तोयानाथ उपेक्षित, कुवेत-आज एका विहानै घरबाट फोन आयो। मेरी आमाले फोन लगाउन भन्नु भएको रहेछ। श्रीमतीले तुरुन्त आमाको हातमा फोन थमाईदिईन। आमाले भन्नुभयो “बाबु घर आईज छिटो त्यहाँ लडाई हुदैछ रे”।
“आमा यहाँ त्यस्तो केही लडाई भएको छैन र हुदैन पनि। यदि भैहालेछ भने विदेशीहरुलाई घर जाने समय दिन्छ। नेपाली राजदुतावास छ। हाम्रो सरकारले नेपाल लैजान्छ” मैले भने ।
“बम हानाहान हुदैछ रे त” आमाको दोश्रो सवाल थियो।
जसोतसो यहाँ नभएर ईराक भन्ने देशमा हो भन्दै अनेक तर्क दिएर मैले आमालाई आस्वस्त पारे। कति सम्झनु भयो कुन्नी उहाँलाई ढुक्क लागेको मैले बुझे।
बास्तवमा ईरानले ईराकमा रहेका अमेरिकी आर्मीको बेस क्याम्पमा दर्जनौ मिसायल आक्रमण गरेको त्यतिन्जेल मैले न्युज हेर्न भ्याएको रहेनछु। यहाँ विहान ६ बज्दा नेपालमा ९ बजिसकेको र नेपालका मिडियाले स्वर मच्चाईसकेकाले उहाँहरुले मैले भन्दा पहिले खबर पाईसकेको मैले बुझे।
बास्तवमा कुवेत लगायत खाडी राष्ट्रमा रहेका नेपाली कामदारहरुका घर परिवार यतिवेला त्रसित छन जति हामी छैनौ। यसको एउटै कारण हो नेपालका संञ्चार माध्याम। अझ भारतीय संञ्चार माध्याम सुन्ने हो भने त अहिले नै पोको पारेर हिडी हाल्नु पर्ने गरि भयानक चित्र समाचार मा प्रस्तुत भई रहेको हुन्छ तर खाडी राष्ट्रबाट प्रसारित हुने संञ्चार माध्याममा त्यस्तो भयाभह युद्धको कोकोहला कतै प्रेसित भएको पाइंदैन। यहाँका मानिस धेरै ढुक्क छन तर नेपालमा अत्याईएको छ, मानिसहरु आत्तिएका छन। हुन पनि खाडी राष्ट्रमा १६ लाख भन्दा धेरै नेपाली कामदार रहेकाले देशैभरी फैलिएको प्रचारले मुलुक अतालिएको छ। नेपाल सरकारले पनि औपचारिकताका लागि मात्र भए पनि नेपाली दुतावासको सम्पर्कमा रहनु भनिदिएपछि अरु के नै चाहियो र?
सताब्दीऔ लामो दुश्मनी अमेरिका र ईरानको छ। यी दुई देश बीच युद्ध हुन खोजेको पनि वर्षौ भयो जसोतसो टरिरहेकै हो तर यसपाली ईरानी सैन्य कमाण्डर सुलेमानीलाई ईराक भ्रमणका क्रममा अमेरिकाले मिसाइल आक्रमण गरेर मारिदिएपछि स्थिती नाजुक भएकै हो। हिजो सम्म यी दुवैले आ-आफ्ना ईन्ट्रेस्टमा आधारित प्रोक्सी युद्ध गरेकै हुन तर अहिले आमने-सामने हुने खतरा बढेको छ । यसपटक हुन सक्ने युद्धलाई टाल्न अरु कसैले सक्छ भने ती दुई देश अमेरिका र ईरान नै हुन तर यी दुवैको संयमताको यसपटक भरोसा छैन।
अमेरिकाले सवै खाडी राष्ट्रमा आफ्नो सैन्यबल तैनाथ राखेको छ । खाडीका सवै राष्ट्र अमेरिकाका मित्र र सहयोगी राष्ट्र हुन। उसले ईरानलाई आक्रमण गर्दा यहि रहेका सैन्य बेस क्याम्पको प्रयोग गर्दछ। यसो भयो भने ईरानले खाडीका यी राष्ट्रसँग युद्धको जवाफ फर्काउन बाध्य हुन्छ तर यहाँका जनता लक्षित युद्ध भने हुदैन। लडाईको चपेटामा सामान्य नागरिक पर्नु स्वभाविक हो। यसो त ईरानले उसको दुश्मन राष्ट्र ईजरायल र छिमेकी राष्ट्र दुवईलाई भने चेतावनी दिदै अमेरिकालाई आफ्नो भुमी प्रयोग गरेर ईरानविरुद्ध लड्न नदिनु भनिसकेको छ। कुवेत, कतार, बहराईन, साउदी, ओमन लगायतका देशमा पनि अमेरिकन आर्मी क्याम्प छन तर यी देशलाई ईरानले त्यसो भनि नसकेको अवस्था छ।
कुवेतमा १३ हजारको संख्यामा अमेरिकन आर्मी छन। हालै मात्र ईराकबाट स्पेन र कोष्ट्रियाका सेना समेत कुवेतमा सरेका छन। थप केही हजार अमेरिकन आर्मी कुवेतमा आउदै गरेको समाचार पनि बाहिर आएको छ तर पनि कुवेत तुलनात्मक रुपमा खाडीका अरु राष्ट्र भन्दा बढि सुरक्षित छ भन्ने आम बुझाई छ। यसो हुनमा ईराकबाट एक जमनामा पीडित कुवेतलाई सामान्य समर्थन र साथ ईरानले दिएको थियो। किनकी त्यसभन्दा पहिले ईराक र ईरानले १० बर्ष युद्ध लडेका थिए। मुख्य दुश्मन प्रधान भएका बेला सानो दुश्मन मित्र भएको अवस्था हुन्छ नै। अर्को कुरा कुवेतले आफ्ना कुनै छिमेकीका विरुद्ध दुश्मनी गरेको छैन। कतारलाई खाडीका अरु राष्ट्रले प्रतिवन्ध लगाएको अवस्थामा पनि कुवेत तटस्थ बसेको अवस्था छ। मुख्य कुरा त कुवेतमा ईरानबाट माईग्रेन्ट भएर कुवेती नागरिकहरु जो यहाँ छन उनीहरु नै कुवेतमा सवै भन्दा ठुला धनाढ्य छन। उनीहरुको कुवेत सरकारलाई पुर्ण साथ सहयोग छ। उनीहरुको ईरानसँग पनि राम्रो सम्बन्ध होला भन्ने अनुमान गरिन्छ। यहाँ सुन्नी सत्ता भए पनि सियाहरुको कम संख्या छैन उनीहरुले ईरान प्रति सहानुभूती राख्दछन र ईरानपनि उनीहरु प्रति। व्यपारिक र नागरिक-नागरिक बीचको सम्बन्ध पनि राम्रो छ। यसमानेमा पनि ईरान कुवेतसँग बाध्यात्मक अवस्था बाहेक अन्य अवस्थामा आक्रामक हुदैन भन्ने विश्वास गरिन्छ।
जे होस कुवेतमा रहेका ७० भनिए पनि १ लाखको हाराहारीमा रहेका नेपालीहरु त्यती धेरै अतालिएका छैनन। युद्धले उग्ररुप लियो र विश्वयुद्धको अवस्थामा पुग्यो भने त्यो बेग्लै कुरा हो। त्यतिबेला खाडी बाहिरको संसार पनि सुरक्षित हुनेछैन। आशा गरौ र यहि कामना गरौ ईरान र अमेरिकाले संयमता अपनाउलान।