Monday 26th October 2026

दसैंमा १,३३९ सवारी दुर्घटना, १२४ जनाको मृत्यु


यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका हुन्।

अविनारायण काफ्ले, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षकका अनुसार दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको छ। यस अवधिमा दुई हजार ९८८ जना घाइते भएका छन्। घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै दुर्घटना कोशी प्रदेशमा भएका छन्। त्यहाँ ३९७ वटा सवारी दुर्घटना भएका छन्। सबैभन्दा कम दुर्घटना मधेश प्रदेशमा भएका छन्, जहाँ ८० वटा दुर्घटना मात्र दर्ता भएका छन्।

त्यस्तै, काठमाडौं उपत्यकामा १७१, बागमती प्रदेशमा ११२, गण्डकी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा १६१, कर्णाली प्रदेशमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन्। दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्र्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारी साधन संलग्न रहेका थिए।

तथ्यांकले अघिल्लो वर्षको तुलनामा दुर्घटनाको संख्या घटेको देखाएको छ। गत वर्ष दसैं अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए।

ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजारभन्दा बढी चालक कारबाहीमा

दसैंको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ सवारी चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक रहेका छन्।

प्रहरीका अनुसार मापसे गरेर सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ तथा तीव्र गतिमा सवारी चलाउने ७४६ चालक कारबाहीमा परेका छन्।

यस्तै, यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ चालकविरुद्ध पनि कारबाही गरिएको छ।

प्रहरीका अनुसार चाडपर्वका बेला लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको अत्यधिक चाप हुने भएकाले यात्रुको सुरक्षा र सहज यात्राका लागि विशेष निगरानी तथा सुरक्षा व्यवस्था लागू गरिएको थियो। यद्यपि दुर्घटनाको संख्या र मानवीय क्षतिले अझै पनि सडक सुरक्षा चुनौतीपूर्ण रहेको देखाएको छ।

तस्बिरः AI


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...