Wednesday 14th October 2026

आज हरितालिका तीज मनाउँदै


आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिव-पार्वतीको पूजा र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाउने वरदान प्राप्त गरेको मान्यता छ, र यसै विश्वासमा यो व्रत शुरू भएको पौराणिक कथा छ। आजको दिन तीजको व्रत बस्नुपर्ने भएकाले व्रतालुहरूले हिजो दर खाएका छन्। विशेष गरी माइती र दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ। हिजो दर खाएपछि, औपचारिक रूपमा शुरू हुने तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

तीज पर्वलाई नेपाली महिलाले मौलिक पर्वको रूपमा मनाउने परम्परा छ। यद्यपि पहिले तीजलाई महिलाको दुःख र पीडा साट्ने दिनका रूपमा हेरिन्थ्यो, पछिल्लो समयमा यो महिला स्वतन्त्रता, समानता र सशक्तीकरणको पर्वका रूपमा पनि हेरिन थालेको छ। पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज र भोग्नुपरेको दुःखबाट छुटकारा पाउने अवसरका रूपमा माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने परम्परा देखिन्छ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडकको आरोप पनि लागेको छ। महिनाैं अघिदेखि दर खाने, गरगहना र पोशाक प्रदर्शनजस्ता गतिविधिहरूले तीजको संस्कृतिलाई विकृत बनाउने आरोप लगाइएको छ। संस्कृतिविद् डा. शोभा ढुङ्गानाका अनुसार, पहिले तीज हिन्दू महिलाले मात्र मनाउने परम्परा थियो भने अहिले यो पर्व सबै धर्म र समुदायका महिलाले मनाउने गरेका छन्। मूलतः यो पर्व महिलाको पुनर्मिलनको अवसर हो।

हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल शुरू भएको छ।

पशुपतिमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले चार स्थानबाट लाइनको व्यवस्था मिलाएको छ। दर्शनार्थीहरूले निम्नानुसार व्यवस्था अनुसार मन्दिर परिसरमा प्रवेश र बाहिर निस्कन सक्नेछन्:

१. गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट प्रवेश: दर्शन पछि पश्चिम मूल ढोकाबाट बाहिर निस्कन र कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कनको व्यवस्था मिलाइएको छ।

२. मित्रपार्क–जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढाकाबाट प्रवेश: दर्शनपछि पश्चिम मूल ढोकाबाट बाहिर निस्कन र शङ्कराचार्य मठ दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कनको व्यवस्था गरिएको छ।

३. पिङ्गलास्थानबाट वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकासम्मको लाइन: दर्शनार्थीहरूले ६४ सानो ढोकाबाट मन्दिर प्राङ्गणमा प्रवेश गर्न सक्नेछन्। दर्शनपछि दक्षिण ढोकाबाट बाहिर निस्कन र पञ्चदेवल पूर्व दक्षिणमा निर्मित जुत्ता–चप्पल कक्षबाट फर्कनको व्यवस्था गरिएको छ।

४. तिलगङ्गा–राम मन्दिर हुँदै बाग्मती नदी पूर्व किनार: आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गर्न र पूर्व ढोकाबाटै बाहिर निस्कनको व्यवस्था गरिएको छ।

कोषले दर्शनार्थीहरूको गाडी पार्किङको व्यवस्था पनि मिलाएको छ। तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली ठाउँ, र गुह्येश्वरी पारिको खाली ठाउँमा पार्किङ गरिन्छ।

धेरै भीडको सम्भावना रहेकोले कोषले दर्शनार्थीहरूलाई गरगहना नगर्न र साना बालबच्चा नलिई मन्दिरमा जान पनि आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...