Friday 14th August 2026

नेपाल चिकित्सक संघले भोली देशभरका अस्पतालमा अाकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने


तितोपाटी – नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो। साथै राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गर्नेसमेत उसले जनाएको छ।

‘एक दिन बन्द गर्दा देशभरका स्वास्थ्यकर्मीको आवाज सरकारले सुन्छ भने हामी त्यसको लागि तयार छौँ’ बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ‘एक दिने बन्दपछि पनि सरकारले चासो नदिएमा त्यसपछि अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने छौँ।’

डा. केसीले सरकारले हालै संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि डा. केदारभक्त माथेमाको संयोजकत्वमा यस सम्बन्धमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन्। उनी विगत १९ दिनदेखि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरन छन्। यो उनको १६ औं अनशन हो।

सरकारले सोमबार साँझ डा. केसीका प्रतिनिधिसंग वार्ताका लागि टोली गठन गरेको छ। डा. केसीका प्रतिनिधि र टोलीबीच दुई पटक अनौपचारिक छलफल भएपनि सहमति भएको छैन। डा. केसी संसदबाट विधेयक फिर्ता हुनुपर्ने अडानमा छ भने सरकारी पक्षले उनलाई जुम्लाबाट काठमाडौं आउन तयार हुनुपर्ने बताउँदै आएको छ।


सम्बन्धित शीर्षकहरु

- राज मल्ल कुवेतमा नेपालीको संख्या पछिल्लो समय करिब दुई लाखको हाराहारीमा पुगिसकेको छ। यो केवल एउटा संख्या होइन, लाखौँ…

कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट…

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी…

प्रतिकृयाहरू
...