Sunday 27th July 2025

तेस्रो पटक पनि सर्‍यो डेनमार्ककी प्रधानमन्त्रीको विहे


कोरोनाभाइरसका कारण संसारका धेरै मानिसका योजना पर धकेलिएका छन्। कोहीले मुस्किलका बाबजुद् पनि केही योजना पूरा गरेका छन्। तर डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनले भने कोरोनाभाइरस र लकडाउनका कारण तीन पटकसम्म आफ्नो विवाह सार्नु परेको छ।

समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो।

आफ्नो विवाह फेरि सरेको जानकारी प्रधानमन्त्री फ्रेडेरिक्सनले आफैं फेसबुकमा लेखेर दिएकी छन्।

‘म यी गज्जबका मान्छेसँग विवाह गर्न आतुर छु,’ टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, ‘तर यो सजिलै भइरहेको छैन। अब फेरि जुलाईमा हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो।’

आफूले आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हितको रक्षा गर्नुपर्ने भएकाले फेरि विवाह गर्ने मिति पर सार्नु परेको उनको भनाइ छ।

‘हामी चाँडै विवाह गर्न सक्षम हुनेछौं। म बो (जो निकै धैर्यता राखिरहेका छन्) लाई ‘यस’ भन्न आतुर छु,’ उनले लेखेकी छन्।

युरोपियन काउन्सिलका २७ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखको बैठक जुलाई १७ र १८ मा ब्रसेल्समा हुँदैछ। उक्त बैठक गत सातामात्र तय भएको थियो।

कोरोनाभाइरसको संक्रमण रोक्न महिनौं लकडाउन भएपछि पहिलो पटक युरोपियन युनियनका नेताहरू भौतिक रूपमा भेला हुन लागेका हुन्।बैठकका क्रममा कोरोनाले क्षति भएको अर्थतन्त्रको पुनर्उत्थान योजना र इयूको नयाँ बजेटबारे छलफल हुनेछ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...