मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि त्यो सम्भव हुँदैन। मानिसलाई भुत, भविष्य र वर्तमानको चिन्ताले सधैं सताइरहेको हुन्छ। कहिलेकाहीँ त शान्त रहन आफ्नै मनको चिन्तानै दुश्मन बनेको जस्तो लाग्छ।
कुनै कामबाट शान्ति पाउन जब हामी टिभी खोल्छौं, लेख्न थाल्छौं, पढ्न थाल्छौं या कुनै काम गर्न थाल्छौं तबपनि मनमा अनेक चिन्ता र अशान्ति मनभित्र हुरी जस्तो आइ रहन्छ। जब हामी बाहिरबाट नै शान्तिको खोज गर्छौं भने त्यो कुनै उपायबाट पनि शान्ति पाउँदैनौं।
तर जब जब हामी शान्त मनले आफ्नै मनभित्र डुबुल्की मारी जब निराशालाई आशामा बद्लाब ल्याई बिस्तारै भौतिक र आध्यात्मिक दुवै चाहनालाई त्याग गर्दै जान्छौं तबतब हाम्रो मनमा शान्तको आभा प्रकट हुँदै जान्छ।
संसारमा त्यो मानिस दुःखी हो जसले हरदिन आफूलाई के न केही मागी रहेको हुन्छ। तसर्थ मनलाई हर चाहनाबाट पर राखी खोला झैं बग्ने गर। कहाँ पुगिन्छ त्यसको पनि चाहना चाहना नगर।
यो निरन्तर चली रह्यो भने आखिर बगेको खोला जसरी अन्त्यमा बिशाल सागरमा प्रवेश गर्दछ, त्यसरी नै हामीपनि एक दिन बिशालतामा प्रवेश हुने मौका पाउँछौं। मानिस आफ्नो मनको खालीपनदेखि डराउने गर्दछन्, आफू एकान्त भएकोमा डराउँछन्। तर यो खालिपन र एकान्तपन नै हाम्रो लागि एक बलियो साहस र निडरको मार्ग प्रशस्त गर्ने एक दह्रो मार्ग हो।
जब मन खाली हुन्छ तब हामीले आफ्नो मनमा नयाँ नयाँ कुराहरुको सिर्जना भएको महसुस हुन्छ। आफ्नो मनमा ब्रम्माण्डको ध्वनि गुन्जिएको हामी पाउछौं।
अब यो अबस्थामा हामीले आफ्नो मनमा दया, करुणा विशालताको चित्र कोर्ने काम गर्नु पर्दछ। भित्रको दया करुणाबाट आफ्नो कर्तव्यको बोध हुन जान्छ। जरुरत भन्दा बढी चिजको संग्रह नगर, लोभ नगर, माग्ने काम कहिल्यै नगर। जो यी काममा चालु हुन्छन् यसबाट दिमागी शान्ति पाउन सक्तैनन्।
चाहना पहाडको ढिस्को हो, जसको अगाडि जाने काम गरेमा ऊ तुरुन्तनै त्यो पहाडमा ठक्कर खान जान्छ। करुणा सरलता र विनम्रता नै संसारको सबैभन्दा ठूलो र महान बन्ने सरल उपाय हो। लोभ मोह र माग्ने मान्छे राजापनि लोभी, दलदलमा फस्ने र माग्ने नै हो।
आचरण बाहिरको होइन भित्रको मुख्य हो। बाहिर राम्रो आचरण भएर भित्र क्रुरताले भरिएको छ भने त्यो प्रहसन मात्र हो। तसर्थ प्रत्येक मानिसले आगो भइ आफ्नो परिचय दिन हावामा उडी जाने काम नगरी पानी झैं बगी भित्रभित्र निहुरी निहुरी आखिर बिशाल महासागरमा आफूलाई बिसर्जन गर्ने हो।
पानी बन, आकारहीन बन, तब हामी जुनसुकै आकारमापनि बदलिन काबिल हुन्छौं। कठोर भन्दा कठोर पत्त्थरलाई पनि पानीको झट्का झट्काले टुक्रा टुक्रा बनाइ फोडी दिन्छ। पानी सरह बनी हिँडेमा प्रकृतिवादी भइ हिँडेमा हामीले ल्याउन सक्छौं संसारमा ठूलो सुनामी।
कुनै कुरालाईपनि जबर्जस्ती जित्ने कोशिश नगर, तर त्यसमा पानी झैं बगी भित्र भित्र छिचोल्ने कोशिश गर्ने कामको अभ्यास हाम्रो जीबनमा हुनुपर्दछ। कुनैपनि कामको छिटो सफलता प्राप्त गर्ने कोशिश नगर। यसबाट नै हाम्रो अबोन्नतीको मार्ग खुल्छ।
कुनै दुःख सुखको चिन्ता नगर। किनकि जीवन र प्रकृति परिवर्तनशील छ। संसारमा कुनैपनि कुराहरु स्थिर रहँदैनन्। यो सबै आउने र जाने नै हो। यहाँ हाम्रो धैर्यको खाँचो पर्दछ। धैर्यबान व्यक्तिले जीवनमा कहिल्यै दुःख र आपतको महशुश गर्दैनन्।
बितेका कुरा बिर्स, नयाँ कुराको सोच राख र भविष्यको चिन्ता नगर। किनकि भुत र भविष्य हाम्रो बस भन्दा बाहिरको कुरा हो। सक्छौ भने बर्तमानको बारेमा सोच। राम्रो सोच भएमा भविष्यको परिणामपनि अवश्य राम्रो हुन्छ।
हरेक कुराहरुलाई चुपचाप र शान्त मनले समाधान गर्ने उपाय गर। कुनै कुराको गुजुल्टोको गाँठो मष्तिस्कमा नझेल। दिमागलाई भरसक शान्त राख। दिमाग शान्त, मन शान्तले मानिसलाई शान्त बनाउँछ भन्ने ठूला ठूला सन्त र ज्ञाताहरुले आजका मानिसलाई सन्देश दिएका छन्।
तर अझ वास्तविक गहिराईमा जाने हो भने यो सबै जीवन दर्शनका कुराहरु जीवनको तथ्यसँग मेल नखानेपनि देखिन्छ। किनकि दर्शन एक छुट्टै विधा हो भने जीवनको तत्थ्य र संघर्ष छुट्टै कथा र ब्यथा हो। तत्थ्य पनि त्यही हो।
जीवनमा मौन रहनु, ध्यान गर्नु, दयावान हुनु, करुणामय रहनु, अरुलाई पटक्क दुःख नदिनु, धैर्यबान हुनु, नैतिकवान बन्नु, सधैं इमान्दार बन्नु यी सबै कुरा किताबमा पढ्दा बहुतै रोचकमात्र र अर्कालाई सन्देश दिनमात्र उपयुक्त हुने तर आफ्नै जीवनको ब्यबहारमा पर्दा यो कुरा कसले गर्न सकेको छ र?
यदि छ भने बिरलैमात्र देखिने हो। जीवन र जगतलाई एकै ठाउँमा राखी जीवन दर्शनको बोध हुने मानिसहरु संसारमा बिरलै पाइन्छन्। धेरै जसो मानिस सन्त महन्त र सदगुरु आध्यात्मिक दर्शनका अतिबादी देखिन्छन् भने कोही भौतिक बिकासको महमात्र चाटी यसैमा सन्तुष्ट देखिन्छन्।
यसो हेर्दा यो संसारमा आफ्नो निर्दिष्ट लक्ष्य बोकी हिँडेका मानिस धेरै कम देखिन्छन्। कोही गरिबी हुनमै मस्त छन्, कोही अरुलाई ठग्न र चुस्न मै मस्त छन्। कोही शक्तिको मातमा जनतालाई दबाएर आफ्नै सुख सयल गर्नमै मस्त छन्।
कोही संसार केही होइन भनी संसारदेखि भाग्नमा मस्त छन् भने कोही यस्तै हो संसार भनी जसो तसो जीवनलाई जसरी भएपनि चलाउनमै मस्त छन्। तर जीवनलाई कुन मोडमा या कुन मार्गमा डोहोर्याउनु पर्दछ भन्ने ज्ञान जाने तापनि प्रज्ञामा पुग्न भने थोरैले मात्र सकेका छन् जुन आजसम्म पनि गुप्त ज्ञानले परिभाषित छन्।
उदाहरणका लागि चीनका लाओत्से, नेपालका गौतम बुद्ध, युरोपका येशु क्राइस्ट, इस्लाम धर्मका पेगम्बर, जैनका जैन मुनि, सिखहरुका गुरु नानक र अन्य प्रतिष्ठित मानव गुप्त ज्ञानका नै मार्ग प्रदर्शक हुन्।
यिनीहरुकै जीवन दर्शनले आज अरु मानिस पिछलग्गु भएर हिँडेका देखिन्छन् जानेर होस् वा नजानेर। तर जे भएता पनि बोल्दै नबोल्नु भन्दा थोरै बोल्नु चाहिँ मानिसको जीवनमा अत्त्यंत श्रेयष्कर मानिन्छ।
ठूलाठूला दार्शनिकहरुले त्यस समयमा आफ्नो परिवेश अनुसार बनाएको दर्शन पढ्नु नराम्रो पक्कै होइन। तर, उनीहरुले प्रतिपादन गरेका हजारौं दर्शनका भाखा दोहोर्याई दोहोर्याई आफ्नो जस्तो गरी दर्शन बनाउनु कुनै पौरखको बिषय भने पक्कै होइन।
आफ्नै जीवन दर्शनलाई अपनाइ दया करुणा र सरलता भने जीबनमा अगाल्नु नै पर्दछ। सोच राम्रो र सकारात्मक हुनुपर्दछ। आहार र बिहार र संगत राम्रो हुनु पर्दछ। दुःखमा आत्तिने र सुखमा नपात्तिने नै मानिसको एकमात्र मानवताको कडी हो।
जीवनलाई धेरै दुःख दिने काम नगर र धेरै सुख दिने कामपनि नगर सरलता र सादगी बन र आफ्नो गर्नुपर्ने कर गर्दै गर। यसैबाट नै मानसिक चिन्ता हट्न गई जीबन धन्य बन्नेछ।
-शंकरप्रसाद रिजाल डीसी नेपाल बाट साभार