-पुष्कर अथक रेग्मी
“सरिता मिस, हाकिम साहेबले कोठामा बोलाउनु भाछ ।”
“हेमन्त सर, हाकिम साहेबकोमा जानुहोस् रे
“माँया म्याडम, हाकिम साहेबले पठाईदे भन्नु भाछ ।”
प्रत्येक कर्मचारीको फांट फार्टमा पुगेर पिएन दाइले हाकिमको अर्डर कर्मचारीलाई सुनाईदिए ।
“मेरो काम देखि सन्तोष नमानेर होला, हाकिम साहेवले बोलाएको। नयाँ छु, काम सिक्दै गरेकोले केही लोलोपोतो छदैछ । अस्थायी हुँ म्याद नथप्ने भयो ख्याउटे मोरोले ।” यस्तै कुरा खेलाउदै सरिता मिस आफ्नो कक्षबाट निस्किइन् ।
“हिजो अफिस आईएन । अस्ति गर्न दिएको काम अझै भ्याइएको छैन् । यस अफिसमा पटक्कै बस्न छैन। के गर्ने सुइते हाकिमको चुराई खादै बस्न पर्ने भयो …” गर्दागर्दैको काम रोकेर मनमनै कुरा खेलाउदै हेमन्त सर आफ्नो कक्ष वाहिर निस्किए ।
“छोरीलाई मेडिकल लैजानु परेर हिजो पनि म तीन बजे नै निस्किए । आज पनि आउँदा साढे दस भैइकेको थियो। गाली गर्ने भयो हाकिमले, अस्तिनै पनि एकपटक चुरेको थियो काले मोराले. ..।” आफ्नै पाराले गुनगुनाउदै माँया ग्याडम पनि कार्यकक्षबाट बाहिर निस्किइन् ।
बरण्डामा सरिता मिस, हेमन्त सर र माँया म्याडमको भेट भयो। गाली खाएपनि संगै खाईने भयो, एक्लै पर्नु त परेन भन्ने मनमनै साहस आयो। उनीहरु हाकिमको कोठातर्फ लम्किए ।
“विजया दशमी र दीपावलीको शुभकामना दिउँ भनेर बोलाएको तपाइहरुलाई, धेरै-धेरै शुभकामना छ ।” आईसकेको दशै तिहारलाई लक्षित गर्दै हाकिमले भने ।
“हाम्रो पनि शुभकामना छ, सर हजुरलाई।” तीनै जनाले एकै स्वरमा भने ।
“पर्सी घटस्थापनादेखि दशै सुरु भइहाल्छ । भोलि म घर गइहाल्छु । मेरो सरुवा जुम्लामा भएको छ । अव म उतै जानुपर्छ।” हाकिम साहेव गम्भीर भएर भने ।
“सर हजूरको सरुवा ! थाहा नपाई ! वर्ष दिनमै । अझ जुम्लामा !” तीनैजना कर्मचारी आश्चर्य चकित भै बोले ।
“हामी अधिकृत स्तरको कर्मचारी सधै एकै स्थानमा बस्न कहाँ पाईन्छ र? सरुवा भईरहन्छ । अँ सरीता मिस, तपाईको छ महिनाको परीक्षणकाल सकिनै लागेको छ। अर्को हाकिम आएर राख्छ की राख्दैन। त्यसैले मैलेनै तपाईलाई अर्को व्यवस्था नहुँदा सम्मको लागि भनेर नियुक्ति पत्र बनाईदिएको छु । हेमन्त सर तपाईको पनि तिहार पछि घर पाएक सरुवा हुने निश्चित छ, मैले सिफारिस गरिसकेको छु । माँया म्याडम छोरीको राम्रो ख्याल गर्नुहोला, बेलाबेलामा विरामी हुँदिरैछ । अँ तपाई पनि यहाँको पुरानो कर्मचारी तपाईलाई आन्तरिक रुपमा मुखियाबाट खरिदार पदमा बढुवा गरिएको छ ।”
“धेरै धेरै धन्यवाद छ सर, हामीले सोचेका पनि थिएनौ। सर हजुरको गुन हामीले कहिल्यै तिर्न सक्दैनौ। हामी ऋणी रहने छौं सर। धेरै धेरै शुभकामना छ सर । शुभ यात्रा सर । हजूरको उत्तरोत्तर प्रगतिको कामना छ सर ।” तीनै जनाले एकैसाथ रुन्चे स्वरमा धन्यवाद र शुभकामना दिदै आँखाभरी आसु झार्दै व्यर्थे गरिएको शङ्कामा पछुताउदै हाकिम साहेबको कोठाबाट बाहिरिए ।
-श्रीनगर तानसेन