Tuesday 17th June 2025

ट्रम्पले भने– सबैले तुरुन्त तेहरान खाली गर्नू, के हो यसको अर्थ ?


बीबीसि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ‘ट्रुथ सोसल’मार्फत तुरुन्त तेहरान खाली गर्न भनेका छन् । उनले पोष्टमा लेखेका छन्, ‘सबैले तुरुन्त तेहरान खाली गर्नू’ ।
यसअघि आज नै इजरायली अधिकारीहरूले तेहरानको उत्तर–पूर्वी भागका बासिन्दाहरूलाई सैनिक केन्द्रहरूमा आक्रमण गर्ने योजना भएको दाबी गर्दै क्षेत्र खाली गर्न आग्रह गरेका थिए ।
ट्रम्पले आफ्नो पोष्टमा अमेरिका–इरान परमाणु वार्ताको अन्तिम चरणमा उनले प्रस्ताव गरेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपथ्र्यो भनेका छन् ।
“सरल भाषामा भन्दा इरानसँग परमाणु हतियार हुनै हुन्न । मैले यो बारम्बार भनेको छु,” उनले लेखे ।
ट्रम्पको भर्खरको पोष्टले इरानलाई वार्तामा बस्न दबाब दिन खोजेको देखिएको सीएनएनले जनाएको छ ।
ह्वाइट हाउसको एक स्रोतले अमेरिकी समाचार नेटवर्क सीएनएनलाई बताएअनुसार ट्रम्पले तेहरानका बासिन्दाहरूलाई तुरुन्त खाली गर्न आग्रह गर्दै गरेको पोष्टले इरानले चाँडै वार्तामा बस्नुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।
जी–७ शिखर सम्मेलन बीचैमा छोडेर ह्वाइट हाउस फर्किंदै ट्रम्प
सीएनएनका अनुसार क्यानडाको रकी पर्वतमा भइरहेको जी–७ शिखर सम्मेलनको बीचमा सोमबारदेखि नै ट्रम्पले इजरायल र इरानबीचको परिस्थितिको नियमित अपडेट लिइरहेका छन् ।
यसअघि ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता गरेर यो संघर्षलाई अन्त्य गर्नसक्ने संकेत दिएका थिए । “यहाँबाट निस्किएपछि हामी केही गर्दैछौँ,” उनले भने । यो शिखर सम्मेलन मंगलबार समाप्त हुनेछ ।
इरानका विदेश मन्त्री अब्बास आराघचीले आज नै सामाजिक संजालमार्फत ट्रम्प कूटनीतिमा इमान्दार छन् र युद्ध रोक्न चाहन्छन् भने वासिंगटनबाट एउटा फोन कलले नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नियन्त्रणमा ल्याउनसक्ने बताएका थिए ।
तर, अमेरिका यो संघर्षमा फसेको र यसले कुनै पनि वार्तामार्फत समाधानको सम्भावनालाई नष्ट गर्ने पनि उनले चेतावनी दिए ।
अमेरिकाको वाशिंगटन डीसीस्थित थिंक ट्यांक सेन्टर फर इन्टरनेसनल पोलिसीका कार्यकारी उपाध्यक्ष म्याथ्यु डसले तेहरानका सम्पूर्ण जनताले सहर खाली गर्नुपर्छ भन्ने ट्रम्पको चेतावनी डरलाग्दो भएको बताए ।

इरान र इजरायलबीच आक्रमण जारी, राजधानी तेहरानमा विस्फोट
“यो १५ लाखभन्दा बढी जनसंख्या भएको महानगरीय क्षेत्र हो । यस्तो ठूलो सहर खाली गर्न असम्भव छ । विशेषगरी जब पेट्रोल पम्पहरूमा इन्धन नै उपलब्ध छैन । मानिसहरूले पैदल नै भाग्नुपर्ने अवस्था छ,” डसले अलजजिरालाई भने ।
“तर दुर्भाग्यवश, ट्रम्पले के कुरा गम्भीरतापूर्वक भन्छन् भन्ने बुझ्न गाह्रो छ । यद्यपि, अमेरिकी राष्ट्रपतिबाट यस्तो भाषा आउनु अत्यन्तै चिन्ताजनक छ । हामी सबैले चिन्ता व्यक्त गर्नुपर्छ,” उनले थपे ।


सम्बन्धित शीर्षकहरु

असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म…

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको…

पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक…

प्रतिकृयाहरू
...