तितोपाटी-भोजपुर, २६ पुस । भाेजपुर जिल्लामा छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ ।
भोजपुर नगरपालिका-११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो ।
हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थिची हत्या गरेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए । दलबहादुरको शव गत मंसिर १ गते आम्तेककै टारबारीस्थित सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो । शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले हरिबहादुर र कर्णशोभालाई पक्राउ गरेको थियो ।
आरोपित हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा हालेर फ्याँक्न लगाएको डिएसपी मगरले बताए ।
प्रहरी अनुसन्धानको क्रममा कान्छी आमा कर्णशोभासँग हरिबहादुरको अवैध सम्बन्ध रहेको खुल्न आएको छ । घटनाको प्रकृतिबाट सोधपुछ गर्ने क्रममा अभियुक्त आमा छोराबीच अवैध सम्बन्ध रहेको डिएसपी मगरले बताएका छन् ।अभियुक्त हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।