इरानी सांसद हुसेन–अली हाजी–देलिगानीले संयुक्त अरब इमिरेट्स (यूएई) कब्जा गरेर त्यहाँ इरानी सेना तैनाथ गर्नुपर्ने विवादास्पद धारणा सार्वजनिक गरेका छन्। शाहिन सहरबाट प्रतिनिधित्व गर्ने तथा इरानी संसद्को संविधानको धारा ९० सम्बन्धी आयोगका प्रथम उपाध्यक्ष रहेका उनले ‘दिदेबान इरान’सँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्।
पत्रकारले यूएईलाई इरानी नियन्त्रणमा लिनुपर्ने भन्न खोजेको हो भनेर सोध्दा उनले स्पष्ट रूपमा ‘हो, यूएई कब्जा गर्नुपर्छ, यो सजिलै गर्न सकिन्छ’ भन्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार यूएईबाट इरानमाथि निरन्तर खतरा रहेको र होर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमनसम्बन्धी योजनाहरू यूएईमा बन्ने गरेको उनको दाबी छ।
देलिगानीले यूएईमा इरानी सेना तैनाथ गरी त्यहाँबाट इरानमाथि हुन सक्ने आक्रमण रोक्नुपर्ने बताएका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हालैको यूएई भ्रमणको प्रसङ्ग उठाउँदै उनी यूएईमै हुँदा निशाना बनाउनुपर्ने थियो भन्ने धारणा पनि व्यक्त गरेका छन्। यी उनका व्यक्तिगत राजनीतिक अभिव्यक्ति हुन्; इरान सरकार वा सम्पूर्ण संसद्को आधिकारिक निर्णयका रूपमा प्रस्तुत गरिएको छैन।
यूएई कब्जा गर्ने भनाइसँगै उनले इरानी विदेशमन्त्री अब्बास अराघ्चीको वार्ता तथा कूटनीतिक गतिविधिप्रति पनि आलोचना गरेका छन्। संसद्मा अराघ्चीविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन खोजिएको उनको दाबीसमेत छ।