक पक्षबारे पनि उनले प्रकाश पारेका थिए।

कार्यक्रममा सहभागी मिडियाकर्मीहरूले यस्ता प्रशिक्षणले प्रवासी पत्रकारितामा संलग्न सबैलाई थप जिम्मेवार र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गर्दै महासंघ शाखा कुवेतले केवल स्थापना दिवस मात्रै नमनाएर पेसागत दक्षता बढाउने अभिमुखीकरण तालिम आयोजना गरेर पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने कार्य गरेकोमा महासंघ शाखा कुवेतको खुलेर प्रशंसा गरेका थिए ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी दिनहरूमा पनि पत्रकारहरूको हकहित, पेसागत सुरक्षा तथा क्षमता विकासका लागि यस्ता रचनात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 


सम्बन्धित शीर्षकहरु

भारतको केरला विधानसभा निर्वाचन २०२६ ले दक्षिण एशियाली राजनीतिमा ठूलो सन्देश दिएको छ। एक समय “भारतीय वामपन्थको अन्तिम किल्ला” मानिएको…

मित्र भक्त आचार्यः झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश…

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्नु केवल प्रशासनिक निर्णय मात्र होइन, यो नेपालमा लामो समयदेखि चलिरहेको “भूमि राजनीति” माथिको…

प्रतिकृयाहरू
...