लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा सञ्चालनमा रहेको छ। तर बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कान्ति राजमार्ग, कालीगण्डकी करिडोर, राप्ती राजमार्ग तथा त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र सडक क्षतिका कारण यातायात आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउन सडक विभागले पहिरो पन्छाउने र मर्मत गर्ने काम जारी राखेको जनाएको छ। केही सडकखण्ड आज र केही भोलिसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
सडक विभागले वर्षायाममा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र स्थानीय प्रशासन तथा ट्राफिक प्रहरीले दिएको निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
![]()