Sunday 25th October 2026

कविताः विश्वमैत्रीको दीप


सातै सागर पारि पनि, एउटै भाव जागोस्,
भिन्न भाषा, भिन्न भेषमा, प्रेमदीप नै लागोस्।
हिमशिखरदेखि सागरसम्म, एउटै स्वर गुञ्जियोस्,
मानवताको विशाल गगन, कविताले नै भरियोस्।

न रङ्गले रोक्न सकोस्, न जातिले छेक्न पाओस्,
न सीमाका पर्खालहरूले, हृदय टाढा लान पाओस्।
कलम हातमा लिएर हामी, घृणातिर नजाऔँ,
प्रेम, शान्ति र करुणाका, स्वर्णप्रभात ल्याऔँ।

कविता शब्दमात्र होइन, आत्मदीपको ज्योति,
घाउमाथि मलहम बनी, बाँडोस् जीवनमोती।
अँध्यारोमा आशा बनोस्, आँधीमा विश्वास,
टुटेका मन जोड्ने बनोस्, अक्षरको सुवास।

नेपालदेखि विश्वभरि, फैलियोस् प्रेमधारा,
हिमालदेखि सागर छिचोली, पुगोस् भाव अपारा।
पूर्व-पश्चिम हात मिलाऊन्, उत्तर-दक्षिण जोडून्,
विश्वका कवि एउटै वृत्तमा, मानवगाथा गाऊन्।

भाषा फरक भए तापनि, भावना एउटै हुन्छ,
साँचो कविता बोल्दा सारा, मानवता नै छुन्छ।
कलम बनोस् शान्तिदूत, शब्द बनून् उज्याला,
कविका स्वरले मेटून् सारा, द्वेषका काला छाया।

जहाँ पीडा त्यहाँ पुगौँ, जहाँ आँसु त्यहाँ हाँसौँ,
घाइते मनको आकाशमा, आशाका फूल फुलाऔँ।
विश्वमैत्री परिवारमा, मित्रताको माला,
एकताको सूत्रले बाँधौँ, पृथ्वीका सब थला।

न कोही पर, न कोही टाढा, सबै एउटै घर,
मानवताको प्रेमले सजाऊँ, सुन्दर संसारभर।
शान्ति, प्रेम र मैत्रीले, लेखियोस् नयाँ गाथा,
विश्वमैत्रीको दीप जली, उज्यालियोस् जग सारा।

जय कविता! जय मैत्री! जय मानवता महान्,
नेपालबाट विश्वभर फैलियोस् प्रेमको गान।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...