तितोपाटी- बिहान ११ बजे विद्यालय खुल्छ। सानो कोठाबीच खचाखच विद्यार्थीको हुल बाँधिन थाल्छ। साउनको हरियो चुरा र मेहेन्दीमा सजिएका विद्यार्थी। तर प्रायः गृहिणी हुन्। कुर्ता–सुरुवाल लगाएका, रंगीचंगी खास्टो ओढेका केही हँसिला अनुहार ‘मिस, मे आई कम इन् त भन्ने होला नि होइन भन्दै कक्षा कोठा प्रवेश गर्न थाल्छन्।
गोकर्णेश्वर नगरपालिका– ६ मा योगमाया महिला विद्यालय स्थापना गरिएको छ। पढ्न नपाएका र पढ्ने इच्छा राख्ने महिला दिदीबहिनी बडो आँट लिएर यो वैकल्पिक शिक्षालयमा भर्ना हुन आइपुगेका छन्। कक्षा कोठामा १४ वर्षदेखि ६५ वर्ष उमेर समूहका विद्यार्थी छन्। ती सबैका अनुहारमा गज्जबको कान्ति छ। चाउरी परेका छाला र औंलाहरूमा कलम समात्ने ऊर्जा छ। त्यो ऊर्जा कता–कता योगमाया जस्तै प्रतीत हुन्छ। तिनै योगमाया जसको साहस र क्रान्तिकारी विचारधाराले सामाजिक परिवर्तनको बिगुल फुकेको थियो, धार्मिक अन्धविश्वासमा महिलामाथि हुने अन्याय, अत्याचार रोक्न शासक वर्गलाई झुकाउन बाध्य बनाएको थियो।
खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै पढ्न चाहनेलाई उमेरले छेक्दैन रहेछ। विद्यालयमा भर्ना भएका महिलामा पढ्ने हुटहुटी छ। विद्यालय स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी विद्यालयकी संस्थापक अध्यक्ष मन्दिरा दाहाल आफ्ना विद्यार्थीहरू योगमायाजस्तै साहसी बनून् भन्ने इच्छा राख्छिन्, ‘अब महिला आफैं साहस बटुलेर अघि बढ्नुपर्छ। यसका लागि उनीहरू योगमाया बन्नुपर्छ।’
उमेर ढल्किसकेपछि पढ्न गएको भन्दै परिवार र समाजका एकाध मान्छेहरू यी महिलामाथि कुर्लिन्छन्। पढ्न थालेको बताउँदा सोबिता सिम्खडा साथीहरूले जिस्काएको सम्झिन्छिन्। तर उनी विद्यालय आउन छाडेकी छैनन्। हाल २२ जना पढ्ने उक्त विद्यालयमा नेपाली, अंग्रेजी र गणित विषय पढाइन्छ। सबै विद्यार्थी कक्षा एकमा भर्ना भएका छन्। कक्षा कोठाको माहोल निकै रोचक छ।
कखरा बिल्कुल पढ्न नआउनेहरू कापीमा धर्मराएका अक्षर लेख्दै छन्। बजन्ती सर्बरिया (२८) को विद्यालयमा पहिलो दिन निकै उपलब्धिमूलक भयो। उनले आफ्नो नाम लेख्न धेरथोर सिकिन्। कक्षाकोठामा सिकाइएका पाठहरू उनले कति छिटो सिकिन् भने सबै उनको प्रयासबाट दंग छन्। सर्बरिया अशिक्षित भएकै कारण उनी घरमा बच्चालाई पढाउन असमर्थ छिन्। आफ्ना नानीले गृहकार्य सिकाइदिन कर गर्दा उनी नाजबाफ बन्छिन्। आफ्नो यही कमजोरी हटाउन उनी महिला विद्यालयमा पढ्न आएकी हुन्।
छाला चाउरी परे पनि कलम समातेर कापीमा लेख्दै र पढ्दै गरेका योगमाया महिला विद्यालयका विद्यार्थीको ऊर्जा कता–कता योगमायाको जत्तिकै रहेको प्रतीत हुन्छ। विद्यालयमा पाठ कण्ठ पार्दै गरेका र नयाँ–नयाँ अंग्रेजीका शब्द उच्चारण गर्न सिक्दै छन्। भर्ना हुन आउने नयाँ विद्यार्थीको जुझारुपन र केही महिनादेखि पढ्दै आएकाहरूमा आएको परिवर्तनले हरकोहीलाई आश्चर्यचकित बनाउँछ। ब्ल्याकबोर्डमा शिक्षिकाले कोरेका अक्षरहरू चिन्न उनीहरूलाई निकै गाह्रो पर्छ। तर, नजानेर हडबडिएका शान्ता तामाङ (४१) जस्ता महिला प्रयास गर्न पटक्कै छाड्दैनन्।
साना बालबालिकाजस्तै उमेरले ५० कटेका आमाहरू अक्षर चिन्न घोत्लिएको दृश्य त्यति नै रोचक छ। शरणकुमारी श्रेष्ठ (६४) ले तीन एकान तीनको गुणन गर्न दत्तचित्त भएर लाग्दा कक्षाकोठाको होहल्लाले उनलाई पटक्कै ‘डिस्टर्ब’ गरेन। लेखपढ गर्न नआउँदा जीवनभर थरीथरीका हन्डर खानुपरेको समस्या उक्त विद्यालयमा पढ्न आउने सबै महिलाको साझा कथा हो। मीरा कार्की (५०) २६ वर्षको उमेरमा काठमाडौंमा जागिर खान आएकी थिइन्। तर हाजिर गर्न नआएर महिनाभरिको पूर्ण ज्याला पाउनबाट वञ्चित भएको घटना उनलाई हिजैजस्तो लाग्छ। मेहनत गरेको पैसा हात नपर्दा उनलाई निकै रिस उठ्थ्यो।
धेरैको समस्या छोरी भएकै कारण पढ्न नपाएको छ। छोरी भएकै कारण हेपिनुपरेको विगत सम्झँदा कक्षाकोठाका हरेक महिलाका आँखा रसाउँछन्। बोल्दाबोल्दै तिनका घाँटी अवरुद्ध हुन्छन्। अनि प्रश्न गर्छन्, ‘मैले त्यो बेलामा पढ्न पाएको भए ? ’
कला शर्मा उमेरले पाको भइसकिन्। उनका सबै दाजुभाइले पढेका छन्। ती सबै प्रतिष्ठित ठाउँमा पुगेका छन्। तर उनीलगायत घरका अन्य दिदीबहिनीले पढ्न पाएनन्। दाजुभाइ पढेर ठूलो मान्छे बने तर कला केही बन्न सकिनन्। उनको जीवन घरको चुलोचौकामै बित्यो। योगमाया विद्यालयमा भर्ना भए पनि उनमा पढ्ने जोस पलाएको छ। अब त उनी जसरी नि पढेर एसईई पास गर्ने र कलेज गएर देखाउने सोचमा छिन्। कलाको यो दृढताले समाजका कथित निरंकुशतामाथि धावा बोलेको महसुस हुन्छ।
शोभा पोख्रेल (५४) सानोमा पढ्ने इच्छा प्रबल हुँदाहुँदै विद्यालय जान नपाएकी अर्की पात्र हुन्। उनलाई पनि एसईई पास गरेर कलेज पढ्न जाने ठूलो रहर छ।
प्रविधि नजान्दाको दुःख
मालती चौधरी (३४) सँग एनोरोइड मोबाइल छ। उक्त फोन उनलाई पतिले ल्याइदिएका हुन्। त्यसको मूल्य कत्ति पर्छ र त्यसमा के–के ‘फिचरस्’ छन् उनलाई केही थाहा छैन। परिवारका सदस्यको फोन आउँदा उनी अन्दाज मात्र लगाउन सक्छिन्। कसको नम्बर कुन नाममा ‘सेभ’ भएको छ उनलाई त्यो पनि थाहा छैन। विद्यालयमा मालतीको जस्तै समस्या भएका थुप्रै महिला छन्। सानोमा अक्षर चिन्ने अवसर नपाउँदा उनीहरू आधुनिक युगसँगै अगाडि बढ्न सकेका छैनन्। विद्यालयमा भर्ना भएपछि यी सानातिना सबै समस्याको समाधान हुने विश्वास उनीहरूले लिएका छन्।
धेरै महिला गृहिणीको समस्या मोबाइलमा म्यासेज टाइप गर्न नआउनु हो। कसैको नम्बर नामसहित ‘सेभ’ गर्नुपर्यो भने उनीहरू जान्दैनन्। परिवारसँग बारम्बार मद्दत माग्छन्। यस्तो समस्याले उनीहरूलाई हीनताबोध गराएको छ।धेरै महिला दिदीबहिनीहरू बैंकबाट पैसा झिक्न चेक काट्न असमर्थ छन्। सीता राना मगर (५०) भन्छिन्, ‘पति बिरामी हुँदा चेक काट्न आएन।’ अरूको मद्दतले सधैं काम नचल्ने भए पनि उनले पढ्ने निधो गरिन्।
मनमाया तामाङ (३०) ले आमा बिरामी हुँदा अस्पतालका कागजपत्रमा औंठा छाप लगाउनुपरेका दिनहरू बिर्सिएकी छैनन्। अशिक्षित हुँदा समाजले बेलाबेलामा खिल्ली उडाएका घटनाले उनको मन पोल्छ। मनमाया आफू पहाडमा हुर्केकी केटी भएको र गरिबीका कारण पढ्न नपाएकोमा मेरो के गल्ती छ भन्दै आँखा ओभाउँछिन्।
पढ्न–लेख्न जानेपछि के–के गर्ने भन्ने सबैको योजना छ। कमला हुमागाईं साथीभाइजस्तै भजनकीर्तन पढ्न र गाउन चाहन्छिन्। कोही मोबाइलमा अंग्रेजीमा म्यासेज टाइप गरेर विदेश बसेका छोरा–बुहारीलाई पठाउन चाहन्छन्। कोही नातानातिनीको विद्यालयमा जाँदा अंग्रेजीमा सिग्नेचर गर्न चाहन्छन्। विद्यालयमा पढ्न थालेपछि महिलामा सार्वजनिक स्थानमा बोल्ने बानीको विकास भएको छ। निशा चौधरी (१४) लाई पहिले सार्वजनिक स्थानमा बोल्न गाह्रो लाग्थ्यो, तर अहिले पढ्न थालेपछि सहज ठान्छिन्।
फागुन २७ गते औपचारिक रूपमै खोलिएको विद्यालयमा सुरुमा सयभन्दा बढी महिलाको उपस्थिति थियो। ठाउँको अभाव र पढाउने शिक्षक पाउन नसक्दा विद्यालयले लामो समयदेखि संघर्ष झेलिरहेको छ। तर अब स्थानीय वासिन्दा र नगारपालिकाको सहयोगमा विद्यालयमा एसईईसम्म पढाउने वातावरण मिलाउँदै गरेको सरकारी तथ्यांकअनुसार नेपालमा साक्षरता बढेको छ। तर घरघरमा आज पनि २÷३ जना सदस्या विशेषगरी महिला अशिक्षित छन्। उनीहरूलाई शिक्षित बनाएर अगाडि बढाउने, सीपमूलक तालिम दिने हो भने मात्र समाजले कोल्टो फेर्न सक्ने दाहाल बताउँछिन्।
आफ्नो अनुसन्धानले धेरै महिला अशिक्षित भएको देखाएपछि गोकर्णेश्वर नगरपालिकाले हाल साक्षरताको तथ्यांक संकलन गरिरहेको छ। योजनाअनुसार विद्यालयले महिला दिदीबहिनीलाई आवश्यक तालिम पनि उपलब्ध गराउने छ। कक्षा आठ र त्यसपछि एसईईसम्म उत्तीर्ण गराउन सके पनि ठूलो उपलब्धि हाँसिल हुने दाहाल बताउँछिन्।
-साभार अन्नपुर्ण पोष्ट