प्रेमा ढुंगाना – परदेशी आफैँमा एक पीडित शव्द हो। परदेशीले भोग्ने पीडा सायदै स्वदेशमा बस्नेले बुझ्न सक्छन्। यहाँ छोडिएको छ बुढा बाबा-आमा, साथीसंगी, जीवनसाथीसँग बिताएका सम्झनाहरू, प्राणभन्दा प्यारो सन्तान, अनि माटोको सुवास बोकेको देश। समग्रमा भन्नुपर्दा, आफ्नो सम्पूर्ण संसार छोडिएको हो। थाहा छैन, फेरि कहिल्यै फर्कन पाइने हो कि यो नै अन्तिम विदाई हो।
मनभित्र सहनै नसकिने पीडालाई बोक्दै टाढाको देशतिर पाइला चालिन्छ । परदेश “नजाउँ” भन्ने मनमा हुँदा पनि ऋणको भारीले घर लिलाम हुने अवस्थामा पुगेपछि बाबा–आमाको औषधोपचार, श्रीमती/श्रीमान् मुस्कान, भाइबहिनी र छोराछोरीको उज्यालो भविष्यका निम्ति हरेक परिवारबाट कोही न कोही विदेशिन बाध्य भएका छन्।
अझ आजको समयमा त महिलाहरूमा झनै बढि बिदेशिने बाध्यता बढ्दो छ। म पनि तीमध्ये एक हुँ। आवश्यकताको सूचि लामो छ तर देशमा न त रोजगार छ, न त बिहान-बेलुकी हातमुख जोर्न पुग्ने काम पाइन्छ, कामै पाइएपनि कहिले फुत्कने हो भर हुँदैन । त्यो आम्दानीले परिवार पाल्न त परै जाओस स्वयं बाँच्न मुस्किल पर्छ । हरेक दिन बढ्दो महँगीले जीवन असहज बनाएको छ—औषधि, पढाइ, पानी, बिजुली सबै खर्चिलो हुँदै गएका छन्।
देशको अवस्था हेर्दा डाँको छोडेर रुन मन लाग्छ तर कसलाई भनूँ? कसले सुन्छ हाम्रो व्यथा? हामी आफैँ समस्याको समाधान झैँ बन्नुपरेको छ । समस्या देखाउँदा पनि मान्छे हाँस्छन्।
परदेशमा पनि हामीले कसला काट्नु पर्छ । हरेक दिन हामी पीडाले च्यापिन्छौँ। साहुको गाली, परिवारको चिन्ता, देशको पीडा। भोक लाग्दा खाना हुँदैन, थकाइ लाग्दा विश्रामको समय हुँदैन। निद्रा लाग्दा कामले तान्छ। दिनहुँ फ्रिजको चिसो, बासी खाना खाँदै शरीर रोगी हुँदै गइरहेको छ।
जीवन बितिरहेछ र उमेर सकिँदैछ। सन्तानको बाल्यकाल देख्न पाइएन, उनीहरूको पीडा महसुस गर्न पाइएन। छोराछोरीले बाबाआमाको मायालु काख महसुस गर्न सकेनन्। यो पीडा केवल मेरो मात्र होइन, हरेक परदेशीको हो। हाम्रो अभावमा स्वदेशमा रहेका परिवारहरू पनि उत्तिकै तड्पिएका छन्।
वर्षौंपछि एक महिनाको छुट्टीमा घर फर्किँदा सबै चिज फरक लाग्छ। सन्तानले चिन्दैनन्, डराउँछन्—अगाडि आउँदैनन्। पराइझैँ टाढा बस्छन्।
अझ ठूलो पीडा त तब लाग्छ, जब देशको दुर्गति देखिन्छ। हामीले पसिनाको थोपा-थोपा जम्मा गरेर पठाएको रेमिट्यान्स, जुन हाम्रो आशा हो, त्यो देशका केही ठूला मान्छेहरूले भागबन्डा गरेर खाइरहेका छन्। विकास छैन, सेवा-सुविधा छैन। एयरपोर्टमै हामीमाथि लुटपाट हुन्छ। सन्तानका लागि किनिएको खुसी खोसिन्छ। दुखीलाई कहिल्यै न्याय मिल्दैन। विचाैलीया ठग, तस्कर, दलाल र लुटेराहरू रमाउँछन्।
यस्तो अवस्थामा मन रून्छ तर मन बुझाउने कोही हुँदैन। हामी परदेशी, अरूको देशमा, अरूको भाषामा, नक्कली हाँसो हाँसेर मन बुझाउने बाध्यतामा छौँ। तर बाँच्नैपर्छ।
धेरैपटक सोचिन्छ—अब सधैंको लागि घर फर्किने। तर सम्झिन्छु—छोराछोरीको चाहना, भविष्य, अधुरा सपना, बिरामी बाबा–आमा, चुहिएको छानो। घरमै बस्न मन लाग्छ, तर परिस्थितिले बस्न दिन्न।
अब समय आइसकेको छ—
हामी परदेशीहरूले निकास खोज्ने,
आफ्नै देशको विकास गर्ने।
भ्रष्ट र दलालहरूलाई उखेलेर
सम्भावनाका रेखाहरू कोर्ने।
उद्योग–धन्दा, कल–कारखाना खोल्ने
र देश छोड्नुपर्ने बाध्यता रोक्ने।
हाम्रो बुवाहरूले खाडीको तातो बालुवामा जीवन बिताए, हामी पनि त्यही गरिरहेका छौँ। तर आशा गरौँ—हाम्रा छोराछोरीले त्यो नियति भोग्न नपरोस्। उनीहरू आफैँबाट टाढिन नपरोस्।
आउनुहोस्—सबैले आफ्नो परिवारलाई सम्झाउँ,आफ्ना जीवनका पीडादायी अनुभव बाँडौँ।
आगामी चुनावमा सबैको मत एउटै होस् । विचाैलीयलाइ हटाऊँ, कोही झोले नबनौँ।
तस्करीलाई जरैदेखि उखेलौँ—यही मेरो हार्दिक आग्रह छ।
धन्यवाद।
– प्रेमा ढुंगाना झापा हाल कुबेत