Friday 2nd January 2026

भारतीयको सहयोगमा जियोल्याण्ड ट्राभल्सको सिस्टम ह्याक


राजेश भण्डारी-एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट त बेचेकै छैन ।’
तर, दुईवटा एयरलाइन्स कम्पनीबाट ३३७ जना यात्रुले उडान टिकट प्रयोग गरिसकेको भेटियो । जजिरा र एयर अरेबियाको रेकर्डमा जियोल्याण्डले नै टिकट बेचेको देखिएपछि जियोल्याण्डकी सञ्चालक सीता गैरे प्रहरीकहाँ पुगिन् । पाल्पा घर भएकी ४३ वर्षीया गैरेको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

करिब दुई साताको अवधिमा जियोल्याण्डको युजर आईडी ह्याक गरेर जजिरा र एयर अरेबियाको ३३७ जना यात्रुको टिकट चोरी गरेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । चोरी भएको टिकटको मूल्य १ करोड ९९ लाख ८२ हजार ९८४ हुन्छ । कार्तिक १८ देखी मङ्सिर २ सम्मको अवधिमा ह्याकरले अवैध तरिकाले सिस्टम ह्याक गरेर टिकट चोरेको अनुसन्धानबाट थाहा भएको छ ।

टिकट चोरीमा संलग्न आरोपमा सीआईबीले सामाखुसी स्थित मर्स्याङ्दी ट्राभल्सका सञ्चालक हरि प्रसाद सुवेदी र म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको छ । हरि प्रसाद पर्वतका स्थानीय हुन् । म्यानेजर सुवेदी चाहिँ स्याङ्जाका स्थानीय हुन् ।
जियोल्याण्डको सिस्टम ह्याक गरेर चोरी गरेको टिकट मर्स्याङ्दी ट्राभल्स मार्फत काठमाडौँको एउटा मेनपावर कम्पनी हुँदै यात्रुसम्म पुगेको भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

टिकट चोरीमा भारतीय नागरिक संलग्न देखिएका छन् । भारतमा ट्राभल्स सञ्चालन गर्ने एकजना भारतीय नागरिकसँग मर्स्याङ्दी ट्राभल्सका सञ्चालकले चोरी भएको टिकटबारे कुरा गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘भारतीय नागरिकसँग मिलेर मर्स्याङ्दीका सञ्चालक र म्यानेजरले युजर आईडी ह्याक गरेर टिकट चोरी गरेको देखिन्छ ।’

भारतीय नागरिकले सिस्टममा प्रवेश गरेर टिकट चोरी गर्ने र सो टिकट काठमाडौँमा मर्स्याङ्दीका सञ्चालकलाई पठाउने गरेका हुन् । चोरी गरेको टिकट हरि प्रसाद सुवेदी र नारायण सुवेदीले म्यानपावर कम्पनीलाई बेचेको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । अनुसन्धान अधिकृतहरूले दुवै एयरलाइन्ससँग सिस्टम ह्याक भएपछि काटिएका टिकटहरूको विवरण मागेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार टिकट चोरीमा अन्तर्राष्ट्रिय गिरोह सक्रिय हुने गरेको छ । जियोल्याण्डको घटनाबारे अनुसन्धान गरिरहेका एकजना अधिकृत भन्छन्–‘त्यस्ता घटना अन्य मुलुकमा पनि हुने गरेको देखिन्छ ।’ ब्यूरोले आरोपीहरू विरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । यो समाचार रातोपाटी बाट साभार गरिएको हो।

 


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...