Sunday 27th September 2026

कविताः विश्वमैत्रीको दीप


सातै सागर पारि पनि, एउटै भाव जागोस्,
भिन्न भाषा, भिन्न भेषमा, प्रेमदीप नै लागोस्।
हिमशिखरदेखि सागरसम्म, एउटै स्वर गुञ्जियोस्,
मानवताको विशाल गगन, कविताले नै भरियोस्।

न रङ्गले रोक्न सकोस्, न जातिले छेक्न पाओस्,
न सीमाका पर्खालहरूले, हृदय टाढा लान पाओस्।
कलम हातमा लिएर हामी, घृणातिर नजाऔँ,
प्रेम, शान्ति र करुणाका, स्वर्णप्रभात ल्याऔँ।

कविता शब्दमात्र होइन, आत्मदीपको ज्योति,
घाउमाथि मलहम बनी, बाँडोस् जीवनमोती।
अँध्यारोमा आशा बनोस्, आँधीमा विश्वास,
टुटेका मन जोड्ने बनोस्, अक्षरको सुवास।

नेपालदेखि विश्वभरि, फैलियोस् प्रेमधारा,
हिमालदेखि सागर छिचोली, पुगोस् भाव अपारा।
पूर्व-पश्चिम हात मिलाऊन्, उत्तर-दक्षिण जोडून्,
विश्वका कवि एउटै वृत्तमा, मानवगाथा गाऊन्।

भाषा फरक भए तापनि, भावना एउटै हुन्छ,
साँचो कविता बोल्दा सारा, मानवता नै छुन्छ।
कलम बनोस् शान्तिदूत, शब्द बनून् उज्याला,
कविका स्वरले मेटून् सारा, द्वेषका काला छाया।

जहाँ पीडा त्यहाँ पुगौँ, जहाँ आँसु त्यहाँ हाँसौँ,
घाइते मनको आकाशमा, आशाका फूल फुलाऔँ।
विश्वमैत्री परिवारमा, मित्रताको माला,
एकताको सूत्रले बाँधौँ, पृथ्वीका सब थला।

न कोही पर, न कोही टाढा, सबै एउटै घर,
मानवताको प्रेमले सजाऊँ, सुन्दर संसारभर।
शान्ति, प्रेम र मैत्रीले, लेखियोस् नयाँ गाथा,
विश्वमैत्रीको दीप जली, उज्यालियोस् जग सारा।

जय कविता! जय मैत्री! जय मानवता महान्,
नेपालबाट विश्वभर फैलियोस् प्रेमको गान।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...