Sunday 15th February 2026

रास्वपाका अध्यक्ष रवि लामिछानेलाई श्रमिकको खुल्लापत्र


रविजी नमस्कार ।
आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला । म अब पत्र अगाडि बढाउने अनुमति माग्द छू ।

यो पत्र लेख्नुको केही कारणहरु छन् । राजनीतिमा आउन भन्दा पहिला हजुर सञ्चार क्षेत्रमा जानेमाने हस्थि हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ त्यसमा दुईमत छैन । हजुर टेलिभिजनका कार्यक्रम मार्फत आवाज उठाउँदै गर्दा म परदेशी श्रमिक भएर श्रम बेच्दैथिए । त्यो बेला हजुरको आवाज सबै परदेशीहरुले हेर्ने, सुन्ने गर्थे । मेरो मात्र होइन सबैको हजुरबाट ठूलो आशा थियो । कती ठाउँमा ती आवाजले गर्दा परदेशीमा बिचल्ली परेकाहरूको उदार पनि भयो । यस्ता कामले परदेशीहरुको आँखामा हजुर नायक हुने अवसर पाउनु भयो । म पनि यो कुरालाई स्वीकार गर्दछु । हजुर मात्र होइन जसले जति चिच्याए पनि अहिलेसम्म परदेशीहरुको हालत हेर्ने हो भने पहिला भन्दा झन जटिल बन्दै छ । त्यो कुरो मलाई मात्र होइन हजुरलाई पनि प्रस्ट थाहा छ ।

एयरपोर्टमा लागेको श्रमिकको लाइनले यो कुरा राम्ररी दर्शाएको छ । विदेश जानेको सख्या घट्ने त कुरै छैन, दिन प्रतिदिन बढ्दै गएको छ । सन दुई हजार छ तिर म अरबमा पुग्दा नेपाली कताकति भेटिन्थे, अहिलेको अवस्था उल्टो हुँदै छ । नेपालको गाँउभरमा भन्दा विदेशमा धेरै युवा भेटिन्छन् जसले देशका नेता र आफ्नो परिवार पाल्न श्रम बेची रहेकाछन । अब त चुनावको बेलामा परदेशी श्रमिकहरुको समस्या नै राजनीतिक मुद्धा बन्ने अवस्था छ । यो चुनाबमा हजुरको पार्टीको मुद्धा यो देखियो ।
के तपाईं साँच्चै सञ्चार क्षेत्रबाट आफूलाई तयार गरी राजनीतिमा आउने सोंच बनाउनु भएको थियो की तपाईंलाई पनि कुर्सीले तान्यो ? की यही मौका हो परदेसीहरुका समस्या देखाएर राजनीतिक विरासत पाउने भन्ने कुराले मदत गर्यो । अहिले नै म यसको बारेमा भनिहाल्न सक्ने अवस्थामा छैन । आशा छ, जसरी सञ्चार क्षेत्रमा साच्चै रवि बनेर किरण दिनुभयो त्यसरी नै राजनीतिमा पनि छाउनु हुनेछ ।

मेरो पत्र अझै सकिएको छैन । परदेशी न हु, अहिले नेपालमा बस्दा पनि सरकार नै नभएको महसुस गर्दछु । मेरो मात्र होइन परदेशबाट नेपाल आउने धेरै जसो श्रमिकको समस्या हो ।
सञ्चार माध्यममा विदेशबाट सीप लिएर आउनेलाई सरकारले उचित सुविधा दिन्छ भन्ने हल्ला चलाए पनि सत्यता त्यो छैन । यहाँ त परदेशिएका श्रमिकलाई ढाँटी रहेको अवस्था छ । यस्तो जटिल अवस्थामा तपाईंको चुनावी भाषाण परदेसीहरुले कान ठाडा पारेर सुनेका छन तर तपाईं एउटा कुरामा चुक्नु भएको छ । लाखौं परदेशीलाई एयरपोर्टमा भित्रिएर स्वागत गर्छु भन्नु त भयो। परदेशबाट विस्थापित ठूलो श्रमिकको एकहुल नेपालमा आफ्नो सीप सदुपयोग गर्न नपाएर छटपटिँदा परदेशबाट श्रमिक फर्काएर अहिले नै काम दिन्छु भन्ने कुरामा संका गर्ने ठाउँ छ है,रविजी । तपाईंले जति राजनीति बुझ्नु भएको छ त्यो भन्दा बढी श्रमिकको समस्या म जस्ता परदेशबाट नोकरी छोडेर आउनु पर्ने अवस्था भएका बुझ्दछन् । आईसके पछि यहाँको अवस्थाले कुनै काम सुरुगर्न त्यति सजिलो नै छैन । यस्तो अवस्थामा कसरी लाखौं परदेशी श्रमिकको श्रमको नेपालमा सुरक्षित गर्नु हुन्छ । कि भोट बिना कुर्सी नपाइने हुँदा यसरी चाल चल्दै हुनुहुन्छ । यस्तो सोच हो भने पुरानै हजुरको सञ्चार क्षेत्र नै उपयुक्त होला ।

पत्र सिध्याउँछू भन्छु मनमा अरु कुरा आइहाल्छन् । अब त हजुर संसद भवनमा प्रवेश गरिसक्नु भएको छ । सक्नु हुन्छ भने म लगायत म जस्ता परदेशबाट फर्केर सीप लगानी गर्न चाहनेको आवाजमात्र बुलन्द गरेर होइन व्यतिगत रूपमा पनि केही त गरेर देखाउनुस् । अनि बल्ल हजुरले टिकट काटेर परदेशी श्रमिकलाई बोलाउनु नै पर्दैन । आफै देशमा परदेशी श्रमिकले शिकेको सीप सदुपयोग हुन थाल्यो भनेर परदेशबाट परदेशी श्रमिकको एयरपोर्टमा ओइरो लाग्ने छ । त्यो बेला टेलिभिजनमा बोल्ने रवि राजनीतिमा पनि झुट बोल्दैन भन्दै परदेशीको छाती खुसीले फुल्ने छ । हिमवत् छ रवि जी? छ भने गरेर देखाई दिनु होला । भोलिका दिनमा पुरानै राजनीतिक दल झै दलदलमा फस्नु भयाे भने तपाईं र अरूमा कुनै अन्तर हुने छैन । तिनै परदेशीले रवि पनि जनताको लागि नभई आफ्नो स्वार्थको लागि राजनीति गरेको रहेछ भनेर श्राप दिने छन । आशा छ त्यो समय नआउला ।

शब्दहरू नसकिने भए तर पत्रको अन्त्य त गर्नु नै पर्छ । जसरी आकाशमा उदाउँदै गरेको सुर्यले सगै मान्छेका आशाहरु उदाउँछन् । रवि र सूर्यको अर्थ एउटै हुनेहुँदा देश विदेशमा रहेका श्रमिकको लागि यहाँको राजनीति धर्तीमा प्रकाश छर्ने सुर्यको जस्तै होस । आसाको किरण बनेर संसारभर फैलियोस् । पत्र बन्द गर्ने अनुमति चाहें ।
हजुरको शुभ चिन्तक,

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले सार्वजनिक गरेको अनौपचारिक नतिजाले Bangladesh Nationalist Party (BNP) लाई सरकार गठनका लागि आवश्यक १५० भन्दा बढी सिट प्राप्त…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने कि इरानमा शासन परिवर्तन "हुन सक्ने सबैभन्दा राम्रो कुरा" हुनेछ, जब उनले दोस्रो विमान…

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

प्रतिकृयाहरू
...