Monday 30th March 2026

लघुकथाः पश्चाताप -घनश्याम पाैडेल


भर्खर काठमाडौबाट आई पुगेका आइतमान आँगनबाट कराउँछन। ” बुढी ! ए बुढी ! सलाई र मट्टीतेल लिएर आईज ।”
“बेला न कुबेला किन चाहियो सलाई?”
आइतमानले श्रीमतीको कुराको वास्तै गरेनन।आफ्नो अगाडिको पार्टीको पुरानो झण्डा, पर्चा, किताब र घोषणा पत्रमाथि रिसाएको भावमा एकोहोरो हेरी रहे।आँखाबाट पश्चत्तापका बलिन्द्र धारा बगीरहे।
आइतमान गाउँकै स्कुलमा पढाउने एक मेहनती शिक्षक हुन।उनी जीवनभर बालबालिकाको उज्ज्वल भविष्यका लागी निरन्तर कार्यरत रहे।समय बित्दै गयो ,उमेरले डाँडो काट्यो।नोकरीबाट अवकास भयो।निर्वृत्ती भरण र पेन्सन पट्टाको लागी काठमाडौ जानू पर्ने भयो।
गाउँमा सम्मानित भए पनि जिल्ला सदरमुकाम बाहिरको काम उनको लागि फलामको चिउरा थियो।
उनको स्मरणमा झट्ट एउटा नाम आयो” रण बहादुर “! रण बहादुर उनको पुरानो चिनजानको मान्छे हो। पार्टी भुमिगत हुँदाको समयमा रण बहादुर आइतमानको घरमा सेल्टर बनाएर बसेको थियो। रण बहादुरमा त्यो समयमा निकै गरीबी र अभावमा थियो।आइतमानका पूराना जुत्ता चप्पल र लुगा लगाएर आङ ढाक्ने र आइतमानको घरमा पाकेको ढिडो रोटी खाएर भोक टार्ने गर्थ्यो।
रण बहादुरले दिएको प्रशिक्षणबाट आइतमान प्रभावित भए।सामन्त र बुर्जुवाको अन्त्य गरेर राज्य सत्ता कब्जा गर्ने, सामन्तको खेतमा पाकेको बाली लुटेर किसान आन्दोलन गर्ने कुरा थिए।
पार्टीले राज्यसत्ता प्राप्त गरेपछि सामन्त र भूमिपतिको जग्गा कब्जा गर्ने। धनी र गरीबको विभेद अन्त्य गर्ने। सबैलाई खान,लगाउन ,शिक्षा ,स्वास्थ ,रोजगारीको ग्यारेन्टी गर्ने कुरा थिए। यिनै कुराले प्रभावित भएका आइतमानले पार्टीको संगठन प्रशिक्षण गर्न लागे।पार्टीको संगठन बलियो बनाए। देशभर क्रान्ति भयो।निरंकुश राज्य सत्ता हटेर नयाँ राजनीति परिवेश सुरु भयो।
रण बहादुरसँगको पुरानो नाता संझदै फोन गरे।रण बहादुरले काठमाडौ आउनु म सहयोग गर्छु भनेर वचन दियो। काठमाडौको बस पार्क पुगेर रण बहादुरलाई फोन गरे।बस्तै गर, म लिन आउँछु भन्यो।केहि समयमा नै एउटा चिल्लो कार आएर उनलाई भव्य महलको कम्पाउन्डमा छिरायो।
आइतमानलाई बैठक कोठामा बस्न नै असजिलो लाग्यो। कति सुन्दर पाँच तले महल,सबैतिर मार्वल लगाएको छ।भान्सा घर,बाथरुम छुँदा बस्दा मयल लाग्ला जस्ता छन। खानामा अनेक परिकार छन। सुत्ने बेलामा बिदेशी रक्सीको स्वागतले उनलाई कुनै अर्को संसारमा पुगेको अनुभुती हुन्थ्यो ।
रण बहादुरले तीन दिनमा सबै काम सकाएर बिदा गर्यो। घर फर्कन बस चढे पनि रातभर रण बहादुर संझी रहे।हिजो र आजको जीवन स्तरको तुलना गरे।गाउँलाई फर्केर हेरे।आफैंलाई संझेर लाज लाग्यो।हिजो कुरा, गरीब सर्वहाराको जीवन परिवर्तनको कथा अनि खान लगाउन पुर्याउने छिमेकीलाई सामन्त सर्वहारा भन्दै धान लुटेको कुन्युंँ जलाएको घट्नाले गिज्याई रहे जस्तो लाग्यो।
जिल्ला सदरमुकामबाट गाउँतिर बाटोमा हिड्दा उनले नयाँ अठोट गरे।घरमा पुगेर पहिले पार्टीको झण्डा र कागजातको व्यवस्थापन गर्नेछु।गाउँमा गएर जुठे धने साईला ठाईलालाई मैले दिएको प्रशिक्षण भ्रम रहेछ भन्नेछु। हर्के साहुको पाउ समाएर बेंसी खेतको धान लुटेको र कुन्यु जलाकोमा माफी माग्नेछु अनि उनलाई मार्न गरिएको योजना र ऊनी बाँच्न सफल भएको दृष्टान्त सुनाउनेछु।

घनश्याम पौडेल
माइजोगमाइ-१ नयाँबजार ,इलाम
२०७८/१/२९


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...