तितोपाटी – भारतमा भएकाे १७ अाैं लोकसभा निर्वाचनमा सत्तारूढ पार्टी बिजेपीले बाजी मारेको छ भने मोदी नीति अत्याधिक सफल भएको छ । लोकसभाको ५४२ सीट मध्ये ३०१ सीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बद्ध भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ भने भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यामले जनाए अनुसार दिउँसो साँढे १२ बजेसम्म ५४२ सीट मध्ये ५३३ सीटको नतिजा आइसकेको छ । अब ९ स्थानको मात्रै नतिजा आउँन बाँकी छ ।
जस मध्ये भारतीय जनता पार्टीले सुविधाजनक बहुमत प्राप्त गरेको छ । भाजपाले ३०१ स्थानमा जित हात पारेको छ । कंग्रेस आईले ५२ सीट जितेको छ । भारतीय जनता पार्टी जनता पार्टी र उसको नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स) ले ३४९ सीट जितेका छन् ।
उता कांग्रेस नेतृत्वको गठबन्धन यूपीए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) ले ९१ सीट जितेका छन् । अन्य दलले ९३ स्थानमा जितेका छन् । मतगणना गर्न बाँकी ९ मध्ये भारतीय जनता पार्टीले २ स्थानमा अग्रता कायम गरेको छ । दुवै गठबन्धनबाहेकका अन्य दलको ६ स्थानमा अग्रता छ । शुक्रबार साँझसम्ममा सबै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो निर्वाचन पछि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले भारी बहुमत प्राप्त गरेपछि भारतीय प्रधानमन्त्री मोदीलाई विभिन्न देशका प्रमुखले बधाई तथा शुभकामना दिएका छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले सानदार जित हासिल गरेकोमा बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले मोदीलाई बिहीबार टेलिफोन गरी बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप हार्दिकतापूर्ण हुने बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विट गरी प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। उनले मोदीको दोस्रो कार्यकालमा दुवै देशबीच असल सम्बन्ध कायम हुने अपेक्षा गरेका छन्। उनले भारतसँग शान्तिवार्ता र कास्मिर विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्विट गर्दै, ‘मेरा मित्र नरेन्द्र मोदी, प्रभावशाली चुनावी जितका लागि तपाईंलाई हार्दिक बधाई। यो परिणामले संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईंको नेतृत्व प्रमाणित गर्छ। हामी मिलेर भारत र इजरायलको घनिष्ठ मित्रतालाई थप मजबुत बनाउनेछौं’ भनेका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले फोन गरेर मोदीलाई सानदार जित हासिल गरेको भन्दै बधाई दिएका छन्। यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्ड बहुमत ल्याएको भन्दै बधाई दिएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लोकसभाको निर्वाचनमा सानदार विजयी भएकोमा बधाई दिएका छन्। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले ट्विट गर्दै मोदीलाई बधाई दिएका छन्। उनले दुवै देशको प्रगतिका लागि मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।
अफगान राष्ट्रपति अशरफ घानीले ट्विट गरी मोदीलाई बधाई दिएका छन्। उनले अफगानिस्तान र भारतबीच आपसी सद्भाव र सहयोग विस्तार गर्न तत्पर भएको बताएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि मोदीलाई बधाई सन्देश पठाएकी छन्। अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाहयानले पनि मोदीलाई बधाई दिएका छन्। यसैगरी भारतका लागि अमेरिकी राजदूत केन जस्टरले पनि बधाई दिँदै भारतसँग रणनीतिक साझेदार भएर काम गर्न तत्पर भएको बताएका छन्।