Tuesday 17th March 2026

भैरहवा-आबुधावीमा वीज एयरले माग्यो सातामा ३ उडान, जजिराले सातै दिन कुबेत उडाउने


सविना कार्की-भैरहवा को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा आगामी अक्टोबरबाट वीज एयरले उडानको तयारी गरेको छ। उक्त एयरले युएइको राजधानी आबुधावी-भैरहवा सिधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिए।

हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको वीज सस्तो वायुसेवा कम्पनी भएको उनले बताए। वीज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधावी-भैरहवा गन्तव्यमा साताको तीन उडान गर्न अनुमति मागेको छ।

‘वीज एयरले अक्टोबर ३० बाट सातामा तीन उडान गर्न प्राधिकरणसँग अनुमति मागेको जानकारी आएको छ,’ प्रवक्ता शाहले सेतोपाटीसँग भने, ‘अहिलेसम्म हेर्दा वीज एयरले गौतमबुद्ध विमानस्थलमा जजिरापछि दोस्रो व्यावसायिक उडान गर्ने देखिन्छ।’उनका अनुसार वीज एयरले एयरबसको ३२१ निओ सिरिजको विमान सञ्चालनमा ल्याउने योजना बनाएको छ। एक सय ९० सिट क्षमताको यो जहाजले नेपालमा पहिलोपटक उडान गर्न लागेको हो। भैरहवा विमानस्थलबाट पछिल्लो समय श्रम गन्तव्यका मुलुकमा जानेहरू बढेका छन्। वीज एयरले भैरहवा–आबुधावी नियमित उडान थालेसँगै युएई जानेका लागि सहज हुने उनी बताउँछन्।

आगामी सेप्टेम्बरबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने भनिएको एयर अरेबियाको भने मिति तय भइसकेको छैन। विमानस्थल सञ्चालनमा आएसँगै उडानका लागि एयर अरेबियाले चासो देखाएको थियो।

‘एयर अरेबियाले हाल नेपालमा उडान गरिरहेकाले भैरहवा उडानका लागि अनुमति पाउन धेरै समय लाग्दैन,’ प्रवक्ता शाहले भने, ‘अहिलेसम्म पाएको जानकारीअनुसाार एयर अरेबियाले सेप्टेम्बरबाटै उडान गर्ने भनिएको छ।’सेप्टेम्बरमा दसैं सुरू हुने भएकाले यात्रु संख्या बढ्छ। त्यसैले सोही समय एयर अरेबिया भैरहवा आउन सक्ने बुझिएको उनले बताए।

सरकारले गौतमबुद्ध नयाँ विमानस्थल भएकाले आकर्षण बढाउन यहाँ उडान सुरू गर्ने कम्पनीलाई सेवा शुल्कमा छुट दिएको छ। अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा छुट दिइएको छ। यो विमानस्थलमा उडान सुरू गर्ने कम्पनीले एक वर्षसम्म यी छुट पाउने छन्।

यहीँबाट भैरहवा–कुबेत उडान गरिरहेको जजिरा एयरवेजले विमानस्थल सेवाशुल्क छुट पाएको छ। हाल जजिराले उडान गरिरहेको एयरबस ३२० निओ जहाजले सेवाशुल्क वापत करिब एक लाख रूपैयाँ छुट पाएको छ।

जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। आगामी सेप्टेम्बर १५ तारिखबाट भने हप्ताको सातै दिन उडान गर्ने तयारी गरेको प्रवक्ता शाहले जानकारी दिए।

जेठ २ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोही दिनबाट कुबेतको जजिरा एयरवेजले नियमित उडान थालेको थियो।

शाहका अनुसार विमानस्थल सञ्चालनमा आएको दुई महिना बित्दा दर्जन बढी कम्पनीले उडानका लागि चासो देखाएका छन्। यद्यपि उडानकै लागि थपिएका भने छैनन्। यसकारण यो विमानस्थलमा यात्रु संख्या बढ्न नसकेको उनले बताए।

यात्रु नबढ्नुका कारण अरू पनि छन्। वैदेशिक रोजगार कार्यालय स्थापना भए पनि मेडिकल अनुमति विमानस्थलबाट हुँदैन। पर्यटक भित्र्याउन पर्यटन प्रवर्द्धन पूर्वाधार विकास हुन सकेको छैन। स्थानीय स्तरमा सहज सडक र यातायात सुविधा छैन। अन्तर्राष्ट्रिय उडान हुने ठाउँमा रात्रिकालीन होटल-लजको सुविधा नभएको शाह बताउँछन्। विमानस्थल सञ्चालन र यात्रु बढाउन सम्बन्धित सबै निकायले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

‘विमानस्थलमा कति जहाज आऊलान् भनेर कुरेर बसेर हुँदैन। कसरी जहाज बढाउने भन्नेमा सबैले ध्यान दिनुपर्छ,’ उनले भने।

वार्षिक हजारौं पर्यटक लुम्बिनी घुम्न पुग्छन्। उनीहरू काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि पर्यटक आन्तरिक हवाइ उडानमार्फत लुम्बिनी पुग्छन्। गौतमबुद्ध विमानस्थल सञ्चालनपछि सिधा उडान हुने मुलुकका पर्यटक सिधै भैरहवा अवतरण गर्न सक्ने उनी बताउँछन्। तर सुविधा नभएकै कारण यसमा बाधा भइरहेको छ।

‘भैरहवा विमानस्थलबाट लुम्बिनी-बुटवल आवतजावत गर्ने यातायात सुविधा राम्रो छैन,’ उनले भने, ‘यी पूर्वाधार विकास हुन आवश्यक छ।’

यसका लागि प्रदेश र स्थानीय सरकारका साथै पर्यटन व्यवसायीले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...