Monday 9th September 2024

चित्रमा पञ्चाङ्ग, भागः ११९


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८१/०३/२६
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
यो बाटो कसले बनायो होला
अर्थ पनि कति खनायो होला
अचम्मको पथ देख्दा यसरी
कतिलाई अति गनायो होला
सीप कला ज्ञान जनायो होला ।

सविता के.सी.

पञ्चाङ्ग २

जिन्दगीको बाटो भयावह भिर छ
यस्लाई पार गर्न अति नै पिर छ
सामना गर्नै परेको छ नडराई
यो ज्यानलाई सेक्ने अनेकौं झिर छ
उचाल्न् गाह्रो परिरहेको शीर छ ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पघ्चाङ्ग ३

पहाडको बाटो भिरालो देखिन्छ
यात्रा गर्दा खेरि पिरालो देखिन्छ
दिन चर्या गर्नै पर्ने भयो यहाँ
खुट्टा चिप्ल्यो भने गिरालो देखिन्छ
होस गरि हिड्यौ झिरालो देखिन्छ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

भीरको बाटो कति हिँड्न गार्हो
बाध्यता हुँदा जति हिँड्न गार्हो
कष्टकर जीवन मरणमा
तल हेरेर अति हिँड्न गार्हो
आऊ नभन पति हिँड्न गार्हो ।

भगवती दवाडी ,झापा

पञ्चाङ्ग ५

जीवन संघर्षनै हो पढ्नु छ हेर
पाहाड फोरेर अघि बढ्नु छ हरे
दु:ख नगरी सुख हात पर्दैन लौ
हृदयमा यो कुरा पो गढ्नु छ हेर
सफलताको शिखर चढ्नु छ हेर ।

सङ्गीता खरेल
चन्द्रागिरी ८ काठमाडौं

पञ्चाङ्ग ६

जोखिम मोलेर काम गर्नु परेको छ
एक अर्काको भरमा पर्नु परेको छ
भिरमा पसिना सँग पैसा साट्दै,
पहरो खन्न बामे सर्नु परेको छ
खुट्टा थर्रर कमाउदै तर्नु परेको छ ।

कला ढकाल झापा

पञ्चाङ्ग ७

साहसीले पहरोमा बाटो बनाए हेर
हिड्नेहरुले कति आश्चर्य मनाए हेर
गरे असम्भव पनि सम्भव हुन सक्छ
पौरखीले कसरी पसिना खनाए हेर
वीरताको परिचय त्यहाँ जनाए हेर ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग ८

यस्तो अफ्ठ्यारो ठाउँमा पनि हेर बाटो कति राम्रो
ढुङ्गै ढुङ्गा भए पनि अलिकति माटो कति राम्रो
गर्न सके के हुँदैन पौरखी हातहरु भएसी
पहाडी भेगमा पनि विकासको पाटो कति राम्रो
खन्नको लागि मेसिन छ मान्छेको साटो कति राम्रो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

निकै असजिलो खाले बाटो रैछ साथी
जीवन त साह्रै गाह्रो पाटो रैछ साथी
सभथर भागमात्र कहाॅ पाइन्छ र?
थेरै ढुङ्गा भए थोरै माटो रैछ साथी
जिन्दगी यो आखिरमा घाटो रैछ साथी ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १०

भिर पाखा पहरामा बाटाे पुग्याे हेर
कहाँकहाँ विकासकाे पाटाे पुग्याे हेर
भए देखि चाह यहाँ लाग्दैन बाहना
मेसिन नै मानिसकाे साटाे पुग्याे हेर
नेपालमा भाइबिच फाटाे पुग्याे हेर ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग ११

असम्भवमै त सम्भव पनि लुकेको हुन्छ
नियालेर हेर्दैन मान्छे त्यसै थुकेको हुन्छ
सजिलो बाटो मात्रै खोज्दाखोज्दै जीवनभर
अमुल्य मौका जीवनको त्यसै चुकेको हुन्छ
सागर भेट्छ कहाँ कुवा पनि सुकेको हुन्छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १२

जीवन मान्छेको माटो रैछ
विकास भनेकै बाटो रैछ
जति गरेपनि हाम्रो यहाँ
तिम्रो भागमा आँटो पो रैछ
नेतृत्व गर्ने पो लाटो रैछ ।

“पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३काभ्रे

पञ्चाङ्ग १३

मान्छेले भीरमा हि्ड्ने जुगाड बनाएकाे छ
भीरमा तार खुटकिला छन् भनी जनाएकाे छ
पहाड माथि पुग्न रेल बसकाे बाटाे मिलायाे
मान्छेकाे बुद्धमा भगवानले के खनाएकाे छ
आजकल बाटाे बनाई जनता मनाएकाे छ ।

नवराज भट्ट
कञ्चनपुर

पन्चाङ्ग १४

नगै नभएर त होला गएका भीरको बाटो
संधै कोरेर मात्र कहाँ हुन्छर पीरको बाटो
देशको भु्गोलको प्रारुप यस्तैछ त के गर्नु
उद्धेश्य पहिलाउन खोज्नै पर्छ बीरको बाटो
उकाली ओराली दुखले दिन्छ नि गीरको बाटो !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग १५
पहाडी बाटोको नजर सम्झेर
अनौठो लाग्दैछ रहर सम्झेर
भनी साध्य छैन पिरको कहानी
हिँडेको छु आज डगर सम्झेर
रोएको छु फेरि सफर सम्झेर ।

– आर्त अकुलीन

पञ्चाङ्ग १६

मन बलियो बनाउन पर्ने भाे
मृत्युु सँग त लजाउन पर्ने भाे
हिडनु परेकाेछ भीरकाे बाटाे
खुट्टा थर्थर कमाउन पर्ने भाे
लडियाे भने हराउन पर्ने भाे ।

सूर्य गिरी
माछापुच्छ्रे ५कास्की (पाेखरा)

पञ्चाङ्ग १७

त्यो भिरमा हिड्न कति डर भयो,
बाध्यताले हिड्नै पर्ने कर भयो,
बाटो नबनेकोले कति गाह्राे छ,
त्यहीँ भिर पाखाको नि भर भयो,
भरोसा लाग्ने त्यो घास खर भयो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १८

कोही हिँड्छन् पहाडको,अनि कोही तिरको बाटो
भेट्नु सबै मस्तिष्क,सञ्चित गर्ने शिरको बाटो
मनै जिरिङ्ग बनाएर पनि पर्यटक हिंँड्छन्
के भनौं आकर्षण वा भयवित भिरको बाटो
बुझ्नु पर्छ कुन राम्रो र कुन हो पिरको बाटो ।
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १९

मानिसले नगरेको काज केहि छैन
सरकारलाई भने लाज केही छैन
जसरी भएपनि त जीवन काटेका
हुन्छन् यी मन मर्जिका राज केहि छैन
मानिसमा छ मनको साज केहि छैन ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग २०

अलिकति हिम्मतसँग अलिकति यो डर छ
जीवनको बाटो पहाडको अप्ठ्यारो डगर छ
नडराऊ सँगी हो समात डोरीलाई बेसरी
गन्तव्यमा पुर्याउने यस्तै साहसी सफर छ
चुनौतीका साथ, लडेर जाने ठूलो रहर छ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २१

देउ देवताई जनाइ कन
गाउँ घर सारा मनाइ कन
छाडेर गए नाम नै राखी
यो बाटो सबै बनाइ कन
भिर को बाटो खनाइ कन ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान,

पञ्चाङ्ग २२

पहरामा बाटो कसरी खनायो होला
यसमा कुन प्रविधि अपनायो होला
असम्भवझैँ लाग्छ चित्र हेर्दा मलाई
अनकन्टार भिरले के जनायो होला
कहाँ जान यसरी बाटो बनायो होला !!

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २३

सफलताको निम्ति भयभित पहाड चढ्दै जानुपर्छ
कठिनाईबाट मुक्त हुन भरोसामा लड्दै जानुपर्दछ
कोसिस जारी राख्नुपर्छ यदि लक्ष पुरा गर्नुछ भने
जीवनमा आधारित सुखद पन्नाहरू पढ्दै जानुपर्छ
सिखर चुम्न दृड्ताको भावनाले अघि बढ्दै जानुपर्छ ।

चन्द्रवती शर्मा ।
भूटान

पञ्चाङ्ग २४

नेपालीको दु:ख गर्ने बानी भएको छ
घुमाउरो बाटो गाह्रो हानी भएको छ
पहराको खन्ने मानव साच्चै पौरखी
पछि पछि मोटर नि जानी भएको छ
डरले काँपेर हिँड्दा पानी भएको छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली ।

पञ्चाङ्ग २५

देश विदेसमा के के भयो थाहा पाएन
यो दुनियाँ कहाँसम्म गयो थाहा पाएन
केही क्षण अघि भिडीयोमा देखेको थीएँ
फेरि पञ्चाङ् चित्रमा आयो थाहा पाएन
यो अचम्मको कला देखायो थाहा पाएन ।

मनोज राना सल्यानि बन्गाड कुपिण्डे ३ सल्यान

पञ्चाङ्ग २६

पहराको छाती बिचमा चिर्नुपर्छ अब
पहाडमा सुरुङ बनी छिर्नुपर्छ अब
सम्भावना भरिपूर्ण ए पाइतालाहरू
भिरको बाटो नडराई थिर्नुपर्छ अब
सधैँ पछाडि कति पर्नु फिर्नुपर्छ अब ।

श्रीकृष्ण शर्मा पोखरा–५ मालेपाटन


सम्बन्धित शीर्षकहरु

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ।…

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा स्कटल्याण्डलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ गोल अन्तरले…

पाकिस्तानको राजधानीमा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् र पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै एक वर्षभन्दा बढी समयदेखि जेलमा…

प्रतिकृयाहरू
...