Tuesday 15th September 2026

निषेधाज्ञा र कर्फ्यू पालना गर्न सेनाको आग्रह, अराजक गतिविधिमा कडा कारबाही गर्ने चेतावनी


नेपाली सेनाले देशभरको विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा र कर्फ्यू पालना गर्न आम नागरिकलाई अपिल गरेको छ। सेनाले आन्दोलनको नाममा हुने तोडफोड, आगजनी, लुटपाट, र हिंस्रक गतिविधिलाई दण्डनीय अपराध मानेर कडा कारबाही गर्ने चेतावनी दिएको छ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका लागि सबैमा सहकार्यको अनुरोध छ।’ हाल लागू निषेधाज्ञा भदौ २५ गते बेलुकी ५ बजेसम्म र त्यसपछि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने जनाइएको छ। परिस्थितिको विश्लेषणपछि थप सूचना जारी गरिने सेनाले उल्लेख गरेको छ।

निषेधाज्ञा र कर्फ्यूको समयमा अत्यावश्यक सवारी साधनहरू (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी) सञ्चालन गर्न सकिने र सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न आग्रह गरिएको छ। सेनाले आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सम्बद्ध पक्षहरूसँग समन्वय भइरहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको नाममा हुने प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी र व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई कडाइका साथ कारबाही गरिनेछ।’ सेनाले अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहबाट टाढा रहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैको सहयोगको अपेक्षा गरेको छ।

‘जस्तोसुकै परिस्थितिमा पनि नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध छौँ,’ सेनाले भने, ‘सुरक्षाकर्मीलाई सहयोग गर्न हार्दिक अपिल गर्छौँ।’


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...