Wednesday 15th May 2024

परदेशमा किन र कसरी हराउँछन् नेपाली?


हरि कृष्ण न्याैपाने – फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो भाइ मलेसियाबाट जनवरी ६ तारिकदेखि हराइरहेका छन्, खोजीको लागि सहयोग गरिदिनु पर्‍यो ।’ हामीले उहाँसँग बुझ्दै जाँदा उहाँका भाइ, बैतडी पुचौंडीका २१ वर्षीय धीरेन्द्र महरा करिब १ वर्ष अघि काममा लागी मलेसिया जानुभएको रहेछ । मलेसियाको जोहरबारुमा बिस्कुट कम्पनीमा काम गर्दागर्दै उहाँको मानसिक अवस्था बिग्रियो । धीरेन्द्रको काकाको छोरामार्फत उहाँको बिग्रँदो स्वास्थ्य अवस्थाबारे धीरेन्द्रको श्रीमती र परिवारलगायतलाई जानकारी गराइयो । धीरेन्द्रले परिवारसँग फोनमा पनि कम बोल्ने र सोधेको प्रश्नको सिधा उत्तर नदिने अवस्था आएपछि उहाँ मानसिक रूपमा बिरामी भएको आफन्तजनले ठहर गरे।

धिरेन्द्रलाई कम्पनीले पनि डिसेम्बर १८,२०२३ देखि ‘सस्पेन्ड’ (काममा नलगाउने) कोटीमा राख्यो । क्रमशः उहाँको स्वास्थ्य अवस्था झनै बिग्रियो । कम्पनीले धिरेन्द्रलाई अस्पताल पठाउनुको साटो घर पठाउनेबारे डिसेम्बर २७ मा घरमा खबर गर्‍यो । खबर गर्ने क्रममा घर पठाउने कारण सोध्दा “धीरेन्द्र मेडिकल फेल भएको” बताइयो । धीरेन्द्रका दाइ देव भन्नुहुन्छ,”कम्पनीले केही मानसिक रूपले बिरामी भाइलाई समयमै उपचार गरेको भए यस्तो घटना घट्ने थिएन । कम्पनीले भाइलाई उपचार गराइ सहयोग गर्नुको साटो सस्पेन्ड गरी कोठामै राख्यो । भाइ कोठामा बस्दाबस्दै झनझनै कमजोर हुँदैगयो । कम्पनीले १ पटक पनि अस्पताल नलगी घर पठाउने बतायो । हामीले त्यहीँ उपचार गराउन वा पठाए पनि कसैको साथमा पठाउन अनुरोध गर्यौं । तर कम्पनीले त्यसो गरेन। कम्पनीको ड्राइभरले एयरपोर्ट लगेर छोडेको र भाइ त्यहाँको अध्यागमनमा गएको रेकर्ड भेटिएन । उनी कम्पनीमा पनि गएका थिएनन् र कोही कसैसँग सम्पर्कमा पनि थिएनन् ।’

यता धिरेन्द्रको श्रीमतीलगायत परिवार उहाँको स्वास्थ्य अवस्था तथा अहिले कुन अवस्थामा कहाँ छन् भन्ने तनावमा हुनुहुन्थ्यो । उहाँहरूले गाउँपालिकामार्फत सम्बन्धित निकायलाई सहयोगका लागी हारगुहार गरे । यता काठमाडौँमा रहेका धिरेन्द्रका काकाको छोरालाई कन्सुलर सेवा विभागमा सबै कागजातसहित खोजीका लागी अनुरोध पत्र बुझाउन श्रमिक सञ्जालले सहजीकरण गर्‍यो ।

कन्सुलर सेवा विभागले मलेसियाको नेपाली राजदूतावासलाई धिरेन्द्रको अवस्था तत्काल बुझ्न परिपत्र गरेपछि नेपाली राजदूतावासले मलेसियाको अध्यागमन र सिआइडी प्रहरीसँग उनको अवस्था बुझ्न अनुरोध गर्‍यो । करिब २ हप्ताको खोजतलासपछि धिरेन्द्र प्रहरीको नियन्त्रणमा रहेको भन्ने जानकारी आएको विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बताउनु भयो । धिरेन्द्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी अप्रिलमा नेपाल आउनु हुने भएको छ । उहाँ थप्नुहुन्छ, “विभागमा विदेश गएर यसरी विविध कारणले हराउने वा परिवारबाट सम्पर्कविहीन हुनेहरूको खोजी तथा उद्धारका लागी अनुरोध आउने गरेको छ । हामीले नेपाल सरकारको परराष्ट्र मन्त्रालय मार्फत वा सम्बन्धित देशका राजदूतावासमा सिधै यस्ता समस्यामा तत्काल सहजीकरण गर्न परिपत्र गर्ने गरेका छौँ । गत वर्ष (२०७९/८०) मात्र ८४ जना श्रमिकका परिवारले खोजी तथा उद्धारका लागी विभागमा उजुरी दिएका थिए ।”

मोबाइल हराएकै कारण व्यक्ति हराए
कतारमा कार्यरत लमजुङका एक युवाले श्रमिक संजालको फेसबुक पेजमा वडा र गाउँपालिकाले जो जससँग सम्बन्धित छ भन्ने आशयको पत्र र फोटो पठाउँदै म्यासेज गरे । उक्त पत्र पढिसकेपछि थप बुझ्न हामीले उहाँलाई मेसेज गर्‍यौं। झन्डै एक दशकदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका उनका एक जना आफन्त विगत २ वर्षदेखि घरको सर्म्पकमा रहेनछन् । घरमा आमा एक्लै र त्यसमाथि बिरामी परेपछि छोरीको रेखदेखमा रहनु भएको कारण छोराको खोजीमा आमा काठमाडौँसम्म आउने सम्भव नभएपछि वडा र गाउँपालिकाको सहयोगमा खोजिकार्य गरिदिन सिफारिस पत्र बनाई छरछिमेकको सहयोगमा सामाजिक सञ्जालमा उक्त पत्र पोस्ट भयो ।

कतारमा रहेका उनले हामीलाई पनि खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेपछि हामीले मलेसियाको नेपालीमाझ चर्चित एक फेसबुक पेजलाई उक्त मेसेज र फोटो फरवार्ड गर्यौं । उहाँहरूले भेरीफिकेसनपछि पोस्ट गर्नुभयो। उक्त पोस्टकै आधारमा लमजुङका ती युवा फेला परे र घरपरिवारको सम्पर्कमा आए । हामीले पछि उनको घरपरिवार र हामीलाई मेसेज गर्ने कतारका युवालाई सम्पर्क गर्यौं । उनीहरूका अनुसार ती युवाले आफ्नो मोबाइल हराएको र त्यस कारणले आफूले घरमा सम्पर्क गर्न नसकेको र अहिले तत्काल घर फर्कन आफूसँग पैसा नभएकाले अरू एक दुई वर्ष घर नफर्कने र आफ्नो बारे पिर चिन्ता नलिन आग्रह गरेको बताए ।

विदेशमै बिहे गरेर सम्पर्क विहीन
तनहुँ घर भएका विकास तामाङ कुवेत गएको १६ वर्ष भयो । अन्तर्जातीय प्रेमविवाह गरी श्रीमती र चार महिनाको छोरी काठमाडौँमा राखेर कुवेत जानु भएका विकासलाई सुरुमा भनेअनुसार काम र दाम मिल्यो । हल्का सवारी चालकको काम गर्दै कुवेतको एक चर्चित सपिङ सेन्टरमा काम सुरु गर्नु भएका विकासले कुवेत पुगेको ८ महिनासम्म परिवारसँग नियमित फोन गर्दै यता मासिक खर्च पठाउनु भयो । तर ८ महिनापछि उहाँ एक्कासि सम्पर्कविहीन हुनुभयो । फोन पनि नलाग्ने भयो र सामाजिक सञ्जालमा पनि सम्पर्क हुन नसकेपछि विकासको श्रीमती रबिना क्षेत्रीलाई तनाव हुनथाल्यो । उहाँले विकासको खाजीका लागी नेपालका सबै सम्बन्धित निकायमा हारगुहार गर्नुभयो । तर कतै केही पत्ता लागेन । घर–परिवारसँग सम्पर्क नभएको करिब २ वर्षपछि विकासको साथीमार्फत पत्ता लाग्यो कि विकास एक विदेशी महिलासँग विवाह गरेर बस्नुभएको रहेछ।

अन्तर्जातीय प्रेम विवाहका कारण घर, माइती र मावलीबाट कुनै सहयोग र आड भरोसा नपाउनु भएकी रबिनाले इन्द्रचोकमा तरकारी पसल चलाउँदै आउनु भएको छ । छोरी ९ कक्षामा पढ्नुहुन्छ । रबिना भन्नुहुन्छ, “लामो समयदेखि श्रीमान् बेखबर भएको, उहाँले हामीलाई जानेरै दुःख दिनु भएकोले अब त फेरी मिल्ने आशा पनि मरिसक्यो । अन्धो प्रेम र कसैको पनि सहमति नलिई अन्तर्जातीय विवाह गरेका कारण कहीँबाट केही सहयोग पाउन नसके पनि आफ्नै दुःखमा रमाउँदै आएको छु । छोरीलाई पढाउँदै र उसकै मुख हेरेर जसोतसो निर्वाह गरिरहेकी छु ।” उहाँ थप्नुहुन्छ, “आफ्नै मान्छेले नचाहेपछि र धोका दिएपछि कसको के लाग्छ र? अहिले त सुनेअनुसार उहाँले विदेशी श्रीमतीकै माइतीमा जग्गासमेत किन्नु भएको छ रे । सायद उहाँ नेपाल आउनु हुन्न होला ।”

विदेशमा जेल परेपछि परिवारको बिछोड
भोजपुरका समीर शाही १४ वर्षअघि मलेसिया जानुभयो । उहाँले मलेसियामा भनेअनुसार काम र सेवासुविधा पाउनु भयो । करिब ३ वर्षसम्म परिवारसँग नियमित सम्पर्कमा रहनुभयो । एक छोरो र गर्भवती श्रीमती अनि बुवा–आमा छोडेर जानु भएका समीरले एक शुक्रवार गाउँको टेलिफोन बुथमा खबर गरे,” भोलि श्रीमतीलाई छोरीसहित फोनमा कुरा गर्न बोलाई दिनु होला ।” तर त्यस दिन उहाँको फोन आएन । उहाँको मलेसियाको नम्बरमा कल गर्दा पनि फोन लागेन । त्यसपछि उहाँ एकाएक परिवारबाट सम्पर्कविहीन हुनुभयो । समीरलाई खोज्न उहाँको श्रीमती (पार्वती)ले सबै सरकारी निकायमा गुहार्नुभयो । कहीँ कतै केही खबर मिलेन । पार्वतीलाई श्रीमान् बेखवर भएपछि गाउँ बस्न पनि मन लागेन । उहाँ छोराछोरी काखी च्यापेर एक जना गाउँले साथीसँग काठमाडौँ आउनुभयो । सम्भावना भएसम्म श्रीमान् खोज्ने प्रयास गरिरहनु भयो, तर कहीँबाट केही तथ्य पत्ता लागेन । त्यसपछि एक स्कुलमा काम गर्दै छोराछोरी पढाउँदै पार्वती जीवन गुजार्दै हुनुहुन्थ्यो ।

उहाँलाई एक साँझ करिब ८ बजे गाउँबाट पल्लोघरकी जेठानी दिदीले कल गर्नुभयो । त्यस कलमा त उहाँको श्रीमान् पो बोल्नुभयो । पार्वती अचम्मित हुनुभयो । त्यसको भोली पल्ट नै समीर काठमाडौँ आउनुभयो । करिब १४ वर्ष पछिको पारिवारिक मिलन चमत्कारजस्तै थियो । पार्वती त्यो पारिवारिक पुनर्मिलनबारे भन्नुहुन्छ, “मैले त करिब करिब उहाँलाई माया मारिसकेको थिएँ । छोरीले त बुवालाई देखेकी थिइनन्, छोराले पनि बुवाको अनुहार बिर्सिसकेको रहेछ । हामी छक्क अनि मक्ख पर्यौं ।” पार्वती थप्नुहुन्छ, “उहाँ परिबन्दमा परेर विदेशमा जेल पर्नुभएछ । त्यो समयमा हामीसँग अचेलजस्तो मोबाइल थिएन । उहाँलाई पनि सम्पर्क गर्न दिइएनछ । एक्कासि २० वर्षको जेल (दिनरात जोड्दा १० वर्ष ) सजाय काटेपछि उहाँलाई जेलबाट सिधै नेपाल पठाइएछ । उहाँलाई हामी कहाँ छाैँ भन्ने थाहा नहुँदा सिधै गाउँको घर जानुभएछ । गाउँमा पनि सबै चकित भएछन् । ससुरा बाको स्वर्गारोहणपछि सासुआमा पनि हामीसँगै यतै बस्नुहुन्थ्यो । भोली पल्ट उहाँ काठमाडौँ आउनुभएपछि यतै बुवाको अन्तिम काजक्रिया गरियो । अहिले हामी खुसीका साथ सबै सँगै बसेको १ वर्ष हुन लाग्यो ।’

विश्लेषण
१३ वर्षयता मलेसियामा कार्यरत दाङका शेरबहादुर खत्रीको बुझाइअनुसार त्यहाँ पुग्ने नेपालीले धेरै पैसा कमाउने उद्देश्य राख्ने र उद्देश्य पूरा नहुने देखेपछि कम्पनी छाडेर अन्यत्र काम गर्ने, त्यसरी अन्यत्र काम गर्दा रोजगारदाताले सुरुका केही समय तलब सुविधा उपलब्ध गराउने र पछि भने लामो समयसम्म तलब सुविधा नदिने गर्छन्। आफूले काम गरेको ज्याला माग्दा उल्टै पुलिस बोलाइदिने धम्की पाउने र फेरी अर्को काम खोज्नतिर लाग्ने अवस्था आइपर्छ। यस्ता तनावका कारण कतिपय युवा दुर्व्यसनतिर लाग्छन् भने कोही विदेशी महिलासँग ‘लिभीङ टुगेदर’मा बस्छन्।

त्यस्तै, कतिपय व्यक्ति पक्राउ परिने डरले जोखिमयुक्त काम गर्न दुर्गम क्षेत्र पुग्ने र त्यहाँ आधारभूत आवश्यकताका सामान पाइने पसल सहजै नपाइने हुँदा रिर्चाजकार्डसमेत नपाइने, समय समयमा पैसा घर पठाउन नसक्दा घरपरिवारसँग सम्बन्ध बिग्रने, कागजातविहीन अवस्थामा पक्राउ पर्ने तथा बिरामी भएर लामो समयसम्म अस्पतालमा बिरामी पर्ने आदि कारणले पनि कतिपय व्यक्ति घरपरिवारको सर्म्पकमा आउन नसक्नुको कारण हो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकार कविराज उप्रेती भन्नुहुन्छ, “विभागमा २०७९/८० मा चारहजार चार सय चौसट्ठी जना श्रमिकका परिवारले खोजी, राहत तथा उद्धारका लागी निवेदन दिनुभएको छ, जसमा विभिन्न देशमा गएर हराएका मात्र होइन, समस्यामा परेका र केही बिरामी परेकालगायत छन् ।’

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती भन्नुहुन्छ,” बोर्डमा पनि परदेशमा गएर हराउने तथा समस्यामा परेका श्रमिकका परिवारले उहाँहरूको खोजी तथा उद्धारका लागी अनुरोध गर्नुहुन्छ । २०७९/८० मा मात्र बोर्डमा ५४ वटा लिखित उजुरी परेका थिए ।”

श्रम रोजगार पत्रकार समूहका अध्यक्ष सुनील न्यौपानेले आफ्नो वेबसाइट देशपरदेशडटकमबाट हराएका परदेशी नामको भिडियो समाचार शृङ्खला नै सुरु गर्नुभयो । न्यौपाने भन्नुहुन्छ, “हामीले तीन वर्षको दौरान निर्माण गरेका ३६ वटा भिडियो स्टोरी बनायौं, जसमध्ये १७ जना परदेशमा हराएका व्यक्ति परिवारसँगको सम्पर्कमा आउनुभयो। त्यो चानचुने उपलब्धि थिएन। भिडियो स्टोरीबाहेक हामीले गरेका अन्य झन्डै १५/१६ वटा स्टोरीमध्ये तीन जना परिवारसँग सम्पर्कमा आएका छन् । त्यसैले विभिन्न परिबन्दमा परेर हराएका वा विदेशमा लुकेर आफूखुसी बसेका परदेशी खोज्न मिडिया र सामाजिक सञ्जालले ठुलो सहयोग गरेको छ ।”

न्यौपाने थप्नुहुन्छ,”आफैंले हारगुहार माग्ने परदेसिएको आफन्त नै सम्पर्कविहीन भएपछि कोसँग हारगुहार गर्ने ? कसलाई भन्ने मेरो मान्छे खोजिदेऊ भनेर ? परिवारसँग धेरै ठाउँबारे जानकारी हुन्न । जिल्ला वा आसपासका जिल्लामा भएको आप्रवासी स्रोत केन्द्र, काठमाडौँमा रहेको वैदेशिक रोजगार विभाग र काठमाडौँमा नै रहेको कन्सुलर सेवा विभागमा निवेदन हालेका परिवारका सदस्यलाई त्यसपछि ती निकायबाट पछि खबर आउँदैन। हामीले भेटेका कतिपय परिवार पनि खोज्दाखोज्दै निराश भइसकेका थिए । आफन्त हराएर आत्तिएको परिवारलाई तपाईंहरूको मान्छे हामी खोज्दैछौं है भनिदिने निकायको पनि ठुलो खाँचो छ । त्यसैले, आशाको दियो बालिरहनुपर्छ, हराएका परदेशीको समाचार बनाइरहँदा हामीले अनुभव गरेको कुरा हो, परदेश गएको आफन्त बेखवर भएको व्यक्तिको घरमा हरेक दिन आशा मर्छ अनि फेरि आशा पलाउँछ । उनीहरूको मनमा लाग्छ, “बाँचेकै थियो भने यतिका समयसम्म घरमा फोन त गर्थ्यो होला नि! अनि फेरि पछि मनमा लाग्छ, कतै टुप्लुक्क घर आइपुग्ने हो की ? कतै कसैले मैले देखें भनेर खबर पो गरिदिन्छ कि ? हराएका परदेशीका कथा भनिरहँदा हामीले सिकेको एउटा कुरा, आशाचाहिँ मर्न दिनुहुन्न। परदेश गएर हराएका आफन्तका परिवारलाई हामी छौं है तिम्रो मान्छे सकेसम्म खोज्छौं भनेर आशा जगाइरहनुपर्ने रहेछ ।

(व्यक्तिको निजी मामलाको सम्मान गर्दै प्रस्तुत सामग्रीमा केही पात्रको वास्तविक नाम र ठेगाना परिवर्तन गरिएको छ ।)
-श्रमिक संजालबाट


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...