Saturday 10th October 2026

बालेन र रविबीच ७ बुँदे सहमतिमा के छ ?


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने भएको छ ।

दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ ।

उनीहरूले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति भएको छ ।

एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति पनि भएको छ ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमति भएको छ । यो सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमति भएको छ ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...