दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीहरूले यसलाई सम्भावित आतंकवादी घटना बताएका छन्।
आरोपित सहचालक ओमानका नागरिक हमाम अल-हम्मामी हुन्। उनी यसअघि ओमान एयरमा कार्यरत थिए। उनका कट्टरपन्थी विचारका कारण उनलाई उडान प्रशिक्षणबाट हटाइएको खुलासा भएको छ। उनले रोयल एयर मोरोकमा समेत काम गरेका थिए।
बुधबार भएको घटनामा अल-हम्मामीले ककपिटभित्र आपत्कालीन अवस्थामा प्रयोग गरिने ‘क्र्यास एक्स’ प्रयोग गरी भारतीय पाइलट स्मित मच्छरमाथि आक्रमण गरेको आरोप छ। पाइलट घाइते भएपछि उनले विमानको नियन्त्रण लिन खोजेका थिए।
घटनाका क्रममा विमान झन्डै १७ हजार फिट तल झरेको थियो। तर चालक दल र यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि अर्को पाइलट टोलीले विमानलाई सुरक्षित रूपमा सञ्चालन गरेको थियो।
त्यसपछि विमानलाई साउदी अरेबियाको तबुक विमानस्थलमा आकस्मिक अवतरण गराइयो। आरोपीलाई पक्राउ गरी यूएईलाई जिम्मा लगाइएको छ।
अल-हम्मामीको सामाजिक सञ्जालमा अतिरेकी विचार, अल-कायदा नेताप्रति समर्थन तथा महिलाविरोधी धारणा देखिएको बताइएको छ। घटनाको अनुसन्धान यूएई, साउदी अरेबिया र इजरायलका निकायहरूले संयुक्त रूपमा गरिरहेका छन्।
घटनापछि फ्लाइदुबईले इजरायल जाने आफ्ना सबै उडान अस्थायी रूपमा स्थगित गरेको छ।
https://www.france24.com/en/middle-east/20261003-co-pilot-on-flydubai-flight-was-banned-from-flying-by-oman-for-holding-extremist-views