Wednesday 17th June 2026

इरानद्वारा इराकमा रहेका अमेरिकी सैनिक बेसक्याम्पमा ब्यालेष्टिक क्षेप्यास्त्र आक्रमण


तितोपाटी-इरानले आफ्ना सैनिक जनरल कासिम सुलेमानीलाइ अमेरिकाले हवाइ आक्रमण गरि मारेपछि त्यसो बदलामा इराक स्थित अमेरिकी सैनिक बेसक्याम्पहरूमा आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो।

अमेरिकी रक्षा मन्त्रालयले जनाए अनुसार इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल-असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो। मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन।

“हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ। राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्,” ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन्।

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ। इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ। उसका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएका हुन्। इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ। “हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ,” इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्‌को एउटा वक्तव्यमा उल्लेख छ। सुलेमानीको अन्तिम संस्कार सकिएको केही घण्टापछि इरानले यी आक्रमण गरेको हो।अल-असदमा भएको पहिलो आक्रमणको क‍ेही समयपछि एरबिलमा आक्रमण भएको अल-मयदीन टीभीले बताएको छ।

अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन्। इराकमा अमेरिकाका ५,००० सैनिक रहेका छन्।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...