Saturday 15th August 2026

सहरलाई छाडेर गाउँ रोज्ने संकल्प: राष्ट्रप्रेमीको घर–गाउँ अभियान


नेपालमा विकासको अर्थ सहरतिर सर्नु भन्ने मान्यता गहिरिँदै गएको छ। जहाँ सुविधाहरू छन्, त्यही भविष्य हुन्छ भन्ने सोचले गाउँलाई बिर्सिँदै गएको छ। तर यही सोचलाई चुनौती दिएका छन् सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ले। पाल्पा बगनासकाली–८, बराङ्दीमा जन्मेका सुशिलले आफ्ना बुबाको सोच मोड्न सफल भएका छन्। बुबाले पहिले सहरमा पक्की घर बनाउने सपना देख्नुभयो। सुविधाका नाममा सहर रोज्ने सोच उहाँको पनि सामान्य थियो। तर सुशिलले भने, “घर त सहरमा धेरैले बनाउँछन् बुबा, अब गाउँमै पनि सपना देख्नुपर्छ।”

त्यसपछि सुरू भयो सोचको परिवर्तन। गाउँमै पक्की घर बनाउने निर्णय भयो। सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ कुनै सुविधाभोगी युवाको परिचय होइन। उनी संघर्ष, संकल्प र सकारात्मक सोचको नाम हो। उनले सुरू गरेका अभियानहरू ‘एक घर, एक लालीगुँरास’, गाउँमुखी विकास, शिक्षा र नेतृत्वको प्रसार यी सबै गाउँमै रहँदै सम्भव छन् भन्ने प्रमाण हुन्। सहरको चकाचौँधभन्दा गहिरो माया उनी गाउँको माटोमा देख्छन्।

आज उनको प्रेरणाले बुबाले गाउँ रोज्नुभयो। त्यो सपना व्यक्तिमा मात्र होइन, प्रवृत्तिमा परिवर्तन ल्याउने खालको छ। यो कथा एक जनाको हो, तर सन्देश हामी सबैका लागि हो सहर जानु विकल्प हो, तर गाउँ बस्नु अब निर्णय हुन सक्छ।

आजको युगमा गाउँमा बस्नु बाध्यता होइन, आँट हो। सुशिल बताउछन।उनले गाउँमा मात्र घर बनाउन प्रेरणा दिएका छैनन्, गाउँ विकासको आवश्यकता र सम्भावना पनि चिनाएका छन्। उनी बाटोका लागि गुनासो गर्छन्, पुल बनाउन सरोकारवालालाई आग्रह गर्छन्, कुलो र धारा व्यवस्थापनमा सक्रियता जनाउँछन्।
उनी केवल अभियन्ता मात्र होइनन्, गाउँप्रेमी सन्तान हुन् ।जो आफ्नै घरबाट सुरु भएको परिवर्तनलाई अभियान बनाउँदैछन्।

“बिदेश जान सक्दिन भनेर होइन, जान्न चाहन्न। म गाउँमै केही गरेर देखाउने मान्छे हुँ।” सुशिल बस्यालको यो भनाइ अहिलेका सयौं युवाको सोच उल्ट्याउन पर्याप्त छ । जहाँ अधिकांश युवाको सपना राहदानी र टिकटमा सीमित हुन्छ, बस्याल भने लालीगुँरास रोपेर, अभियान चलाएर, एक पृथक यात्रा तय गर्दैछन्।

उनी आफूलाई राष्ट्रप्रेमी भन्छन् । तर त्यो नाम सामाजिक सञ्जालमा चम्कन होईन, गाउँमा उज्यालो ल्याउने कर्मको उदाहरण हो। उनले भाषण ठोकिरहेको देखिन्न, तर गाउँलेसँग बसेर योजना बनाइरहेका भेटिन्छन्।

उनले परिवर्तनको आँधी ल्याएका छैनन्, तर एक हल्का हावा चलाएका छन्। जसले मन, माटो र भविष्यलाई चिसो स्पर्श दिइरहेको छ।उनी अझै संघर्षकै यात्रा छोडेका छैनन्। थाकेका पनि छैनन्। गाउँमा उनी प्रती धेरैले आशा लिएका छन।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...