Tuesday 1st September 2026

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने


प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्।

प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बैठकमा जनता दल (युनाइटेड) प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ। भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा २ सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीहरूमा निर्भर रहनुपर्नेछ। भारतको निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र कांग्रेसले ९९ सिट जितेका छन्।

भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो।

एनडिएको बैठकमा भाजपा अध्यक्ष जेपी नड्डा, भाजपा नेता अमित शाह, राजनाथ सिंह, जनता दल (युनाइटेड) प्रमुख नितिश कुमारलगायत भाजपाका सहयोगीहरू तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडू, शिवसेना प्रमुख एकनाथ शिन्दे, जनता दल (युनाइटेड) लगायतका नेताहरू सहभागी थिए।

बैठकमा धर्मनिरपेक्ष नेता एचडी कुमारस्वामी, जनसेना पार्टी प्रमुख पवन कल्याण, लोक जनशक्ति पार्टी (रामविलास) प्रमुख चिराग पासवान, राष्ट्रवादी काङ्ग्रेस पार्टी (अजित पवार गुट) नेता प्रफुल्ल पटेललगायत अन्य एनडीए निकट दलहरूको सहभागिता थियो।

यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गरेकी छन्।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए। राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन्।

त्यस्तै विपक्षी गठबन्धन इन्डिया ब्लकको बैठक बुधबार साँझ दिल्लीमा बोलाइएको छ। काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावी नतिजा र त्यसपछिको रणनीतिबारे छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्ने बताए।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...