Sunday 12th October 2025

साहित्यकार नारायण कोइरालाको लघुकथा सङ्ग्रह ‘मरूभूमिमा विस्फोट’ विमोचन


तीतोपाटी – विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो ।

समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन गरेको छ । उक्त कृति शीत काव्य समाज पाल्पाले चौथो कृतिका रुपमा लोकार्पण गरेको हो ।

शीत काव्य समाज नेपालका राष्ट्रिय उपाध्यक्ष समेत रहेका साहित्यकार कोइरालाको उक्त कृति प्रमुख अतिथि तथा देवकोटा साहित्य परिषद पाल्पाका अध्यक्ष भागवत खनालले लोकार्पण गरेका हुन् । लघुकथाको लोकार्पण गर्दै प्रमुख अतिथि खनालले लघुकथा समय सान्दर्भिक रहेको बताए । उनले पाठकलाई एक पटक कथा अध्ययन गर्न समेत आग्रह गरे । अध्यक्ष खनालले कुनै पनि लेखकले प्रकाशित गरेका कृति पाठकले अध्ययन गर्नु शिष्टाचार रहेको बताउदै उपस्थित सम्पूर्णलाई उक्त कृति पढ्न आग्रह गरेका हुन् ।

कार्यक्रममा लेखक तथा कथाकार नारायण कोइरालाद्वारा लिखित लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ माथि समीक्षा गर्दै साहित्यकार तथा समिक्षक डा. शंकर प्रसाद गैरेले कथामा मानवेत्तर वस्तुहरूलाई मानवीयकरण गरिएको, व्यङ्ग्य चेतना र समाजिकीकरण जागृत भएको, ससाना घटनाक्रमहरूलाई पनि सटिक रूपमा प्रस्तुत गरिएको बताए । कृति भित्र ५६ वटा लघुकथाहरू संग्रहित रहेका छन् ।

शीत काव्य समाजका राष्ट्रिय अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले शीतको जन्म भएको करिव चार महिना भित्रै चारवटा कृति विमोचन गर्न पाउँदा शीतले व्यापकता पाउनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रकाशित लघुकथा संग्रह शोध, खोज, सोंच र ओजपूर्ण रहेको भन्दै कृतिको थप सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्याल लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए । लेखक कोइरालाले प्रदेशमा भए पनि आफ्नो साहित्यिक यात्रालाई थप सशक्त बनाएर लैजाने बताएका छन् । शीत काव्य समाज नेपालको राष्ट्रिय समिति गठन भएसंगै विभिन्न प्रदेशका साथै पाल्पा जिल्लामा समेत शीत काव्य समाज गठन भएको छ । यस अघि तीनवटा शीत कृति लोकार्पण गरिसकेको समाजले यस पटक लघुकथा संग्रह प्रकाशन गरी लोकार्पण गरेको हो । समाजको अध्यक्ष इन्दिरा ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष गुणवती केसीको स्वागत र शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...