Monday 6th May 2024

फेलियर पञ्च शैलीका राजदुत थिए भण्डारी


तोयानाथ उपेक्षित, तेश्रो कार्यकालका लागि कुवेतमा आउनु हुने निवर्तमान राजदुत दुर्गा प्रसाद भण्डारी कुवेतबाट विदा भईसक्नु भएको छ । उहाँको विदाईको औपचारिकतामा यहाँ रहेका संघसंस्थाहरु उत्साहहिन ढंगलले सामेल भएको पाइयो ।

आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर फर्किसकेका राजदुतको विषयमा धेरै कुरा गरिरहन उपयुक्त हुन्न तर पनि उहाँको कार्यकालको समिक्षा नगरिरहन पनि सकिन्न । उहाँको कार्यकाल कस्तो रहयो भन्ने सवालमा धेरैका धेरै प्रकारका टिप्पणी हुन सक्दछन, कसैलाई व्यक्ति प्यारो लाग्ला, कसैलाई उसको स्वार्थसँग गाँसिएको सम्बन्ध अनुसारको जवाफ दिन मन लाग्ला तर समग्रतामा एउटा विदेशी मुलुकमा आएर राजदुतले आफ्नो कार्यकाल के कसरी विताए भन्ने कुराका आधारमा हेर्न पर्ने हुन्छ ।

बास्तवमा राजदुत भण्डारी पञ्चायती व्यवस्थाका एक कर्मचारी हुन जसले त्यही व्यवस्थाको संस्कार र सोच अनुसार नै आफ्नो बुढेसकालमा पाएको समय गुजारेर गएका छन । सरकारको आदेश निर्देश बमोजिम उनले आफ्नो जागिर को ४ वर्ष कुवेतमा आनन्दले विताए । कुनै झमेलामा फस्न नचाहाने उनको स्वभाव अनुसार उनले नेपाली समाजसँग दुरी कायम गरेर नै विताए ।

सबैलाई थाहा भएको कुरा हो राजदुत हुन सम्बन्धित मन्त्री वा पार्टीको नेतालाई व्रिफकेश बुझाएर आउनु पर्ने हुन्छ । त्यसरी आए पछि उक्त लगानी असुल गर्नु स्वभाविक पनि हो । राजदुत भण्डारी ती सवै परम्परागत चलनभन्दा पृथक थिए भन्न सकिन्दैन । तर उनी कुवेत आएको केही समयपछि शुरु भएको कोभिडले निक्कै क्षति पुरयाएको हुन पर्दछ । तथापी उक्त समयमा चार्टर गरिएका जहाजहरुले दुतावासलाई राम्रै मलजल गर्यो ।

जब कोभिडले बन्दाबन्दी भएको अवस्थाको अन्त्य भयो तब मात्र उहाँहरुको पनि दोकानको ढोका खुल्यो । दुतावासमा भिषा माग्नेहरुको चहलपहल बढेसँगै कर्मचारीहरुको फुर्तिफार्तिले राजदुतको सक्रियता बढायो । कुवेत स्थित यहाँका प्रान्तिय गभर्नरहरूको मा नियमित रुपमा उहाँले कफी गफहरु गर्न भ्याउनु भएको थियो, मिडियाका सम्पादक, अन्य मुलुकका प्रतिनिधी र एनजिओ आईएनजीओका ढोकाहरुमा राजदुत पुग्न थाल्नु भयो । यदाकदा दूतावासभित्र विभिन्न उत्सव, कला र संस्कृतिको प्रर्दशनीमा पनि उहाँले नेपाली समाजको उपयोग गर्न थाल्नु भयो । एक पटक नेपालका हस्तकलाको प्रर्वधन गर्ने भन्दै कुनै महलमा दोकान थाप्न समेत पुग्नु भएको पाईयो । यसै विच दूतावासमा कम्पनीका डिमाण्ड पत्रका चांग लाग्न थालेका थिए । त्यसलाई अवसरका रुपमा दुतावासले नलिने कुरै भएन । करिब एक सालका विचमा हजारौ नेपालीहरु कुवेत भित्रिए त्यसवेला आँखा चिम्लिएर छाँप लगाउने काम कर्मचारीलाई दिएको थियो ।

कोभिडले खाईदिएको भनिएको दुई वर्षमा भिषा कपीमा डलर टिप्ने अवसर थिएन तर दोश्रो तेश्रो मुलुकबाट खदमा आउन छाडेका थिएनन । त्यसले दुतावासको त्राण भरेको थियो । आफ्नो कार्यकालको अन्तिम ६ महिनामा राजदुत झसंग भएको देखिन्छ । उहाँले नेपाल कुवेत वीचको कुटनैतिक सम्बन्धको ५० बर्षलाई रंगिन बनाउने प्रयास गर्नु भयो । गोडा चारेक सिटी बसहरुमा पोस्टरहरु पोस्टयाईए । नेपाली संघ संस्थाहरूलाई आव्हान गरेर रक्तदानको कार्यक्रम गरियो भने विदेशी नियोगहरुका प्रतिनिधीहरुलाई पाँचतारे होटलमा बोलाएर भलाकुसरी गर्ने कार्यक्रम समेत गरेको देखियो ।

राजदुत भण्डारी मिडियाप्रति असहिस्णु हुनुहुन्थ्यो भन्दा फरक पर्दैन, त्यसरी नै दुतावासका कर्मचारीहरुप्रति पनि उहाँ कठोर हुनुहुन्थ्यो । निर्मम विश्लेषण गर्नै पर्दछ उहाँ कर्मचारीहरुप्रति अप्रिय, मिडिया प्रति असहिस्णु र नेपाली समाजप्रति चिसो र चाम्रो राजदुत हुनुहुन्थ्यो । उहाँले खेलकुदको उदघाटन गर्न, सांस्कृतिक र जातिय पर्वहरुको दियो बाल्न, व्यवसायिक क्षेत्रमा लागेका युवाहरुको रेस्टुरेन्टमा खानाको स्वाद चाख्न भने कहिल्यै भ्याउन्न भन्नु भएन ।

शुरुका दिनमा उहाँ आफू उपस्थित कार्यक्रममा लाईभ नगर्न भन्नु हुन्थ्यो । कोसेलीको बार्षिक कार्यक्रममा उहाँ उपस्थित भएर राष्ट्रघाती महाकाली सन्धीको विषयमा लेखिएको समाचार च्यात्न भन्नु हुन्थ्यो । उहाँ निरंकुश व्यवस्थाद्धारा शिक्षित दिक्षित कर्मचारी भएकाले पनि होला शैली र प्रस्तुतीमा मिजास पटक्कै थिएन बरु बडाप्पन देखिन्यो ।

बास्तवमा उहाँले कुवेतमा रहेर विताएको ४ वर्षमा जुन मात्रामा सरकारी बजेट उहाँको तलब भत्ता, सुख सुविधामा जनताको कर खर्चियो त्यसको तुलनामा मुलुकले के पायो भनेर हेर्ने हो भने शुन्य छ । जसरी दैनिक प्रशासनिक कामहरु दुतावासबाट हुने गर्दछन त्यसमा राजदुतले श्रेय लिने विषय नै होईन । त्यति काम र नियमित काम त विना राजदुतको दुतावासमा पनि भईरहेकै हुन्छन । राष्ट्रको प्रतिनिधी गर्ने राजदुतले त सम्बन्धित देशलाई बहुआयामिक क्षेत्रमा जोड्न सक्नु पर्दछ । पर्यटन, व्यापार, लगानी, कुटनिती आदी आदी तर उहाँले आफूलाई कतै जोड्न सक्नु भएन । उहाँ कुवेतवाट नेपाललाई फाईदा दिलाउन एक कदम पनि अघि बढन सक्नु भएन । एउटा पनि उच्च स्तरको भिजिट भेटघाट र छलफल नेपालसँग कुवेतले गरेन । यसर्थ उहाँ पूर्णरुपमा असफल राजदुत हो भन्दा फरक पर्दैन । बरू यस अघिका राजदूत यज्ञ बहादुर हमालको कार्यकालमा पूर्व मन्त्री तथा सांसदहरूको टोलीले कुवेत भ्रमण गरेको थियो भने पहिलो राजदुत मधुवन पौडेल रहदा कुवेतमा मन्त्री स्तरिय, सचिव स्तरिय भ्रमणहरु भए । अनेक राजनैतिक दलहरुका नेताहरु कुवेतमा आए गए ।


सम्बन्धित शीर्षकहरु

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

प्रतिकृयाहरू
...