रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको र त्यहाँको यातायात प्रभावित भएको कीभका मेयर भिटाली क्लिच्कोले बताएका छन्।
यसअघि बिहीबार र शुक्रबार पनि रुसी ड्रोनले साउदर्न ब्रिज (दक्षिणी पुल) लाई निशाना बनाएको थियो। लगातारका आक्रमणपछि पुलमार्फत हुने मेट्रो र सवारीसाधन सञ्चालन प्रभावित भएको छ।
यी दुई पुलले कीभको पूर्वी र पश्चिमी भागलाई जोड्ने काम गर्छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले पुल, सञ्चार सञ्जाल, अस्पताल, विद्यालय र अन्य पूर्वाधारलाई लक्षित गरेर नागरिकलाई सहर छाड्न बाध्य पार्न खोजेको आरोप लगाएका छन्।