Sunday 29th March 2026

अधिकांश वैदेशिक रोजगार कम्पनी खारेजीको जोखिममा


तितोपाटी- वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् । विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी व्यवस्थाअनुसार नवीकरण गर्न दिए करिब १५ प्रतिशत कम्पनी मात्रै वैधानिक रहनेछन् ।
विभागले वैदेशिक रोजगार ऐनअनुसार आव २०७६/७७ मा एक सय र २०७७/७८ एक सय श्रमिक पठाएको प्रमाणसहित दर्ता नवीकरणका लागि आह्वान गरेको छ तर १२३ वटा कम्पनी मात्रै पछिल्ला दुई आर्थिक वर्षमा दुईभन्दा बढी श्रमिक विदेश पठाउन सफल भएका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले ऐनअनुसार कागजात पूरा गर्न नसक्ने कम्पनीको नवीकरण गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐनमा एक वर्षमा एक सय श्रमिक पठाउन नसक्नेको स्वतः खारेजी हुने व्यवस्था छ, कि ऐन संशोधन हुनुप¥यो कि खारेजी गर्नुप-यो । ” उहाँका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा दुई सय श्रमिक नपठाएका कागजपत्र पेस गर्न नसक्ने कम्पनीको नवीकरण गर्न सकिँदैन । “व्यवसायीले महामारीलाई कारण देखाएर राहत मागेका छन् । सरकारले उनीहरूको मागअनुसार विशेष निर्णय गरेन भने विदेश पठाउन तोकिएको वार्षिक श्रमिक सङ्ख्या नपुगेका कम्पनी खारेजीमा जान्छन्,” महानिर्देशक दवाडीले थप्नुभयो ।
वैदेशिक रोजगार व्यवसायीले खारेजी रोक्न भन्दै श्रममन्त्री र प्रधानमन्त्रीसम्म पुगेर आग्रह गरेका छन् तर यसको कुनै पनि प्रक्रिया अगाडि बढेको देखिँदैन । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले ठूलो सङ्ख्यामा रहेका कम्पनी न्यूनतम श्रमिक कोटाले समस्यामा परेकाले समस्या फुकाउन सरकारसँग पहल भइरहेको बताउनुभयो ।
सरकारले गत वर्षजस्तै गरी महामारीको अवस्थालाई हेरेर दर्ता नवीकरणको सर्तमा राखिएको बाधा अड्काउ नफुकाएमा ८५ प्रतिशत कम्पनी समस्यामा पर्ने उहाँको भनाइ छ । २०७७ असार अन्तिम साता सरकारले एक सय जना श्रमिक पठाउन नसकेका कम्पनीको पनि इजाजतपत्र एक पटकलाई नवीकरण गर्ने निर्णय गरेको थियो ।
महामारीले विदेशबाट न्यून माग आएको र वैशाखपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेकाले श्रमिकहरू विदेश जान नपाएको सङ्घका महासचिव श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले ऐन नै संशोधन गरेर यस्तो तोकिएअनुसार न्यूनतम सङ्ख्यामा श्रमिक पठाउनुपर्ने अव्यावहारिक व्यवस्था हटाइनुपर्ने बताउनुभयो तर अहिले संसद् नरहेकाले मन्त्रिपरिषद्बाटै बाधा अड्काउ फुकाउको निर्णय गरेर म्यानपावर कम्पनीहरू बचाउनुपर्ने सङ्घको माग छ । सरकारले अनुमतिपत्रवाला कम्पनीको धरौटी रकम वृद्धि गर्दै वर्षमा सय जना श्रमिक पठाउन नसक्ने म्यानपावरको दर्ता नवीकरण नगर्ने गरी २०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गरेको थियो ।- साभार गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...