Wednesday 18th June 2025

इरानको आकाश हाम्रो पूर्ण नियन्त्रणमा छ : डोनाल्ड ट्रम्प


एजेन्सी -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वलाई लिएर ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेपछि मध्यपूर्वमा थप लडाकु विमान र बी–५२ बमवर्षक विमान तैनाथ गर्ने निर्णय गरेका छन्।

ट्रम्पले इरानको फोर्डो परमाणु केन्द्रमा बंकर–बस्टर बम प्रयोग गर्ने योजना बनाइरहेको र इजरायली विमानहरूलाई तेल आपूर्ति गर्न ट्यांकर विमान प्रयोग गर्न सकिने बताइएको छ।

अमेरिकाले इरानको परमाणु कार्यक्रम अन्त्य गर्नु आफ्नो मुख्य लक्ष्य भएको बताएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानलाई बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिँदै मंगलबार राति पोस्ट गरेका थिए।

उनले लेखे, ‘अब हाम्रो इरानको आकाशमाथि पूर्ण नियन्त्रण छ। हामीलाई राम्रोसँग थाहा छ सर्वोच्च नेता (अयातोल्लाह अली खामेनी) कहाँ लुकेर बसेका छन्। उनीसम्म पुग्न सजिलो छ, तर हामी अहिले उनलाई मार्ने छैनौँ ।’ आफ्नो तेस्रो पोस्टमा उनले लेखे, ‘बिनासर्त आत्मसमर्पण !’

यसबीच इरानका सर्वोच्च नेता खामेनीले सामाजिक सञ्जाल एक्समा जवाफी पोस्ट गरेका छन्। उनले भने युद्ध सुरु भएको भन्दै लेखेका छन्, ‘हामीले आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ। हामी यहूदीहरूमाथि कुनै दया देखाउने छैनौँ।’

पाँच दिनदेखि जारी लडाइँमा इरानमा दुई सय २४ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ८१ जना घाइते भएको बताइएको छ। इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सय बढी घाइते भएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले युद्धविरामको पक्षमा जोड दिँदै वार्ताको आवश्यकता रहेको बताएका छन्। जोर्डनका राजा अब्दुल्लाहले यो द्वन्द्वले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्।

यो युद्धले तेलको मूल्यमा ७।५ प्रतिशतको वृद्धि भएको छ, जसले वैश्विक अर्थतन्त्रमा असर पार्न सक्छ।


सम्बन्धित शीर्षकहरु

जेरुसेलम: इरानी वायुक्षेत्रको यहूदी कमाण्डले यसको विस्तारित बमबारी मार्गमा केही बाधाहरू छोडेको छ, यद्यपि अमेरिका आक्रमणमा सामेल नभएसम्म गहिरो रूपमा…

तानसेन नगरपालिका–५ स्थित छापथोकको गुर्जुडाँडामा सार्वजनिक स्थलमा महिनौँदेखि च्यातिएको अवस्थामा फरफराइरहेको थियो नेपाली राष्ट्रिय झण्डा। देशको अस्मिता, पहिचान र स्वाभिमानको…

ईन्डोनेशिया स्थित माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखीले हावामा ६.८ माइल अग्लो खरानीको बादल फ्याँकेको छ। पूर्वी नुसा तेङ्गारा प्रान्तको पहाडबाट…

प्रतिकृयाहरू
...