Wednesday 30th September 2026

रास्वपा नेतृ गोमा तामाङद्वारा राजनीतिक संन्यासको घोषणा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ गोमा तामाङ ले पार्टी परित्याग गर्दै सक्रिय राजनीतिबाट समेत अलग हुने घोषणा गरेकी छन्। कोसी प्रदेश अधिवेशनमा सभापति पदमा पराजित भएपछि उनले आफू गुटबन्दी, निषेध र आन्तरिक शक्ति संघर्षको सिकार बनेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले पार्टीभित्र योगदानको कदर नभएको, “माथिको ह्विप” का नाममा आफूलाई हराउन खोजिएको तथा विभिन्न सेटिङ र गुटगत राजनीतिले संगठनलाई कमजोर बनाएको दाबी गरेकी छन्। “हामीजस्ता सोझा व्यक्तिको राजनीतिमा भविष्य देखिएन,” भन्दै उनले अब राजनीतिक यात्रालाई यहीँबाट विश्राम दिने घोषणा गरिन्।

कोसी प्रदेश सभापति निर्वाचनमा चन्द्र बहादुर राई २८० मतसहित विजयी हुँदा तामाङले १४१ मत प्राप्त गरेकी थिइन्। निर्वाचनपछि बालेन शाह निकट उम्मेदवारको जित भएको चर्चा र पार्टीभित्रको ध्रुवीकरणले विवाद झन् सतहमा आएको बताइएको छ।

रास्वपाभित्रको यो विवाद नयाँ नभई पूर्वमहामन्त्री मुकुल ढकाल माथि कारबाही गरिएदेखि नै सुरु भएको भन्दै केही नेताहरूले नेतृत्व पक्षधर र फरक मत राख्ने समूहबीच लामो समयदेखि संघर्ष चलिरहेको बताएका छन्। सोही क्रममा विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरू कारबाहीमा परेका र धेरैले पार्टीसमेत छाडेको दाबी गरिएको छ।

तामाङको बहिर्गमनले कोसी प्रदेशमा रास्वपाको आन्तरिक एकता, संगठनात्मक व्यवस्थापन र नेतृत्व शैलीबारे नयाँ बहस सुरु भएको छ। निर्वाचन सम्पन्न भए पनि प्रदेश पदाधिकारीहरूको पूर्ण मत परिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...