Saturday 21st November 2026

प्रधानमन्त्री ओलीद्वारा थापालाई विजय गराउन आग्रह


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन् ।

उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदातालाई आग्रह गरे। वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ। उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको सहयोग छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले २०७७ फागुन २३ गते एमाले पुनःस्थापना भएपछि हुन लागेको निर्वाचनको विशेष महत्व रहेको र यसले आफ्नो पार्टीको सामथ्र्य, एकता र अनुशासनलाई स्थापित गर्ने बताए।
उनले निर्वाचनमा एकताबद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे। “जेठ ६ गते वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ”, उनले अपिलमा भनेका छन्,“उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनुहुन आग्रह गर्दछु ।”

उपनिर्वाचनमा एमालेका उम्मेदवारका पक्षमा मतदान गर्न पार्टीका तर्फबाट महासचिव ईश्वर पोखरेलद्वारा पनि मतदाता रहेका जनप्रतिनिधिलाई निर्देशन जारी भइसकेको छ । प्रधानमन्त्री ओलीले अपिलमा भने, “२०७५ साल जेठ ३ गते एकीकरण भएको तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ । ”
पार्टी अध्यक्ष ओलीले प्रत्येक चुनौतीपूर्ण घडीमा हामीले आफूलाई उम्मेदवार बनाउने पार्टीको निर्देशनलाई पालना गर्नु, आफूलाई जिताउन अहोरात्र खट्ने कार्यकर्ताको भावनालाई सम्मान गर्नु र जनतामाझ आफूले गरेका वाचाप्रति हमेशा वफादार रहनु सबैको कर्तव्य रहेको बताए।

“पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौंँ जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो”, उनले भने, “यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।”


सम्बन्धित शीर्षकहरु

लन्डन, नोभेम्बर २१। विश्वकै घातक र उपचार गर्न कठिन मानिने अग्न्याशय (प्यान्क्रियाज) को क्यान्सर उपचारमा वैज्ञानिकहरूले नयाँ आशाजनक उपलब्धि हासिल…

बङ्गलादेशको नाराइल जिल्लामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताले गरेको भनिएको आक्रमणमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई स्थानीय नेताको हत्या भएको…

म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि सन् २०१७ मा गरेको सैन्य दमनलाई नरसंहार ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले ऐतिहासिक फैसला…

प्रतिकृयाहरू
...