पञ्चाङ्ग चित्रपट : भाग: १८
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०३/०९
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक
—————-
सविता के.सी.
समायोजन
————-
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठारौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पञ्चाङ्ग लेखेर पठाउनुहुने सबै सर्जकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग १
चराका बचेरा गुँडमा नै सुके जस्तै छ
हुर्कन नपाएर नै तेतै नै लुके जस्तै छ
याे प्रकृतिकाे लिला पनि कति अनाैठाे छ
हुर्कनै नपाइ कालसँग झुके जस्ताे छ
दुखि संसार देख्नै नपाइ फुके जस्ताे छ ।
मधुसूदनप्रसाद घिमिरे
पञ्चाङ्ग २
सपनाको प्रहर छ
मनभित्र लहर छ
सारा युगलाई हेर्ने
गाउँसँगै सहर छ
बचेराको रहर छ ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ३
जन्म मात्र भयो कठै ज्यान बचाउन पाएनन्
स्वतन्त्र आकाशमा उडेर सजाउन पाएनन्
प्रकृति उत्पत्ति गर्छ प्रकृति नै विनाश गर्ने
कस्तो कर्म आफ्नै सन्तान ती हँसाउन पाएनन्
सुनौलो संसारमा भविस्य बनाउन पाएनन् ।
तारा घिमिरे
पञ्चाङ्ग ४
बचेरा ती आमको आशमा बसेकाछन्
सानो नानो दानाको गाँसमा बसेकाछन्
हावाहुरी रुखमै आमाको काख प्यारो
कहर अनि डर-त्रासमा बसेकाछन्
आफ्नै समुदायको मासमा बसेकाछन् ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ५
प्रकृतिमा अभिभारा छैन
वृद्धीको बेलामा चारा छैन
प्रकृति पनि कति निर्दयी
बतासको राम्रो पारा छैन
बचेराको त सहारा छैन ।
कमला देवकोटा
पञ्चाङ्ग ६
बाँच्ने जिउने रहर थियो
आफ्नै एउटा सहर थियो
निर्दयीको जालमा परेछु
एक अर्काको कहर थियो
सानो एउटा टहर थियो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ७
चरालाई चारो पुऱ्याउन गाह्रो प्रकृति साह्रो छ
एक मुठी सास राख्नलाई पनि यतिको गाह्रो छ
बचेरा भोक भोकै बसेका शोकै शोकमा परेका
शिकार खेल्ने शिकारी दाइको ता हातमा तारो छ
खाली छ पेट भोकले माऱ्यो नी मुखमा न चारो छ ।
गुणनिधि घिमिरे , खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ, हाल अमेरिका
पञ्चाङ्ग ८
प्रकृतिले पनि गर्छ अचम्म छल बुझ्नै सकिएन
बचेराहरू नि तड्पिन्छन् पलपल बुझ्नै सकिएन
हिउँद भनूँ या वर्षात यही भाग्य पनि आजभोलि
क्षणमै घाम क्षणमै लाग्छ बादल बुझ्नै सकिएन
भोगेको छु पीडाहरू यस्तै अटल बुझ्नै सकिएन ।
प्रेम थापा, बागलुङ ।
पञ्चाङ्ग ९
गाँस,बास,कपास र आवश्यकताको मोड्ने कहर सबैलाई
आरामविना जाग्राम भय शिर ओताउने रहर सबैलाई
हुनेको हालीमुहाली देखिन्छ सधैँ नहुनेको आ- आफ्नै बाध्यता
वर्षामा अोतिन पनि नसक्दा पिउँ कि हुने जहर सबैलाई
कसैलाई कसैको वास्ता छैन बिरानो हुने शहर सबैलाई ।
जमुना आचार्य, सिन्धुपाल्चोक
पञ्चाङ्ग १०
खटेप्वाल भएका घर हुन्थे, बास पाउने गाउँ भएन
वनजङ्गल सबै मासिए सन्तान निकाल्ने ठाउँ भएन
जता मिल्छ ठाउँ उतै ओथारा एक अण्डा हरायो बिचरा
जताततै मानव सभ्यताका कुरा चराको नाउँ भएन
आफ्नो प्रकृति आफ्नो भूमि छाडेर अन्त कतै जाऊँ भएन ।
सविता के.सी.
पञ्चाङ्ग ११
१
अर्कोलाई दुःख पर्दा खेल जस्तो लाग्छ
सत्य कुरा खुलाउँदा झेल जस्तो लाग्छ
भाेग्छौ तिमी आफैंले अनि आउँछ झल्काे
आमाबाकाे अर्ती यहाँ नेल जस्तोलाग्छ
अकाल मृत्यु वरण फेल जस्तोलाग्छ
२
मायाको जालाेमा नै याे संसार बलेकोछ यहाँ
एकलाई थेग्नका लागि अर्को चलेको छ यहाँ
ए मृत्यु नचूँड हेर दुधे बालाेकाे आमालाई
तेरो अधमले कसैको घर जलेकाेछ यहाँ
सारा सपना छिनभरमा नै ढलेकाेछ यहाँ ।
भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १२
अरु कुनै संसार छैन जाउँ भने पर कठै
घाम पानी ओतिनलाई छैन ईन्को घर कठै
जेल जाल पारेर बनाएको यही गुँड पनि
चारो खोज्न जानूनै पर्ने बच्चा छाडि कर कठै
कति बेला कुन पापीले मार्ला भन्ने डर कठै
चेतना पोखरेल, मोरङ
पञ्चाङ्ग १३
सन्तान सृष्टिकाे जिम्मेवार सबैलाई दिएकाे छ
हरेक पशुपक्षी जनावरले जिम्मा लिएकाे छ
जन्माएर मात्र हुन्न बस्ने ठाउँ पनि चाहियाे नि
यसैले यहाँ छुट्टै घरहरू रुखमा सिएकाे छ
हुर्काउन स्तनधारीले भने दूध नै पिएकाे छ
ताेयानाथ सुवेदी, काँडाघारी,काठमाडौं ।
पञ्चाङ्ग १४
माउचरी पापिष्ट शिकारीको जालमा परेपछि
कठै भोकै मरे ती बचेराहरु अामा मरेपछि
जति धन भएपनि स्वार्थी मनु लोभी पापी भए
मानव मनमा दानवताको क्रुरता सरेपछि
के पुन्य होला तिनलाई निर्दोष प्राण हरेपछि ।
शोभा शाह थापा,
हेटौंडा ,मकवानपुरका ।
पञ्चाङ्ग १५
बस्दैछन् गुँडमा खुला छ नभमा छायाँ छ अामा भनी
चारा आश गरेर दृष्टि जगमा माया छ अामा भनी
चारैतर्फ घुमाइ शीर जहिले हेर्छन् नि अाकासमा
च्याँच्याँच्याँ गरि अास बस्छ जहिले दायाँ छ अामा भनि
हुर्कन्छन् बचरा दिएर ममता काया छ अामा भनी
सुरेश चन्द्र घिमिरे, काठमाडौँ ।
पञ्चाङ्ग १६
जन्मिएर पनि यहाँ ज्यान बचाउन सकेनन्
आकाशमा उडेर संसार सजाउन सकेनन्
हरेक प्राणीमा संन्तान सृष्टि जिम्मेवारी हुन्छ
हारेको कर्मले होला आफ्नै हसाउँन
सकेनन्
सुनौलो दुनियाँमा भविष्य बनाउन सकेनन् ।
दुर्गा भट्टराई, मोरङ ।