Monday 3rd August 2026

कोरोना कहर : अन्तर्राष्ट्रिय उडान कहाँ खुला, कहाँ बन्द?


तितोपाटी- कोरोना भाइरसको दोस्रो लहरसँगै विश्वभरिका देशहरूले सतर्कता अपनाउन थालेका छन्। त्यसै क्रममा संक्रमित बढी भएका देशबाट मानिसहरू आउन प्रतिबन्ध, आन्तरिक तथा बाह्य उडानहरूमा रोक लगाउनेजस्ता कदम विभिन्न देशका सरकारले लिँदै छन्।

अहिले संसारका सुडान, मौरिसियस, मोरक्को, क्यानडा, उरुग्वे, भेनेज्वेला, भारत, भुटान, इरान, इजरायल, मलेसिया, म्यानमार, थाइल्यान्ड, हंगेरीलगायत देशहरूले संसारका अरू कुनै पनि देशबाट मानिसहरू आउन रोक लगाएका छन्। यी देशहरूमा अन्तर्राष्ट्रिय उडान बन्द छ।

अर्जेन्टिना, पेरु, संयुक्त राज्य अमेरिका, चीन, हङ्कङ्, दक्षिण कोरिया, अष्ट्रिया, बेल्जियम, साइप्रस, क्रोएसिया, डेनमार्क, फ्रान्स, ग्रीस, इटाली, जर्मनी, नर्वे, पोल्यान्ड, पोर्चुगल, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, रुस, संयुक्त अधिराज्य, न्युजिल्यान्ड,अस्ट्रेलियालगायत देशहरूले आंशिक रूपमा आफ्ना सिमानाका खुला राखेका छन्। यी देशहरूमा जोखिम भएका देशबाहेकका लागि मानिसहरूको आवतजावत र अन्तर्राष्ट्रिय उडान आवश्यक सतर्कतासहित खुला गरिएको छ।

संसारका आधाभन्दा बढी देशहरूमा देशबाहिरबाट मानिसको आवतजावत र अन्तर्राष्ट्रिय उडानमा रोकटोक छैन। देशअनुसार सतर्कताका उपाय र सर्तहरू भने अपनाइएको छ। कंगो, इजिप्ट, घाना, केन्या, बोलिभिया, ब्राजिल, क्युबा, कोलम्बिया, चिली, अफ्गानिस्तान, जोर्डन, लेबनन, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, युक्रेन, टर्की, र आयरल्यान्डलगायतका देशहरू यस सूचीमा रहेका छन्।

भारतमा कोरोनाको दोस्रो लहर भयावह रूपमा प्रस्तुत भएको छ। शनिबार मात्र भारतमा ४ लाखभन्दा बढी संक्रमित भेटिए जुन संसारभरमा अहिलेसम्मकै उच्च संक्रमण दर हो। हङ्कङ, संयुक्त अधिराज्य, युएई, क्यानडा, पाकिस्तान, न्युजिल्यान्ड, इरान, अस्ट्रेलिया, नेदरल्यान्ड्स र थाइल्यान्डले भारतबाट हुने सबै उडानमाथि प्रतिबन्ध लगाइसकेका छन्। अस्ट्रेलियाले त भारतबाट फर्कने नागरिकलाई पाँच वर्ष जेल वा ६६ हजार डलर जरिवाना वा दुवै हुनसक्ने सम्मको कठोर कानुन ल्याएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। आइतबारको मन्त्रिपरिषद्को बैठकले सोमबार रातिदेखि आन्तरिक उडान बन्द गरेको छ भने वैशाख २२ भारतलगायत उच्च संक्रमण फैलिएका देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकामा गएको बिहीबारदेखि निषेधाज्ञा लागू भएको थियो। सार्वजनिक यातायातमा रोक लगाइए पनि आन्तरिक उडान भने खुला राखिएको थियो । अन्तर्राष्ट्रिय उडान सम्बन्धी भने सिसिएमसीले कुनै किसिमको सिफारिस अघि सारेको छैन।

सिसिएमसीले भारतसँग जोडिएका ३५ मध्ये २२ वटा नाका तत्काललाई बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ। बाँकी १३ वटा नाका पनि पूर्ण स्वास्थ्य सावधानीका साथ सञ्चालन गर्ने निर्णय सिसिएमसीको छ।

नेपालमा आइतबार मात्र ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जुन हालसम्मकै उच्च दैनिक संक्रमित संख्या हो। काठमाडौं उपत्यकामा मात्रै एकैदिन ३ हजार ५९५ संक्रमित फेला परेका छन्। यस्तो अवस्थामा सीमा नाका तथा आन्तरिक र बाह्य उडानसम्बन्धी सरकारले लिने निर्णय महत्वपूर्ण हुने देखिन्छ।- केन्द्रबिन्दुबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेतले आज, आइतबार, सन् १९९० अगस्ट २ मा भएको इराकी आक्रमणको ३६औँ वार्षिकोत्सव मनाएको छ। कुवेतको इतिहासमा यो दिनलाई राष्ट्रिय…

कुवेत सरकारले विदेशीहरूको बसोबाससम्बन्धी नियममा संशोधन गर्दै भिजिट (Visit) भिसालाई नियमित रेसिडेन्सी (Iqama) मा रूपान्तरण गर्न १५० कुवेती दिनार (KD…

युरोपको सीमामा पछिल्ला दिनहरूमा देखिएको ठूलो दबाब केवल युक्रेन वा रुसका कारण होइन, अफ्रिकाबाट आउने आप्रवासनले पनि नयाँ चुनौती थपेको…

प्रतिकृयाहरू
...