Wednesday 9th September 2026

कविता: समय चक्र – छन्द: इन्दिरा -हरि शर्मा (गलकोटे कवि)


असुर भावले वंश मेटिने
असल कर्मले लक्ष भेटिने
तरल जिन्दगी झट्ट पोखिने
सफल कार्यले चाह मेटिने ।१। 🌷🙏🌺

अटुट जीवनी कर्म साथमा
असल व्यक्तिको फूल हातमा
कपट दुष्टको बात बातमा
कुलत मूर्खको रात रातमा ।२। 🌷🙏🌺

सफल बन्नको चाहना बिना
फगत पापको कर्ममा किन
अटुट रूपमा साधना नभै
कलह झिक्दछन् मूर्खले सँधै ।३। 🌷🙏🌺

प्रकृति चल्दछिन् सत्य साथमा
रगत चाल्दछिन् विन्दु विन्दुमा
असल पुग्दछ्न् देवघाटमा
अतिथि पुज्दछन साँझ रातमा।४। 🌷🙏🌺

असुर जुट्दछन् मध्य रातमा
कुपथ रोज्दछ्न् पाद पादमा
अहित बोक्दछन् हात काँधमा
दिनहुँ डुल्दछ्न् लट्ठ मातमा ।५। 🌷🙏🌺

कपट गर्दछन् मित्रले पनि
असुर बन्दछन् स्वार्थले उनी
नियम मिच्दछन् दुष्टले सदा
प्रकृति आसुरी भावमा हुँदा ।६। 🌷🙏🌺

प्रविधि साथमा हातमा छँदा
प्रगति सोच्दछन् पक्षमा सदा
कसुर मित्रको खोज्दछ्न् सँधै
कुलत रोज्दछन् मस्त छ्न् उनै ।७। 🌷🙏🌺

अहित सोच्दछन् मित्रको पनि
अतिथि चुट्दछन् शत्रु यो भनी
क्षणिक फाइदा काइदा भनी
नियम मिच्दछन् स्वार्थका धनी ।८। 🌷🙏🌺

कुपथ रोज्दछन् बिग्रँदा मति
क्रमिक रूपमा बढ्दछन् अघि
समय चक्र हो सूर्यको गति
कुदिन चन्द्रको पूर्णिमा पछि ।९।🌷🙏🌺

-हरि शर्मा(सुवेदी)
हाल: मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...