Monday 27th May 2024

समाजबादी मोर्चा पतनको अन्तिम गन्तव्य


तोयानाथ दाहाल, उपेक्षित, प्रचण्ड अर्थात स्खलित हुदै गएको माओवादी को अन्तिम गन्तव्य समाजबादी मोर्चा को रुपमा देखा परेको छ । उनको यस मोर्चाको घोषणा सभामा भएको भाईरल फोटोमा ६ वटा टाउका र १२ वटा हात माथि उठेका छन । यो एउटा त्यस्तो सर्मपणको संकेत हो जहाँ एक ले अर्काको भरोसालाई आफू राजनितीमा टिकी रहने आधार ठानेको जस्तो लाग्दछ ।

सधै टाई ले बाधेको घाटी र जेल ले कोरेको कपाल पछाडी फर्काएको प्रचण्ड त्यहाँ देखिन्दैनन । बरु त्यहाँ महाकालेश्वर र पशुपतिबाट शुद्धिक्ररणको अभ्यास गर्दै गरेका भैसी पुजारी पुस्पकमल दाहाल सामेल भएका छन । हो त्यही पुष्पकमल दाहाल नब घोषित मोर्चाका अध्यक्ष हुन । विधिवत रुपमा माओवादी केन्द्रको अवशान आजकै दिनबाट उनले गरेका भने होईनन । दुई बर्ष पूर्व नेकपा बनाएर केपी ओलीसँग को-पाईलट बन्दा देखि नै माओवादी त्यागेका उनलाई अदालत ले एकता पूर्वको यथास्थिती फर्काई दिए पनि नचाहेर भिर्न परेको माओवादको पुच्छर, “लौर न हतियार” भईरहेकै थियो । बल्ल अहिले राम्रो बहाना उनलाई जुरर्यो अब चाही संभवत माओवाद नबौरिएला । गोपाल किराँती बाट फिर्ता आएको माओवादी नामको त्यो पुच्छर संभवत पुन उनैले लान पाउलान ।

ती भाईरल भैयाहरु मध्ये पुष्पकमलको दायाँ र बाँया एमाले का पूर्व दुई अध्यक्षहरु देखिन्छन । उनीहरुले एमाले पार्टी बाट प्रधानमन्त्री समेत भएर देशमा टेस्टेड र फेलियर भएको मा दुई मत छैन । माधव नेपाल र झलनाथ खनाल मान, सम्मान एबं उपदान ले कहिल्यै नअघाउने नेता पनि हुन । पुष्पकमल लाई यी दुई को साथले मार्चा बलियो होला भन्ठान्नु दिउसै सपना देख्नु जस्तै हो । आशा, भरोस, विश्वास र भविश्य नभएका बजारमा नविक्ने यी ब्राण्डले मोर्चा कति पनि उर्जावान बन्ने छैन । अझ यसो भनौ माधव नेपाल र झलनाथ खनालका पछि अब कोही कार्यकर्ता छैनन । उनीहरुका कार्यकर्ता कागजमा देखिएला मैदानमा भेटिदैनन ।

अब अर्का फोरम नेता लाई हेरौ । यीनको मधेशमा कुनै शान सौकत छैन । धेरै ठाउँबाट उमेद्धारी दिदै आएका उनलाई अर्को निर्वाचन फलामको चिउरा सरह देखिन्दैछ । अचम्म त के छ भने आज मिलेका प्रचण्ड र उपेन्द्र ६० साल अगाडी पनि एउटै ठाउँमा थिए । त्यसपछि फुटे र एकका विरुद्ध अर्को कट्टर दुश्मनका रुपमा देखा परे । यदि यसो गर्दैनथे भने रौतहटको गौरमा दर्जनौ माओवादी कार्यकर्ता मारिने थिएनन । अहिले गौर हत्याकाण्डमा ज्यान गुमाएका पिडित परिवारहरुको अभिभावक को हो ? मार्ने र मर्ने दुवै का नेता एउटै मोर्चामा हात खडा गरेर उभिएका छन । ती गौर पिडितलाई न्याय अदालतले
पनि दिएन भने उनीहरु ईतिहासका बेवारिसे जनता बन्नेछन ।

अब दुवै किनारामा देखिएका काजी साहेव र विप्लब को कुरा गर्ने हो माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेको आधारमा नारायणकाजीले व्याज खान पाईरहेका छन । उनलाई माओवादी भित्र बाध्यताका पात्र मानिन्छन । युद्ध र क्रान्तिमा होमिएका विप्लब, बादल, जनार्दन र अनन्तहरु ले रुचाउदैनन । तर धेरै माओवादी नेताहरुले प्रचण्ड त्याग्दै गएका बेला उनलाई दरो गरि साथ दिएका कारण प्रचण्डले साथ दिईरहेका काजी पनि कहिले सम्म मोर्चामा टिक्ने हुन यसै भन्न सकिन्दैन । उनको पक्षमा कार्यकर्ता पंक्ति खासै छैन ।

रहो कुरा विप्लब को । उनले क्रान्तिकारीहरुको धडकन बोकेका थिए तर आफ्नै पार्टी भित्र उनका सहकर्मीहरुसँग विभाजन खेप्न परे पछि विप्लब पनि खासै शक्तिमा छैनन । उनको हिजोको जस्तो गर्जन आज छैन । हिजोको जस्तो हुँकार आज छाड्ने अवस्थामा छैनन । प्रचण्ड बाट अलग भएर एक दर्जन जति कार्यकर्ता गुमाए र केही सर्वसाधरण उनको आन्दोलनका क्रममा मारिए । त्यसको अपजस उनले बोक्नै पर्दछ । किन त्यसो गरे र अहिले किन मोर्चामा आए ? हिजो प्रचण्ड लाई गद्दार भनेर आज किन प्रचण्डलाई नेता मान्ने ठाउँमा पुगे त्यसको औचित्य पुष्टि गर्न पर्ने हुन्छ । यसर्थ विप्लब आउदा धेरै लडाकु लुरुलुरु पछि लाग्छन भन्ने सोचेका भए त्यो पनि हुनेवाला छैन ।

यो मोर्चामा आएर प्रचण्डको सत्ताले केही गर्लाकी भन्ने उपेन्द्र को डर हटेको छ । प्रचण्डलाई खिईदै र सकिदै गएको मधेश को समर्थन केही न केही भए पनि उपेन्द्र मार्फत आर्जन होला भन्ने आशा छ । पार्टीमा जनधार गुम्दै गएको, आफ्ना कार्यकर्ताहरु एमाले मा फर्किन थालेको देखेर अतालिएका माधव नेपाल र झलनाथ खनाल ले मोर्चा मार्फत राजनितीको सेफ ल्याण्डिंग हुने आशा गरेका छन । अब उनीहरु कुनै पनि राष्ट्रिय पार्टीको नेतृत्व मा रहने छैनन । सवैलाई जोडजाड गरेर आगामी ८४ को चुनावमा अहिले कायम रहेको ५४ सिट जोगाउन पाए विचको खेलाडी भई रहने प्रचण्डको चर्तुरयाई सफल असफल के हुन्छ त्यो त भविश्य ले बताउला । यस मोर्चाका कल्पनाकार बाबुराम भने अहिले छुटेका छन । शायद उनले उपेन्द्रसँगको टकराब का कारण त्यहाँ नगएका हाोलान या मर्यादा क्रममा पछि पारिए विस्तारै खुल्दै जाला ।

प्रचण्डले जतिसुकै तिकडम गरे पनि भविश्य सुन्दर छैन । आगामी चुनावमा परम्परागत सवै राजनैतिक दल को अवस्था कमजोर हुने निश्चित छ । पुराना र खिएका टाउँकाहरु जोडिए पनि उनीहरुको आयु लगभग उस्तै हो । उनीहरु नयाँ भोटरहरुको नजरमा गिरि सकेका छन । बाकी ४ बर्षमा चमत्कारिक परिवर्तन भएन भने उनीहरु राष्ट्रिय दल समेत बन्ने छैन । कांग्रेस र एमाले समेतले आफ्नो पार्टीका पक्षमा ८४ को नतिजा आउन नसक्ने अनुमान गरिरहेको बेला मोर्चाले शक्ति आर्जन गर्दछ भनेर विश्वास गर्न सकिन्दैन । मोर्चा बनाएर काग्रेस सँग आधा आधा सिट लिएर पुन गठबन्धन गर्दै चुनावमा जाने प्रचण्ड रणनिती सफल भयो भने कांग्रेस फुट्ने छ र यसले रास्वपा, राप्रपा र एमाले लाई नै फाईदा हुने देखिन्छ । आउदा ४ बर्षमा रास्वपाले शसक्त भूमिका निभाउन सके र अझै राम्रो छबी भएका स्वतन्त्र व्याक्तिहरु, हर्क र बालेन जस्ता लाई जोडन सकेन पहिलो पार्टी बन्न उसलाई कसैले रोक्न सक्ने छैन ।

यदि त्यसो भयो भने यो देशबाट कांग्रेस, एमाले, माओवादी लगायतका पार्टीका धेरै नेताहरु र प्रशासनिक नेतृत्वमा रहेर अकुत सम्पती आर्जन गर्ने धेरै देशका धमिराहरुले देश छाडेका समाचार पढन पाईने निश्चित छ ।


सम्बन्धित शीर्षकहरु

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार…

कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई…

कुवेत - सिटी हाइपरमार्केट साल्मियाहमा एसियाली दूतावासहरूको सहभागितामा कला, पर्यटन र सेवा महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । सिटी…

प्रतिकृयाहरू
...