Monday 5th October 2026

रातभरि उद्धारमा खटिएका सागर ढकालको विदेशी सञ्चारमाध्यमलाई जवाफ


१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन्।

उनका अनुसार दिनमा बढीमा २–४ घण्टा मात्र आराम गरेर उद्धार अभियानमा निरन्तर खटिनुपरेको छ। शरीरमा घाउ र बिबिरा आएका छन्, लेदोका कारण खुट्टामा समेत चोट लागेको छ। सुरुङभित्र जीवित रहेका भनिएका ६ जनालाई सकुशल बाहिर निकाल्न सकिन्छ कि भन्ने आशामा उद्धार टोली दिनरात प्रयासरत छ।

ढकालले आफूलाई कहिले अमेरिकी, कहिले चिनियाँ, कहिले रुसी वा भारतीय एजेन्टको आरोप लगाइएको भन्दै व्यङ्ग्यात्मक रूपमा प्रश्न गरेका छन्। आफूले विभिन्न देशमा अध्ययन तथा काम गरेको तथ्य सार्वजनिक नै रहेको भन्दै आफूमाथि लगाइने आरोपको जवाफ दिन आफू तयार रहेको, तर अहिलेको प्राथमिकता आरोप–प्रत्यारोप नभई उद्धार रहेको बताएका छन्।

उनको आग्रह स्पष्ट छ—देश विपत्तिमा रहेका बेला उद्धारमा खटिएका मानिसहरूको मनोबल गिराउने र इन्टरनेटमा रहेका सामग्रीलाई तोडमोड गरेर नकारात्मक भाष्य निर्माण गर्ने समय होइन। उद्धार अभियान सकिएपछि आफूविरुद्ध उठेका सबै प्रश्नको जवाफ दिन तयार रहेको उनले बताएका छन्।

ढकालले आफ्नो राजनीतिक प्रतिस्पर्धी भए पनि कसैलाई गाली नगर्ने र सकारात्मक सोचमै विश्वास गर्ने धारणा व्यक्त गर्दै भनेका छन्—नकारात्मकता र गाली केही समय चर्चामा आउन सक्छ, तर दीर्घकालीन शान्ति र विकासका लागि सकारात्मकता नै सबैभन्दा बलियो अस्त्र हो।

अहिले सबैभन्दा ठूलो प्रश्न राजनीतिक होइन—सुरुङभित्र रहेका ती ६ जनाको जीवन बचाउन सकिन्छ कि सकिँदैन भन्ने हो। यदि उनीहरूलाई जीवित उद्धार गर्न सकियो भने त्यो एउटा उद्धार अभियानको सफलता मात्र हुनेछैन, मानवीय साहस, प्रविधि र सामूहिक प्रयासको विश्वकै लागि प्रेरणादायी उदाहरण बन्न सक्छ।

आरोपको जवाफ समयले दिओस्।
अहिले उद्धार टोलीलाई हौसला दिऔँ, प्रार्थना गरौँ र सम्भव हुने सहयोग गरौँ। मानव जीवनभन्दा ठूलो कुनै राजनीति, आरोप वा विचार हुन सक्दैन।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...